तेस्रो नजर

तेस्रो नजर


pathakmanchबिजुलले किन गरे दुष्प्रचार ?
सम्पादकज्यू,
उपरोक्त सम्बन्धमा यस पत्रिकाको मिति ०६९ चैत २१ गते बुधबार प्रकाशित अङ्कमा काङ्गे्रसको केन्द्र ताक्ने पनि कस्ता–कस्ता भन्ने शीर्षकमा प्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा मेरा निम्न कुराहरू राखी समाचारको खण्डन गरिदिनुहुन अनुरोध गर्दछु ।
२०५०।१०।२९ गतेको कान्तिपुर दैनिकको अङ्क ३५१, २०५०।११।२ को सोही पत्रिकाको अङ्क ३५४ तथा २०५०।११।३ को अङ्क ३५५ मा प्रकाशित समाचारहरूमा बालगृहका अध्यक्ष प्रतापराम लोहारले बालबच्चा बेचबिखन गरेको भन्ने आशयको समाचार प्रकाशित गरेको थियो । सो सम्बन्धमा मैले म स्वयम् उक्त पत्रिकाको कार्यालयमा उपस्थित भई आफूले बालगृह सञ्चालन गरेको र कुनै बालबालिकालाई धर्मपुत्र÷पुत्री बनाई नपठाएको र उक्त समाचार मिथ्या, कपोलकल्पित भएका कारण त्यसप्रकारका भ्रामक समाचारहरू सच्याउनुहुन अनुरोध गर्दा पनि नसुनी लगातार सोही आशयका समाचार प्रकाशित हुँदै गए र मैले बाध्य भएर सो सम्बन्धमा सम्मानित जिल्ला अदालत काठमाडौंमा कान्तिपुर पत्रिकाले गाली–बेइज्ज्ती ग¥यो भनी मिति २०५०।११।९ मा गाली–बेइज्जती मुद्दा दायर गरी हदैसम्मको सजाय माग गरी मुद्दा दायर गरेको थिएँ । सो सम्बन्धमा सम्मानित जिल्ला अदालत काठमाडौंले वादीको उक्त भनाइका सम्बन्धमा प्रमाण पेस गर्नका लागि आदेश दिएकोमा उक्त पत्रिकाले कुनै प्रकारको प्रमाण जुटाउन नसकी बिजुल विश्वकर्माले सामाजिक सेवा राष्ट्रिय कल्याण परिषद्मा दिएको उजुरी र मौखिक पनि भनेकाले हुनाले समाचार प्रकाशित गरेका हौँ भनी सम्मानित जिल्ला अदालत काठमाडौंमा प्रतिउत्तर दिएकोमा सो मा कुनै प्रमाण पेस गर्न नसकेको हुँदा कान्तिपुर दैनिकले मुद्दा हार्ने निश्चित भएपछि कान्तिपुरका तत्कालीन पदाधिकारीहरूले भेटी आइन्दा बिनाप्रमाणका समाचार नछाप्ने प्रतिबद्धता गरेको हुँदा हामीले मिलापत्र ग¥यौँ । उक्त विषयको सम्मानित जिल्ला अदालत काठमाडौंको प्रमाणित पत्र तपाईंलाई बुझाइसकेको छु । सोबमोजिम बीस वर्षअगाडि नै झुटा ठहरेको विषयलाई ब्यँुताएर बिजुल विश्वकर्माले आफ्नो स्वार्थ सिद्ध गर्ने विक्षिप्त प्रकारको हतकण्डा प्रयोग गरेको स्पष्ट हुन्छ । यसकारण यसैबमोजिम सो समाचारको खण्डन गरिदिनुहुन अनुरोध गर्दछु ।
– प्रतापराम लोहार
सैंबु–४, भैंसीपाटी, ललितपुर