वलिउडका प्रख्यात निर्माता/निर्देशक सुवास घई तपोवनमा

वलिउडका प्रख्यात निर्माता/निर्देशक सुवास घई तपोवनमा


बलिउडका प्रख्यात निर्देशक तथा पटकथाकार एवम् निर्माता सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरेका छन् । निर्देशक घईले ओशो तपोवनका संन्यासीहरुसँग सहजै घुलमेल भई सोमबार करिब दुई घण्टाको छोटो भ्रमण रमाइलै गरी मनाए ।

ओशो तपोवनका सञ्चालक स्वामी आनन्द अरुणले तपोवनमा स्वागत गर्दै तपोवनले प्रकाशित गरेका ओशोको साहित्य बडो चाखसँग अवलोकन मात्रै गरेनन् कि ‘शिक्षा में क्रान्ति, ‘आर्ट अफ इन्लाइटेनमेन्ट’ सहित ओशोका केही अन्य गहकिला पुस्तक पनि पढ्नका लागि पनि छाने ।

ओशोसँग सन् १९७८ देखि परिचय भएको र सिने जगतका आफ्ना पुराना मित्र विनोद खन्ना ओशोको संन्यासी भएको कुरा उनले स्मरण गरे । यो जगतभन्दा परको अर्को सत्य देख्ने क्षमता ओशोमा भएकोले सदा नयाँ कुरा ओशोबाट सिक्न पाएको तथ्य उजागर गर्दै ओशोको यही विशेषताले गर्दा फिल्मी जगतमा पनि ओशोको प्रभाव बढी रहेको कुरा घईले बताए । ओशो तपोवनको ओशो समाधिमा गएर एकछिन ध्यानमा बसेपछि उनी समाधिको नजिकै गएर भावविभोर भई आँखा चिम्लेर नमनको भावमा उभिरहे ।

तपोवनमा बनेको नयाँ भवनका सुविधाजनक कोठाहरु देखेपछि अब नेपाल आउँदा यहीँ बस्न आउने इच्छा उनले प्रकट गरे । समाधिमा छिर्ने ओशोको समाधिलाई नियालेर हेरे र आफ्नो मोबाइल निकालेर आफैले समाधि र वरिपरीको दृश्य मोबाइलमा कैद गरे । हिरो, मेरी जंग, कर्मा, ताल, जस्ता सुपटहिट फिल्मका निर्देशकलाई आफ्नो आँगनमा देखेका संन्यासीहरुले पनि उनीसँगै फोटो खिचाउने इच्छा जताउँदा उनी सहजै तयार देखिन्थे । शिवपुरीबाबा ध्यान मन्दिरमा शिवपुरीबाबाको मुर्तिसँगै आफ्नो फोटो खिचिदिन आफ्ना सहयोगीलाई आग्रह गरे ।

तपोवन परिसरमा हिँड्दै कुरा गर्दा उनले हिन्दी फिल्म थ्री इडियटमा ओशोका ६३ उद्वरणहरु परेको चाखलाग्दो तथ्य पनि उजागर गरे । प्रत्येक दिन ओशोलाई ३० देखि ४५ मिनेटसम्म नियमित सुन्ने गरेको रहस्य पनि घईले खोले । आफु ७५ वर्ष पुग्दा पनि स्फुर्तिमा कमी नभएको बरु अझ जवान हुँदै आएको अनुभव हुन थालेको भन्दै उनले ठट्टा पनि गर्न भ्याए । तपोवनको खाजा खाएपछि ध्यान हलमा पुगेर अब डेढ वर्षमा ओशोको बायोपिक बनाउने कार्य शुभारम्भ हुने जानकारी गराउँदै त्यसका लागि केही तथ्यहरु स्वामी आनन्द अरुणसँग बसेर फेरि कुरा गर्ने उनले बताए ।

‘यो जगतलाई प्रकाश देखाउने महान व्यक्तिहरुलाई उनीहरुको समकालिन मनुष्यताले कहिल्यै कदर गरेको छैन । ओशोलाई पनि मनुष्यताले नबुझेको मात्रै होइन सकेसम्म दुःखै दियो’ भन्दै ओशोको सन्देश फैलाउने कार्यमा ओशो तपोवन जस्तो आश्रम नेपालमा बनेकोमा र देशविदेशबाट मानिसहरुयहाँ ध्यान सिक्न आएको देखेर आफु सुखद आश्यर्चमा परेको बताउँदै फेरि आउने बाचा गरेर घई विदा भए ।