लिग चरण समाप्त -श्रीविक्रम भण्डारी

लिग चरण समाप्त -श्रीविक्रम भण्डारी


ठूला टिमको वर्चश्व कायमै
भारतीय उपमहाद्वीपमा सञ्चालन भइरहेको विश्वकप किक्रेटको लिग चरणका खेलहरू सम्पन्न भएका छन् । १४ राष्ट्रले प्रतिस्पर्धा गरेको विश्वकपको दसौँ संस्करणमा अड्कल र अनुमान लगाएसरि उलटफेर हुन सकेन । सहभागी केही राष्ट्रले ठूला टिमलाई पराजित गर्न सफल भए पनि क्वाटरफाइनलमा भने पुग्न सकेनन् । सर्वप्रथम आयरल्यान्ड त्यसपछि बंगलादेशले ठूला टिमलाई पराजित गरेर उलटफेरका सङ्केत देखाए पनि त्यसपछि उनीहरूले सोचेअनुरूपको प्रदर्शन गर्न सकेनन् । बाँकी टिमहरू जिम्बाबे, केन्या, क्यानडा, नेदरल्यान्ड अपेक्षाअनुसार खरो उत्रिन सकेनन् । लिग चरणमा केन्या र नेदरल्यान्डले एउटा खेल पनि जित्न सकेनन् भने यी टिमहरूको तुलनामा आयरल्यान्डले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको थियो । आयरल्यान्डले इंग्ल्यान्ड र नेदरल्यान्डलाई पराजित गरेर चार अङ्क हासिल गरेको थियो ।
समूह ‘ए’को खेलमा पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया र न्युजिल्यान्डले पहिल्यै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पारेका थिए । यी चारै राष्ट्रले जिम्बाबे, क्यानडा र केन्यालाई पराजित गर्दै ६ अंक बटुल्न सफल भएका थिए । सशक्त राष्ट्रहरूको भिडन्त भने निकै रोचक भएको थियो । यी राष्ट्रले एकले अर्कालाई पराजित गर्न सफल भएका थिए । अस्टे्रलियाले न्युजिल्यान्ड, पाकिस्तानले श्रीलङ्का, न्युजिल्यान्डले पाकिस्तान र पाकिस्तानले अस्ट्रेलियालाई पराजित गरेका थिए । अस्ट्रेलिया श्रीलङ्काको खेल भने वर्षाले प्रभावित भएर बराबरीमा टुङ्गिएको थियो । यसरी समूह ‘ए’मा पाकिस्तान १० अङ्कका साथ पहिलो स्थानमा रहेको थियो भने नौ-नौ अङ्क हासिल गरेका श्रीलङ्का र अस्ट्रेलियाले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै, आठ अङ्क प्राप्त गरेको न्युजिल्यान्डले चौथो स्थान हासिल गरेको थियो ।
समूह ‘बी’को खेलमा कुन टिम क्वाटरफाइनलमा पुग्नेछ भन्नेबारेमा निकै अन्योलता छाएको थियो । इंग्ल्यान्डलाई नेदरल्यान्ड र बंगलादेशले पराजित गरेपछि यो समूहमा ठूलो उलटफेरको सम्भावना बढेर गएको थियो । पहिलेका दुई खेलमा पराजयको मुख देखेको बंगलादेशले त्यसपछि लगातार तीन खेल जितेर ६ अङ्क हासिल गरेपछि भारत, वेस्टइन्डिज र इंग्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने बाटो छेकिदिएको थियो । दक्षिण अफि्रकासँगको निर्णायक खेलमा बंगलादेश भारी रनको अन्तरले पराजित भएपछि लिगको एक खेल बाँकी रहँदा मात्र यी राष्ट्र क्वाटरफाइनलमा पुग्न सफल भएका थिए । निकै सनसनीपूर्ण बनेको यो समूहमा चारवटै सशक्त टिमले एक-अर्कालाई पराजित गरेका थिए । भारत र इंग्ल्यान्डबीच भएको ठूलो योगफलको खेल टाइ भएपछि लो स्कोरको खेलमा इंग्ल्यान्ड दक्षिण अफि्रकालाई नाटकीय रूपमा पराजित गर्न सफल भएको थियो । त्यस्तै गर कि मरको अवस्थामा पुगेको इंग्ल्यान्डले वेस्टइन्डिजविरुद्धको खेलमा पुनः नाटकीय रूपमा विजय हासिल गर्दै क्वाटरफाइनलमा पुग्ने सम्भावनालाई जीवितै राखेको थियो ।
दक्षिण अफि्रका आयोजक राष्ट्र भारतलाई सनसनीपूर्ण खेलमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । त्यस्तै, वेस्टइन्डिजलाई पनि दक्षिण अफि्रकाले पहिलो सिकार बनाएको थियो । भारतले उद्घाटन खेलमा बंगलादेश र त्यसपछि नेदरल्यान्ड र आयरल्यान्डलाई पराजित गरे पनि इंग्ल्यान्डसँगको बराबरी र दक्षिण अफि्रकासँगको पराजयले ठूलो धक्का लागेको थियो । भारतले यी दुवै खेलमा ठूलो योगफल तयार पारे पनि जित्न असफल भएको थियो । भारतको अन्तिम लिग खेल वेस्टइन्डिजसँग भएको थियो । यो दसौँ विश्वकप क्रिकेटको अन्तिम लिग खेल पनि थियो । यो खेलमा भारतले वेस्टइन्डिजलाई पराजित गरेर आफ्नो समूहमा दोस्रो स्थान हासिल गरेको थियो ।
आयरल्यान्डको दर्शनीय प्रदर्शन
विश्वकपको दसौँ संस्करणमा आयरल्यान्डले दर्शनीय प्रदर्शन गर्न सफल भएको छ । इंग्ल्यान्डविरुद्धको खेलमा तीन सय २९ रनलाई पछ्याएको आयरल्यान्डले सनसनीपूर्ण खेलको प्रदर्शन गर्दै इंग्ल्यान्डमाथि विजय पाएको थियो । पहिलोपटक तीन सयभन्दा माथिको लक्ष्य प्राप्त गरेको आयरल्यान्डलाई विजयी गराउन केभिन ओ ब्राइनले शतकीय पारी खेलेका थिए । त्यस्तै यो विश्वकपमा दोस्रो विजय हासिल गर्ने क्रममा पनि आयरल्यान्डले तीन सयभन्दा माथिको लक्ष्यलाई भेदन गरेको थियो । चिरप्रतिद्वन्द्वी नेदरल्यान्डसँग भएको भिडन्त निकै सनसनीपूर्ण भएको थियो । पहिलो ब्याटिङ गर्दै नेदरल्यान्डले तीन सय ६ रनको विशाल स्कोर खडा गरेको थियो । प्रतिउत्तरमा आयरल्यान्डले विस्फोटक ब्याटिङको प्रदर्शन गर्दै सहजै लक्ष्य प्राप्त गरेको थियो । आयरल्यान्डलाई विजयी गराउन पाउल स्र्टर्लिङले शतकीय पारी खेलका थिए । विश्वकपमा पाउलको यो पहिलो शतक हो । यसरी क्वाटरफाइनलमा प्रवेश गर्न नसके पनि आयरल्यान्डले यो विश्वकपमा प्रभावशाली प्रदर्शन गर्न सफल भएको थियो ।
अस्ट्रेलियाको रेकर्ड तोडियो
विश्वकपका ३४ खेलमा अपराजित रही कीर्तिमान बनाएको अस्ट्रेलियाको यात्रालाई पाकिस्तानले रोकिदिएको छ । लिगको अन्तिम खेलमा पाकिस्तानले अस्ट्रेलियालाई चार विकेटले पराजित गर्दै विजयी रथलाई पछिल्तिर धकेलिदिएको हो । दुईवटा विश्वकपमा अपराजित रही विश्वकपको ट्रफी चुम्दै आएको अस्ट्रेलियाले लगातार तीनपटक विश्वकप जितेर ह्याटि्रक गरिसकेको छ । सन् १९९९ मा इंग्ल्यान्डमा भएको विश्वकपमा पाकिस्तानसँगै पराजित भएको अस्ट्रेलियाले त्यसपछि पराजयको मुख देख्नुपरेको थिएन । यसरी एक दशकसम्म विश्वकपमा एकछत्र राज गरेको अस्ट्रेलियालाई पाकिस्तानले पुनः पराजित गरेर उसको विजय रथलाई रोक्न सफल भएको छ । अस्ट्रेलियालाई पराजित गर्न पाकिस्तानका बलर उमर गुल र ब्याट्सम्यान उमर अकमलले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।
बंगलादेश बाहिरियो
विगत एक वर्षदेखि उत्कृष्ट क्रिकेट खेल्दै आएको बंगलादेश यो विश्वकपमा लिग चरणबाटै बाहिरिएको छ । इंग्ल्यान्ड, नेदरल्यान्ड र आयरल्यान्डलाई पराजित गरे पनि बंगलादेश क्वाटरफाइनलमा प्रवेश गर्न सकेन । वेस्टइन्डिज र दक्षिण अफि्रकासँग भोगेको नमिठो पराजयका कारण बंगलादेशको क्वाटरफाइनलको यात्रा टुङ्गिएको हो । यो विश्वकपको सहआयोजकको रूपमा रहेको बंगलादेश यसभन्दा अघिका विश्वकपमा ठूलो उलटफेर गर्दै विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भएको थियो । दसौँ विश्वकपको लिग चरणबाटै बाहिरिएपछि बंगलादेशका कप्तान सकिब अल हसनले र्समर्थकहरूसँग माफी मागेका छन् । सकिबले आफूहरूले राम्रो अवसर गुमाएको खुलासा गर्दै आफ्नो लक्ष्य क्वाटरफाइनलसम्म भएको बताए । उनले विगतको एक वर्ष बंगलादेशले उत्कृष्ट क्रिकेट खेलेको र सोहीअनुरूप र्समर्थकहरूले पनि आशा गरेको बताउँदै त्यो पूरा गर्न नसकेको र र्समर्थकहरूलाई निराशा पारेकोमा माफी मागेका हुन् ।
यसरी विभिन्न आरोह-अवरोह पार गर्दै आठवटा टोली पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफि्रका, भारत, इंग्ल्यान्ड र वेस्टइन्डिज क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सबै सशक्त टिमहरू क्वाटरफाइनलमा प्रवेश गरेकाले आगामी भिडन्त निकै रोमाञ्चकारी र सनसनीपूर्ण हुने सबैले अड्कल काटेका छन् । हेरौँ, क्वाटरफाइनलमा कसले कसलाई पछार्छ ।

आजदेखि क्वाटरफाइनलको घम्साघम्सी
विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल आजदेखि शुभारम्भ हुँदै छ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल चैत ९ गते पाकिस्तान र वेस्टइन्डिजबीच हुँदै छ । त्यस्तै दोस्रो क्वाटरफाइनल आयोजक राष्ट्र भारत र पूर्वविजेता अस्ट्रेलियाबीच चैत १० गते हुनेछ । प्रतियोगिताको तेस्रो र चौथो क्वाटरफाइनल न्युजिल्यान्ड-दक्षिण अफि्रका र श्रीलङ्का इंग्ल्यान्डबीच क्रमशः ११ र १२ चैतमा हुनेछ । निकै प्रतिस्पर्धात्मक हुने अनुमान लगाइएको क्वाटरफाइनलमा कसले बाजी मार्ला त्यो प्रतीक्षाको विषय भएको छ । समूह चरणमा एकले अर्कालाई पराजित गरेर आफू कोहीभन्दा कम नभएको प्रमाणित गरेका सम्पूर्ण टिमहरूले नकआउट चरणमा पनि उत्कृष्ट क्रिकेटको प्रदर्शन गर्ने खेलप्रेमीहरूले विश्वास गरेका छन् ।
क्वाटरफाइनलका सम्पूर्ण खेलहरू निकै रोचक र सनसनीपूर्ण हुने कुरामा दुईमत छैन । र पनि, क्वाटरफाइनलको सबैभन्दा रोचक खेल भारत र अस्ट्रेलियाबीच हुने सबैले अड्कल काटेका छन् । विश्वको नम्बर एक र दुई स्थानमा रहेका टिमबीच हुने यो खेललाई दसौँ विश्वकपको फाइनलको पनि संज्ञा दिइएको छ । पूर्वच्याम्पियन र दसौँ विश्वकपको प्रमुख दाबेदार मानिएको भारतबीच हुने यो प्रतियोगिता निकै सनसनीपूर्ण हुनेछ । यो विश्वकपमा नामअनुसारको प्रदर्शन गर्न नसकेको अस्ट्रेलिया समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग पराजित भएपछि उसको दाबेदारीमा प्रश्नचिह्न लागेको छ । ब्याटिङ र बलिङ दुवैतर्फ कमजोर सावित हुनुका साथै कप्तान रिकी पोन्टिङ र्फममा नआउनु अस्ट्रेलियाका लागि चिन्ताको विषय बन्दै गएको छ ।
यता भारतले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । दक्षिण अफि्रकासँग भोगेको पराजयबाहेक भारतले यो विश्वकपमा सर्वाधिक रनसमेत बनाउन सफल भएको छ । अर्को कुरा घरेलु मैदानमा सधैं बाघ बन्दै आएको भारतले अस्ट्रेलियालाई पाखा नलगाउला भन्न सकिँदैन । भारतीय उपमहाद्वीपमा अस्टे्रलियाले अहिलेसम्म विश्वकपको उपाधि जित्न नसकेको अवस्थामा क्वाटरफाइनलमै भारतसँग जम्काभेट हुनु साँच्चिकै विशाल चुनौतीको सामना गर्नुपर्नेछ । वीरेन्द्र सेहवाग, सचिन तेन्दुल्कर र युवराज सिंह र्फममा हुनु अस्ट्रेलियाका लागि टाउकोदुखाइ बनेको छ । यी तीनै खेलाडीले यो विश्वकपमा शतक प्रहार गरेर आफ्नो उपस्थिति र मनसायलाई प्रस्ट पारिसकेका छन् ।
त्यस्तै न्युजिल्यान्डले अस्ट्रेलियासँग पराजय भोगे पनि त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । क्वाटरफाइनलमा दक्षिण अफि्रकासामु किवीले कुनै चमत्कार देखायो भन्दा अन्यथा मान्नुपर्ने छैन । पाँच ओभरमा सय रन बनाउन सक्ने किवीका खेलाडीले दक्षिण अफि्रकालाई ठूलो चुनौती दिने पक्का छ । दक्षिण अफि्रकाले आयोजक राष्ट्रलाई सनसनी रूपमा पराजित गरेर विश्वकपको प्रमुख दाबेदारको रूपमा आफूलाई उभ्याइसकेको अवस्थामा यो खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ । यो विश्वकपमा शुभारम्भदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको पाकिस्तानले अस्ट्रेलियालाई पराजित गरेपछि निकै हौसिएको छ । वेस्टइन्डिजसँगको भिडन्तमा पाकिस्तानले आफ्नो ब्याटिङमा अलिकति पनि सुधार गर्न सके त्यो उनीहरूका लागि प्लस प्वाइन्ट हुनेछ । यो विश्वकपमा वेस्टइन्डिजले मध्यमस्तरको प्रदर्शन गर्नु र लगातार इंग्ल्यान्ड र भारतसँगको पराजयले उनीहरू म्ाानसिक रूपमा समेत पीडित हुन पुगेका छन् । र, पनि यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ ।
क्वाटरफाइनलको सबैभन्दा रोचक खेल इंग्ल्यान्ड र श्रीलङ्काबीच हुने देखिएको छ । यो विश्वकपमा श्रीलङ्काले उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा पुगे पनि इंग्ल्यान्ड श्रीलङ्काभन्दा १९ चाहिँ पक्कै छैन । अनिश्चितताको खेलमा इंग्ल्यान्डले समूह चरणमा भोगेको उतारचढाव उसका लागि सकारात्मक पक्ष बनेको छ । बल्लतल्ल दोस्रो चरणमा प्रवेश पाएको इंग्ल्यान्डले अलि सम्हालिएर खेलेको खण्डमा श्रीलङ्कामाथि भारी पर्न सक्ने देखिन्छ । उदाहरणका लागि उसले भारतसँग गरेको प्रदर्शनलाई लिन सकिन्छ । त्यस्तै भारतीय उपमहाद्वीप श्रीलङ्का लागि शुभ मानिन्छ । सन् १९९६ मा श्रीलङ्काले यही विश्वकपको उपाधि चुमेको थियो । तसर्थ उत्कृष्ट तालमेलका साथ अगाडि बढेको श्रीलङ्काले इंग्ल्यान्डलाई पाखा लगाए अन्यथा मान्नुपर्ने छैन ।