विश्व साहित्यसँग समदूरीमा भएर पनि पछि पऱ्यो नेपाली कविता लेखन : कवि कृसु क्षेत्री

विश्व साहित्यसँग समदूरीमा भएर पनि पछि पऱ्यो नेपाली कविता लेखन : कवि कृसु क्षेत्री


कृसु क्षेत्री नेपाली साहित्यमा सामान्य रुचि राख्ने पाठकहरूलार्ई समेत चिनाइराख्नुपर्ने नाम होइन । तीन दशकदेखि निरन्तर कलम चलाइरहनुभएका सर्जक क्षेत्रीको विधा कवित्व र कविता हो । भानुभक्त, लेखनाथ, सम, देवकोटा, भूपि शेरचन र वैरागी काइँलालगायत स्वनामधन्य सर्जकहरूले हुर्काउनुभएको र मलजल गर्नुभएको नेपाली कवित्व लेखनको पछिल्लो पिँढीको एक क्रियाशील सर्जकको रूपमा कवि कृसु क्षेत्री निरन्तर लागिपर्नुभएको छ । हाल वाणिज्यदूतका रूपमा नेपाल महावाणिज्य दूतावास न्युयोर्क (अमेरिका) मा कार्यरत क्षेत्रीले ‘चराको गीत’ (साझा प्रकाशन, २०७४) मार्फत नेपाली वाङ्मयमा थप योगदान पुऱ्याउनुभएको छ । यसै सेरोफेरोमा घटना र विचारका अमेरिका प्रतिनिधि मनोज रिजालले कवि कृसु क्षेत्रीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

० तपाईं एक कूटनीतिज्ञ । मनको कुरा मनमै पचाएर सम्पादित अंश मात्रै बोल्नुपर्ने पेसाको व्यक्ति । तर, कवित्व लेखनमा मनका सारा कुरा खोलिन्छ, छताछुल्ल पारिन्छ । यी दुई विरोधाभासलार्ई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
– बडो कठिन हुँदो रहेछ । म जन्मेदेखि मुक्त–उन्मुक्त चरित्रको व्यक्ति । लेखनमा निर्बन्धता मेरो अत्यन्त रुचिको विषय हो । मैले लेख्दा मेरो सीमा, परिवेश र बाध्यतालार्ई कहिल्यै बन्धनमा राखिनँ । जसले कहिलेकाहीँ अप्ठ्यारो पार्दो पनि रहेछ । पेसागत रूपमा आफ्नो पेसागत धर्मलार्ई इमानदारी र निष्ठापूर्वक अवलम्बन गर्ने म लेखकको रूपमा स्वतन्त्र, निर्बन्ध र उन्मुक्त छु । आजसम्म त यी दुवै विरोधाभासलार्ई समन्वय र सन्तुलन गरिराखेकै छु । सोच्छु कूटनीतिक कर्मचारी कृष्णकुमार सुवेदी र साहित्यकार कृसु क्षेत्री अलगअलग व्यक्तित्व हुन् । अलगअलग प्रवृत्तिका अलगअलग प्रकृतिका । मैले यी दुवै व्यक्तित्वलार्ई निरन्तर जोगाएर लैजानुपरेको छ ।

० कवित्व लेखनको मूल्याङ्कन गर्नुपर्दा भानुभक्त, देवकोटा र भूपि शेरचनको पालादेखि अहिलेसम्म हामीले के–कति चरण, अवस्थाहरू पार गऱ्यौं ? अहिले हामीकहाँ उभिएका छौँ ? सन्तोष गर्ने ठाउँ छ कि छैन ? सुधार गर्नुपर्ने ठाउँ के–के छन् ?
– भानुभक्तदेखि अहिलेसम्मको लेखन यात्रालार्ई समालोचकीय धारणाबाट भन्नु पऱ्यो भने त धेरै चरणहरू मोडहरू पार गरिसकेको छौँ हामीले । ज्ञान दिलदासहरूको वीरधारा, भानुभक्तीय भक्तिधारा, मोतीराम युगको शृङ्गारिक धारा हुँदै आधुनिकक कालमा लेखनाथ पौड्यालका समयबाट प्रवेश गरेको मान्ने हो भने पनि आधुनिक नेपाली साहित्यको लामो कालखण्ड हामीले पार गरिसकेका छौँ । लेखनाथ, लक्ष्मीप्रसाद, सिद्धिचरण हुँदै परिष्कारवादी यथार्थवादी लेखन धाराहरूलार्ई मोहन कोइरालाको प्रवेशसँगै प्रयोगवादतर्फ प्रवेश गरेको थियो । बीसको दशकमा भूपि शेरचनहरूलगायतको उपस्थितिपछि समकालीन लेखन यात्रामा निकै ठूलो फड्को मारिएको छ । त्यो यात्रा हामीसम्म र हामीभन्दा पछिल्लो पुस्तासम्म आइपुगेको छ । यसै कालखण्डमा विश्वको साहित्यिक लेखनयात्रा र चरण अनि परिवेशमा प्रचलित आधुनिक लेखन यात्रा, उत्तर आधुनिक लेखन यात्राका विभिन्न स्वरूप र शैली र प्रयोगलार्ई नेपाली साहित्यले अंगाल्दै आएको छ । तर, यो अवधिमा हामीले धेरै फड्को मारिसक्नुपर्ने थियो त्यसमा भने हामी पछाडि छौँ । राजनीतिक, सामाजिक, आर्थिकलगायत राष्ट्रका धेरै कुराले भाषा–साहित्यको विकास र समृद्धिमा सकारात्मक वा नकारात्मक असर पर्ने रहेछ भन्ने एउटा सानो उदाहरण पनि हो यो । सरकारी उदासीनता, नयाँ पुस्ताको साहित्यप्रतिको अरुचि आदिका कारणले पनि नेपाली साहित्य आमपाठकको चासोको विषय हुन छाडेको छ । यसतर्फ हामी बेलैमा सचेत हुनुपरेको छ ।

० नेपाली कवित्व लेखन विश्वसाहित्यको परिप्रेक्ष्यमा कहाँ उभिएको छ ? हामी कहाँ छौँ ?
– आज विश्वमा लेखिने गरेका कविता लेखन यात्राको समदूरीमै हिँडिरहेको छ नेपाली कविता लेखन यात्रा पनि । देवकोटा, मोहन कोइराला, बैरागी काइँला, ईश्वर बल्लभ, भूपि शेरचन, हरिभक्त कटुवाल मात्र होइन हामीभन्दा अघिल्लो पुस्ताका अग्रजहरू कृष्णभूषण बल, मञ्जुल, सरुभक्त, दिनेश अधिकारी, विष्णविभू घिमिरे, दुबसु क्षेत्री, अशेष मल्ल, विजय बजिमय, विश्वविमोहन श्रेष्ठहरू अनि हाम्रो समकालीन पुस्ताका विवश पोखरेल, विप्लव ढकाल, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, रमेश क्षितिज, साम्ब ढकाल, मोमिला, मनु मञ्जिललगायतका चर्चित कविहरूको लेखन विश्वस्तरमा दाँजिन योग्य छ । विश्व साहित्यलार्ई नजिकबाट नियाल्ने हो भने माथि उल्लेख गरेका अधिकांश स्रष्टाहरूको लेखनस्तर विश्वसाहित्यमा दाँजिन योग्य छन् । तर, त्यसका लागि सहज वातावरणको कमी छ । हाम्रा रचनाहरू अनुवाद हुने र अन्तर्राष्ट्रिय बजार र पाठकसम्म पहुँच हुने अवस्था नबनेको भने यथार्थ हो । भाषा साहित्यको समग्र विकासमा सरकारी उदासीनता र समकालीन पुस्तामा नेपाली भाषा–साहित्यप्रतिको अरुचिका कारण पनि हामीले सोचेजस्तो प्रगति गर्न सकेका छैनौँ । अनुदित कृतिहरूले पनि विश्वको अत्यन्त समृद्ध बजार नपाएको, पाठकहरूसम्म सहज पहुँच हुन नपाएको प्रचारप्रसार हुन नपाएको विविध कारणहरूका कारण हामी विश्वसाहित्यको परिप्रेक्ष्यमा निकै पछाडि छाडिएका छौँ ।

० देवकोटा, भूपि शेरचनहरू पनि विश्वस्तरकै साहित्यकार, कवि हुनुहुन्थ्यो, तर उहाँहरूको कवित्वलार्ई हामीले विश्व रंगमञ्चमा खासै प्रचार प्रसार गर्न सकेनौँ । अबको पुस्ताले ती कमी–कमजोरीहरूलार्ई हटाउन के–कस्ता पहल कदमीहरू गर्नुपर्ने हुन सक्छ ?
– मनोजजी यस प्रसङ्गमा धेरै कुरा माथिका दुईवटा प्रश्नमा समेटिएको छ भन्ने मलार्ई लाग्दछ । बजारु र व्यापारिक विज्ञापनले अनावश्यक लेपन लगाएको व्यावसायिक साहित्यभन्दा वास्तविक साहित्यको जगेर्ना, संरक्षण र समृद्धिका लागि अबको पुस्ताले पहल गर्नैपर्ने हुन्छ ।

० विश्वसाहित्यमा बलियो उपस्थिति जनाउन अङ्ग्रेजीमै लेख्नुपर्ने हो वा नेपालीमै लेखिएका स्तरीय रचनाहरूलार्ई अङ्ग्रेजीमा अनुवाद गरेर पनि बलियो उपस्थिति जनाउन सकिन्छ ? जस्तैः पाब्लो नेरुदा (चिली), जोर्गे लुइस बोर्गेस (अर्जेन्टिना), येहुदा अमिचाई (इजरायल), ओक्टाभियो पाज (मेक्सिको), टमस ट्रान्सट्रोमर (स्वीडेन) र चेस्ला मिलोस (पोल्यान्ड) आदि यी सम्मानित कविहरूले आफ्नै भाषामा कविता सिर्जना गरेका थिए । उनीहरूको कृति अङ्गे्रजीमा अनुवाद भएपछि थप प्रसिद्ध बन्न पुगेका थिए । नेपाली कवित्वको सन्दर्भमा पनि यही तथ्य लागू गराउन सकिन्छ वा सकिँदैन ?
– विश्वसाहित्यमा सबल उपस्थिति जनाउन अङ्ग्रेजीमा मात्र लेखिनुपर्छ भन्ने ठूलो भ्रम रहेको छ हामीमाझ । विश्वप्रसिद्ध फ्रेन्च साहित्य, रुसी साहित्य, स्पेनिस साहित्य, जर्मनी साहित्यहरू पहिले उनीहरूकै भाषामा चर्चित र सुपरिचित भए, पछि मात्र अङ्ग्रेजीमा अनुवाद हुने गरेका छन् । नेपाली साहित्यमा पनि आफ्नै मातृभाषामा लेख्ने र अङ्ग्रेजीमा लेखिने लेखकहरूको स्तर ठूलो फरक रहेको छ । बी.पी. कोइराला, मदनमणि दीक्षित, दौलतविक्रम विष्ट, इन्द्रबहादुर राई, पारिजात, ध्रुवचन्द्र गौतम, सरुभक्त, कृष्ण धरावासीबराबरको आख्यान अङ्ग्रेजीमा लेख्ने नेपाली लेखकहरूमा कल्पना पनि गर्न सकिएको छैन । हालसम्म देवकोटा, मोहन कोइराला, वैरागी काइँला, ईश्वर बल्लभ, भूपि शेरचन, हरिभक्त कटुवाल, कृष्णभूषण बल, मञ्जुल, दिनेश अधिकारी, विष्णविभू घिमिरे, दुबसु क्षेत्री, अशेष मल्ल, विजय बजिमय, विश्वविमोहन श्रेष्ठ, विप्लव ढकाल, श्रवण मुकारुङ, रमेश श्रेष्ठबराबरको कविता लेख्न सक्ने अङ्ग्रेजीमा लेख्ने नेपाली लेखकहरूको उपस्थिति देखिएको छैन । रचना, शैली, शिल्प, प्रस्तुति र नवीन विम्ब र प्रतीकका कारण चर्चित हाम्रा लेखकहरूका रचनाहरू अङ्ग्रेजीलगायत अन्य भाषामा अनुवाद गरी विश्वका प्रसिद्ध प्रकाशनगृहबाट प्रकाशन गराउन सकेमा हामी पनि अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्ने थियौँ भने नेपाली लेखकहरूलार्ई पहिचान पनि दिलाउन सकिने थियो ।

० अब लागौँ ‘चराको गीत’तर्फ । यस कवितासङ्ग्रहमा ‘चराको गीत’ शीर्षकको कवितालार्ई नै पुस्तकको शीर्षक राख्नुको मुख्य कारण के होला ?
– चराको गीत कविता मैले वि.सं. २०५६ सालमा लेखेको हुँ । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट आयोजित राष्ट्रिय कविता महोत्सव प्रतियोगिता २०५७ मा यो कविता बुझाएको थिएँ । सौभाग्यवश सोही कविताले प्रथम पुरस्कार प्राप्त गऱ्यो । राजा वीरेन्द्रको जीवनकालकै अन्तिम पुरस्कार वितरणबाट पुरस्कार प्राप्त गर्ने सुअवसर पनि प्राप्त भयो । राष्ट्रिय कविता महोत्सवको गरिमालार्ई जीवन्त राख्न र राजा वीरेन्द्रको स्मरण पनि यस सङ्ग्रहमा कृतिको नाम हुने कारक भएको हुन सक्छ । अर्को कारणचाहिँ मेरो स्वभाव पनि सानैदेखि चराको झैँ स्वतन्त्र उड्ने नै छ । सुनको पिँजडाभन्दा खुला उन्मुक्त आकाश मन पराउने आफ्नो स्वभाव र वर्तमानको परिवेशलार्ई सहजीकरण गर्ने कारणले पनि यस सङ्ग्रहको नाम चराको गीत नै राख्ने सोच बनाएँ ।

० नीलो समुद्र र किनारामा लडिरहने ढुङ्गाका बीच एक विरोधाभासपूर्ण प्रेम छ । यस तथ्यलार्ई ‘समुद्र र ढुङ्गा’ कवितामा राम्रोसँग उजागर गर्नुभएको छ । यो कविता लेख्ने प्रेरणा कसरी प्राप्त भयो ?
– एकपटक म बंगलादेशको अत्यन्त सुन्दर आइल्यान्ड सेन्टमार्टिन आइल्यान्डमा परिवारसहित घुम्न गएको थिएँ । समुद्रको किनारमा सूर्यास्त हेर्ने समय मैले समुद्री किनारका कुरूप ढुङ्गाहरूलार्ई एक्लै विछोडमा छटपटाइरहेको देखेँ । त्यही समयमा एक बंगाली महिलाले त्यो आइल्यान्डमा आउने पुरुषहरूसँग देहव्यापार गरेर जीविका पालिरहेकी एक पात्रलार्ई देखेर दिनभरि छालले कोतरिँदा पनि प्रेममा समर्पण भइरहने र राति कुरूप स्वरूपमा वियोगमा छटपटाइरहने ढुङ्गालार्ई समान विम्बमा प्रस्तुत गर्न प्रयास गरेँ । यस कविताबाट मैले नारीमाथि पुरुषले गर्ने क्षणिक प्रेमको चित्रण गर्न खोजेको थिएँ । सेन्ट मार्टिन आइल्यान्डमै शरीर बेचेर जीवन निर्वाह गर्ने एक बंगाली महिला र त्यो कुरूप ढुङ्गाबीचको तादात्म्य खोज्न प्रयास गरेको छु मैले यस कवितामा ।

० नेपाली साहित्य/कवित्वमा अङ्ग्रेजी वा आगन्तुक शब्दहरूको बीचबीचमा प्रयोग कसैले मन पराउँछन्, कसैले मन पराउँदैनन् । ‘चराको गीत’ पुस्तकमा पनि अङ्ग्रेजी शब्दहरू प्रशस्तै प्रयोग गरिएका छन् । जस्तैः ‘हिमपातमा न्युयोर्क’ कवितामा ‘होमलेस’ शब्द, ‘बुबाः एक सारथि’ कवितामा ‘अफिस’ शब्दको प्रयोग गरिएको छ भने ‘स्ट्याचु अफ लिबर्टीमा एक शरणार्थी’ कविताको शुरुवात नै इम्मा लजारुसले भनेको एक पूरा वाक्य अंग्रेजी लिपि र भाषामा राखेर गरिएको छ । यसो गर्नुपर्ने बाध्यता वा कारणहरू के–के हुन सक्छन् ? भाषिक शुद्धताका हिसाबले यसो गर्नु कत्तिको उचित हुन्छ ?
– कविले कविता लेख्दा यही शब्द राख्छु भनेर जबर्जस्ती थोपरेको हुँदैन । लेख्दै जाँदा त्यसमा आउने मीठास र त्यसले पाठक र लेखकका बीच दिने सन्तुष्टिलार्ई पनि मध्यनजर गर्नुपर्ने हुन्छ । यस अर्थमा कहिलेकाहीँ आफ्नो भाषाबाहेक अन्य भाषाका शब्दहरू प्रयोग भएका हुन्छन् । अझ कतिपय शब्द त त्यही भाषामा नराख्दा अपूर्ण पनि देखिन्छन् । अमेरिकामा होमलेसको जुन निजत्व र अर्थबोध हुन्छ सायद त्यसको नेपालीकृत गर्दा नहुने हो कि भन्ने लेखकलार्ई लागेको हुन सक्छ । इम्मा लजारुसको कविताको पङ्क्ति नै राख्दा त्यस पङ्क्ति र स्रस्टाप्रति समान सम्मान हुने भएकाले राखेको हो । स्ट्याचु अफ लिबर्टीका सम्बन्धमा आजसम्म लेखिएकामध्ये सबैभन्दा उत्कृष्ट उक्त कविताको पङ्क्तिलार्ई गलत देखाउँदै वर्तमान यस्तो छ भन्ने धारणा राख्न जस्ताको तस्तै प्रयोग गरिएको हो ।

० ‘आमा’ शीर्षकको कवितामा र अन्य केही कवितामा पनि ‘विलयन’ लेखनको शैली अपनाइएको छ । ‘विलयन’ लेखन वास्तवमा के हो ? यसको प्रयोग र अवस्था नेपाली कवित्व फाँटमा के कस्तो रूपमा रहेको छ ?
– सन् २००५ जनवरी १ तारिखका दिन कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ धमला मिलेर नेपाली साहित्यमा एउटा नयाँ लेखन प्रविधिको शुरुवात गरौँ भनेर घोषणा गरिएको लेखन विलयन लेखन हो । वेदकालीन लेखक र प्राचीन मूर्तिकलाका विषयहरूबाट स्रस्टाको विलयनको खोजी गरियो । सोचियो साँच्चै संसारमा अहम्को त्याग गरियो भने के हुन्छ, म मात्र ठीक अरू बेठीक भन्ने छाडेर मबाट हामी सोच्यो भने के हुन्छ । अन्तर्राष्ट्रिय सीमाहरू रंगभेद वर्णभेदबाट मुक्त विश्वको कल्पना गर्दा के होला, यस्तै प्रश्नहरूका बीच हामीले विलयन लेखनको प्रस्तावना प्रस्तुत गर्ने प्रयास गऱ्यौं । यस प्रस्तावनाका विषयमा वरिष्ठ साहित्यकार डा. अभि सुवेदीसँग गहन छलफल गरी उहाँकै सुझाब र परामर्शमा विलयन लेखन अझ परिमार्जित र परिस्कृत बनाई विश्व परिवेशमा विलयन लेखनलार्ई प्रस्तुत गर्न सक्ने आधारयुक्त बन्यो । विलयन लेखनमा हामी लेखकीय अहम्का परित्यजनासहित दशबुँदे आधार प्रस्तुत गरेका छौँ । यसकै सिद्धान्तमा रहेर आगोको मूच्र्छना, रगतको दरबारजस्ता काव्य आरोहण गजलसङ्ग्रह र मुटुको चिनो नामक मुक्तकसङ्ग्रह बजारमा आइसकेका छन् । निकट भविष्यमै इन्द्रबहादुर राई, कृष्णचन्द्रसिंह प्रधानलगायतका विशिष्ट सर्जकहरूको विलयनसम्बन्धी धारणा सङ्कलित पुस्तक प्रकाशन हुन गइराखेको छ ।

० चराको गीत’ पुस्तक प्रकाशनपश्चात् के–कस्ता साहित्यिक योजनाहरू बुनिरहनुभएको छ ?
– अहिले त त्यस्तो केही छैन । केही गीतहरू रेकर्ड भइराखेका छन् । ती सबै सकिएपछि एउटा एलबम निकाल्नु छ । माथि नै भनेको छु नि विलयन लेखनसम्बन्धी इन्द्रबहादुर राई, कृष्णचन्द्रसिंह प्रधानलगायतका विशिष्ट सर्जकहरूको धारणा सङ्कलित पुस्तक प्रकाशन हुन गइराखेको छ । सायद केही महत्वपूर्ण सम्पादनको काम पनि गर्नेछु । त्यस्तै हो खत्र्याकखुत्रुक ।

० एक पूर्ण दिनका २४ घन्टाहरूमध्ये कवि श्री कृसु क्षेत्रीज्यूको कवित्व लेखनका हिसाबले सबैभन्दा ऊर्जाशील समय कुन हो ?
– लेखकको सबै समय ऊर्जाशील समय हो । जुन समय कुनै घटना परिवेश वा कथानकले छुन्छ त्यही बेला नै लेखक आफ्नो सिर्जनामा तल्लीन हुन्छ । मेरो पनि त्यस्तै हो । सामान्यतया लेखनका लागि समय छुट्याएर लेख्ने बानी छैन मेरो । यद्यपि बिहानपख लेखपढ गर्न रुचाउँछु म । लामो समयदेखि बेलुकी चाँडै सुत्ने र बिहानै उठ्ने आदतले पनि मेरो लेखनको सबैभन्दा ऊर्जाशील समय बिहानको दुईघन्टा होला जस्तो लाग्छ ।