प्रवासमा सर्जक दिलीपको सक्रियता

प्रवासमा सर्जक दिलीपको सक्रियता


स्वदेशमा रहँदा एक जाँगरिला टेलिभिजनकर्मीको पहिचान बनाएका दिलीप श्रेष्ठ यतिबेला जापानमा छन् । तर, परिश्रम र उद्यमको उत्कर्षले उकासिएको जापानजस्तो मुलुकको व्यस्त दैनन्दिनीका बीच पनि युवा सर्जक दिलीपले आफ्नो प्रतिभालाई अझै निखार्ने कर्मलाई निरन्तरता दिइरहेकै छन् ।

लामो समय नेपाली टेलिभिजनकर्ममा बिताएका उनी जापानमा पनि नेपालमा रहँदाझैँ म्युजिक भिडियो निर्माणमा लागिपरेका छन् । समय मिलाएर म्युजिक भिडियो निर्माणलाई निरन्तरता दिइरहेका दिलीपले केही समयअघि वरिष्ठ कवि मञ्जुलको कवितालाई जापानका मनोरम दृश्य समेटेर भिडियो–कवितामा रूपान्तरण गरेका थिए भने हालै मात्र एउटा म्युजिक भिडियो निर्माण गरेर सम्बद्ध कलाकर्मीमाझ चर्चाको पात्र बनेका छन् ।

दिलीप श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा सन्तोष परियारको शब्द, सङ्गीत र स्वरको गीत रहेको छ भने खेम खरेल र शालु गौतमले अभिनय गरेका छन् । भिडियोमा अजित र असीमको छायाङ्कन तथा कृष्ण खरेलको व्यवस्थापन रहेको छ । उक्त भिडियोको केही भाग नेपालमा पनि छायाङ्कन गरिएको थियो जसमा विक्रम श्रेष्ठले छायाकार र शिव पुरीले सम्पादन कार्यको जिम्मेवारी निर्वाह गरेका छन् ।