असन्तुष्टि पोख्ने माध्यम बन्यो मोदीको साइकल सवारी

असन्तुष्टि पोख्ने माध्यम बन्यो मोदीको साइकल सवारी


यसै वर्षदेखि मनाउन थालिएको ‘विश्व साइकल दिवस’ हिजो (३ जुन) विश्वभर मनाइयो । भारतको विशेष पहलमा उक्त दिवस मनाउने स्वीकृति संयुक्त राष्ट्र सङ्घले दिएकोले भारतमा निकै धुमधामले साइकल दिवस मनाइएको थियो ।

साइकल दिवसलाई रौनकता प्रदान गर्ने उद्देश्यले वातावरणप्रेमी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयम् साइकलमा सवार भई ‘विश्व साइकल दिवस’ उद्घाटन गरे । मोदीको साइकल सवारीको तस्बिरलाई आधार बनाउँदै यतिबेला भारतीय सञ्चारमाध्यमहरूले विभिन्न कोणबाट रोचक टीका–टिप्पणी गरेका छन् ।

भारतमा दुई सातादेखि पेट्रोलियमको मूल्य लगातार बढिरहेको छ । घट्ने संकेत नै नदेखिएको पेट्रोल–डिजलको मूल्यवृद्धिप्रति कटाक्ष गर्दै प्रधानमन्त्री मोदीको उक्त साइकल सवार तस्बिर सञ्चारमाध्यमहरूले ‘ट्रोल’ गरेका छन् । इण्डियन मिडियाहरूले मूल्यवृद्धिको समयमा प्रधानमन्त्री मोदीले जस्तै साइकल प्रयोग गर्न अपिल गर्दै यसरी ब्यङ्ग्य पस्किएका छन्– ‘पेट्रोलियम पदार्थमा यसरी नै मूल्यवृद्धि भए भविष्यमा उद्योगपति अम्बानी र अडानीले मात्रै इन्धनबाट चल्ने सवारीको प्रयोग गर्न सक्नेछन्, सर्वसाधारणले त अब साइकलमै सवार हुनुपर्छ ।’

त्यसो त साइकको प्रयोग सामाजिक, आर्थिक, स्वास्थ्य र पर्यावरणीय दृष्टिकोणले पनि अत्यन्त राम्रो मानिन्छ । तर, मूल्यवृद्धिको मारमा परेका उपभोक्ताले सकारात्मक कुरालाई पनि ब्यङ्ग्यात्मक किसिमबाट असन्तुष्टि पोख्ने माध्यम बनाएका छन् ।

उपरोक्त ढङ्गबाट सञ्चारमाध्यमले कटाक्ष गरेर चर्चामा ल्याएपछि प्रधानमन्त्री मोदीले साइकल चढेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । यता, विश्व बजारमा इन्धनको मूल्य घटे पनि पछिल्लो दुई सातादेखि दक्षिण एसियाली मुलुकमा चाहिँ इन्धनको मूल्य लगातार बढिरहेको छ ।