उपचारभन्दा आत्मबल ठूलो !

उपचारभन्दा आत्मबल ठूलो !


– गोपाल पराजुली

जीवनका घटना–परिघटना, आफ्नो कर्म र भोगाइका कथा व्यवहारहरू समेटेर आत्मवृतान्त लेखिरहँदा पहिलो श्रृङ्खलामा मैले एउटा भयानक दुर्घटनाबाट संयोगले बाँचेको कुरा गरेको थिएँ । २७ वर्षअघिको त्यहि त्रासदीपूर्ण दुर्घटनाको एउटा चोट मेरो शरिरमा अहिलेसम्म पनि लुप्त रूपमा कतै बाँकी नै रहेछ । संयोगवश बेलैमा उक्त विकारको पहिचान भयो र सफल उपचार पनि भयो । हिजो शनिबार (१९ जेठ २०७५) भारतको दिल्लीबाट फर्किएको छु । फेरि पनि एउटा संयोगले शरिरको गम्भीर जोखिम टरेको छ । यसपटक संयोगका पानाहरूमा यहि अनुभूति बाँड्न चाहेको छु ।

२७ वर्षअघि एउटा गम्भीर दुर्घटनामा परेर मेरो ठूलो अप्रेसन भएको थियो । उक्त अप्रेसनपछि मेरो शरिरमा Spleen छैन । त्यतिबेला नै डा. महेश खकुरेलले भन्नुभएको थियो– ‘तपाईँ भगवानको कृपाले बाँचेको मान्छे हो । तपाईँलाई तपाईँको शरिर हामीले २५ वर्षसम्मका लागि रिपेयर गरेर दिएका छौँ । त्यसपछि के हुन्छ थाहा छैन ।’ त्यतिवबला अप्रेसन गरेको भागमा अहिले आएर हर्निया भएको रहेछ । र, तलको आन्द्राले त्यहाँ छोएर फुट्ने तरखरमा रहेछ । बेलैमा थाहा भयो र जोखिम टऱ्यो ।

६–७ वर्ष अगाडि मेरो दाहिने किड्नीमा स्टोन देखिएको थियो । कार्यव्यस्तता र त्यति धेरै दुखाई नभएकाले पनि मैले उक्त समस्यालाई बेवास्ता गर्दै आएको थिएँ । अहिले भने अफिस पनि छैन, फुर्सदको समय छ, त्यो स्टोन यहिबेला नै निकाल्नुपर्छ भनेर म चिकित्सककहाँ गएको थिएँ । तर किड्नी परीक्षणका लागि जाँदा अर्को रोग देखियो । किड्नी मात्रै परीक्षण गरेको भए यत्रो रोग थाहा नहुने रहेछ । पुरै पेटको परिक्षण गर्दा थाहा भयो । यो पनि एउटा ठूलो संयोग हो । मेरो रोग परीक्षण, उपचारको सल्लाह र शल्यक्रिया समेतका सम्पूर्ण कर्ममा संलग्न काठमाडौंको ग्रान्डीदेखि दिल्लीको बीएलके हस्पिटलसम्मका सबै चिकित्सकहरूप्रति म आभारी छु ।

रोग परीक्षणकै क्रममा मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरमा जाँदा डा. पुकार श्रेष्ठले मेरा बारेमा केही क्षुद्र टिप्पणी गर्नुभएको भनेर मैले ‘घटना र विचार साप्ताहिक’ लगायतका कतिपय मिडियामा पढेँ । म त बेहोस थिएँ । उहाँले त्यस्तो बोल्नुभयो होला भनेर विश्वास गर्न मनले अझै मान्दैन । तर, सूचना आधिकारिक नै हो । यद्यपि एप्रोनमै रहेका चिकित्सकले त्यस्तो अभिव्यक्ति दिएको भनी सुन्दा मलाई अलिकति दुःख लाग्नु स्वभाविकै हो ।

डा. पुकार श्रेष्ठलाई म निकै राम्रोसँग चिन्दछु । उहाँ एउटा मेहनती, लगनशील, राष्ट्र र समाजको लागि केही गरौँ भन्ने भावना बोकेका डाक्टर हुनुहुन्छ । मानव अङ्ग प्रत्यारोपनका क्षेत्रमा उहाँको ठूलो योगदान छ । शिक्षण अस्पतालमा हुँदाखेरि एकपटक उहाँलाई किड्नी चोरीको आरोप पनि लाग्यो । कुनै गाउँको तामाङ थरको व्यक्तिलाई उचालेर डा. गोविन्द केसीलगायतका व्यक्तिहरूले अनर्गल प्रचार गरेका थिए । त्यतिबेला उहाँको पक्षमा कडाभन्दा कडा तवरवाट प्रतिवाद गर्ने मानिसमध्ये म पनि एक थिएँ । विराटनगरमा मूख्य न्यायाधीश हुँदा सार्वजनिक भाषणमा नै मैले उहाँको पक्षमा बोलेको थिएँ । नेपालमा प्रतिभाहरूलाई पलायन बनाउने कुटील चाल र झुठको खेती गर्नेहरूको षडयन्त्र हुनुपर्छ भनेको थिएँ ।

डा. पुकारले पहिले पनि मलाई मेरो किड्नीको समस्याका बारेमा निकै राम्रो सुझाव दिनुभएको थियो । तर पछिल्लो समय पीत पत्रकारिताले कसरी देशलाई छिया–छिया पार्दैछ र कसरी उहाँजस्ता व्यक्तिलाई समेत दिग्भ्रमित पार्दैछ भन्ने कुराको उदाहरण हो डा. पुकारले मेरा बारेमा बोलेको दुर्वाच्य । केही मिडियाले मेरा विरुद्धमा गरेका अनर्गल र भ्रामक प्रचारको प्रभावमा उहाँ पर्नुभएको हुनसक्छ ।

डा. पुकार ! तपाईँ आफैँ दोषी होइन । तपाईँ कसैबाट प्रभावित हुनुभएको छ । त्यसैको प्रतीक हो तपाईको अभिव्यक्ति । एउटा एप्रोनमा रहेको डाक्टरले बेहोस अवस्थाको बिरामीका बारेमा गरिएको कटाक्ष । म तपाईँलाई दोषी नै त भन्दिनँ तर कुरै नबुझी अभिव्यक्ति दिने बेहोसीचाहिँ भन्नु नै पर्छ ।

डा. पुकार श्रेष्ठलाई म निकै राम्रोसँग चिन्दछु । उहाँ एउटा मेहनती, लगनशील, राष्ट्र र समाजको लागि केही गरौँ भन्ने भावना बोकेका डाक्टर हुनुहुन्छ । मानव अङ्ग प्रत्यारोपनका क्षेत्रमा उहाँको ठूलो योगदान छ । शिक्षण अस्पतालमा हुँदाखेरि एकपटक उहाँलाई किड्नी चोरीको आरोप पनि लाग्यो । कुनै गाउँको तामाङ थरको व्यक्तिलाई उचालेर डा. गोविन्द केसीलगायतका व्यक्तिहरूले अनर्गल प्रचार गरेका थिए ।

यहिँनेर एउटा प्रसङ्ग म सम्झन्छु । एकजना मेरा नजिकका अलि सिनियर मैले दाजुको रूपमा व्यवहार गरेको व्यक्ति हुनुहुन्थ्यो । मेरो राम्रै हिमचिम थियो उहाँसँग । उहाँको नाति र मेरो कान्छो छोरा करिब समकक्षी थिए । उनीहरू सानै हुँदा (करिव ४ वर्षका थिए होलान्) एकदिन ती दाजुलाई फोन गरेँ । त्यो बच्चाले फोन उठाएर हजुरबुबा ‘गोफ्ले’को फोन आएको छ भनेर रिसिभर आफ्नो हजुरबुबालाई दियो । त्यो बच्चा आफैँले ‘गोफ्ले’ शब्द रचेको त होइन होला । मेरो नाम बिगारेर उहाँले नातिको अगाडि जे शव्द भन्नुभएको थियो अवोध बालकमा त्यही प्रभाव परेको हुनसक्छ । डा. पुकारको अभिव्यक्ति पनि त्यहि अवोध बालकको जस्तै हो । आफैँद्वारा सिर्जित अभिव्यक्ति होइन । आफ्नै मन मस्तिष्कबाट निस्किएको धारणा होइन । घर परिवारकै कोही अग्रजबाट प्रभावित अभिव्यक्ति हो त्यो । म के भन्दछु भने कसैका बारेमा धारणा बनाउँदा जहिले पनि प्राइमरी इन्फर्मेशनमा आधारित हुनुहोस् । सेकेण्डरी इन्फर्मेशनद्वारा प्रभावित नबन्नुहोस् ।

मलाई के लाग्छ भने कसैप्रति दोष लगाएर कसैप्रति नकारात्मक शब्द प्रयोग गरेर कसैलाई होच्याएर अथवा कसैको मानमर्दन गरेर कसैलाई केही प्राप्त हुँदैन बरु सबैले सबैको अस्तित्वलाई स्वीकार र सम्मान गऱ्यो भने हामी समुन्नत हुँदै जान्छौँ ।

जे होस्, उपचारको दौरानमा मलाई साथ र सहयोग प्रदान गर्नुहुने सबै चिकित्सकहरूप्रति मेरो उच्च सम्मान छ । सुरुमा म ग्रान्डी हस्पिटलमा सम्बन्धित विशेषज्ञ डा. पवनराज चालिसेकहाँ गएँ । उहाँले सीटीस्क्यान गर्ने सल्लाह दिँदै भन्नुभयो– ‘यो स्टोन तपाईँको किड्नीको तल्लो भागमा छ । अलिक अप्ठ्यारो छ । तै पनि अहिले कस्तो अवस्थामा छ ? यसलाई सीटीस्क्यान गरेर हेरेपछि मात्रै डिटेलमा थाहा हुन्छ । अनि मात्रै अप्रेशन गर्ने–नगर्ने निष्कर्षमा पुग्न सकिन्छ ।’

अर्को दिन सीटीस्क्यान गर्नुपूर्व एउटा इन्जेक्सन लगाउनुपर्ने भयो । उक्त इन्जेक्सनले कसै–कसैलाई एलर्जी हुनेरहेछ । डा. एके कश्यपले सीटीस्क्यानका लागि मलाई मेसिनमा सुताउनुअघि रेडीयोलोजी डिपार्टमेन्टका प्राविधिकले यदि एलर्जी भयो भने तुरुन्तै जानकारी गराउनुहोस्, इमर्जेन्सीमा राख्नुपर्ने पनि हुनसक्छ भन्नुभयो ।

एमडीसीटी स्क्यान गरियो । डा. शर्मा पौडेलले रिपोर्ट दिनुभयो र तपाईँको पेटमा एउटा Cyst देखियो भन्नुभयो । उहाँले Gastroenterology को सर्जन डा. रञ्जन थापालाई देखाउन आग्रह गर्नुभयो । त्यसअघि मैले मेरा मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई सबै रिपोर्ट देखाएँ । उहाँ अलिकति झस्कनुभयो । उहाँकै सल्लाहअनुसार डा. कश्यपलाई देखाएर Endoscopy गराएँ । रिपोर्ट आयो । डा. कश्यपले भन्नुभयो– ‘पेटमा Cyst देखिएको छ । पूर्ण Diagnosis भएन । एकपटक डा. नीरज जोशीलाई देखाउँदा राम्रो होला । नर्भिकमा जानुहोस् ।‘ डा. नीरज जोशीले मानव अङ्ग प्रत्यारोपन केन्द्र भक्तपुरमा विहानको समय दिनुभयो ।

कसैप्रति दोष लगाएर कसैप्रति नकारात्मक शब्द प्रयोग गरेर कसैलाई होच्याएर अथवा कसैको मानमर्दन गरेर कसैलाई केही प्राप्त हुँदैन बरु सबैले सबैको अस्तित्वलाई स्वीकार र सम्मान गऱ्यो भने हामी समुन्नत हुँदै जान्छौँ ।

अर्कोदिन विहान भक्तपुर गयौँ । Anesthesia दिएर परिक्षण गरिने पद्दति रहेछ । डा. जोशीले रिपोर्ट हेरेर भन्नुभयो– ‘तपाईँको यो Cyst अलिकति शंकास्पद छ । यो के हो ? यसै हो भनेर भन्न सकिँदैन । तर फाल्नचाहिँ जरुरी छ । थप परीक्षण पनि जरुरी छ ।’ मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा निकै राम्रो तरिकाबाट Diagnosis र सल्लाह सुझाव प्राप्त भयो । शंकास्पद अवस्थाका बारेमा समयमै सचेत गराउनुहुने डा. नीरज जोशीप्रति म आभारी छु । तत्पश्चात पुनः डा ओममूर्तिसँग सम्पर्क गरेँ । उहाँले दिल्ली जान सल्लाह दिनुभयो ।

दिल्लीको बीएलके हस्पिटलमा करिब ५ घण्टाको अप्रेसन गरियो । क्यान्सर होकि होइन भन्ने कुरामा सबैभन्दा ठूलो अन्वेषण गर्नुपर्ने थियो । एक साताको अस्पताल बसाइमा त्यो क्यान्सर होइन भन्ने निर्क्योल भयो । मलाई उपचारमा सहयोग गर्नुहुने डा. चालिसे, डा. नीरज जोशी, डा. एके कश्यप, डा. शर्मा पौडेल, डा. रञ्जन थापा लगायत उहाँका टिमलाई धन्यवाद । डा. ओममूर्ति अनिल जस्को अमूल्य सुझावले मेरो उपचार सम्भव भयो । जीवन भोगाइमा उहाँको अमूल्य सुझाव सहयोग र विशाल परोपकारी हृदयप्रति आभार प्रकट गर्दछु । उहाँ Cardiologist भएपनि आफ्नो प्रतिभा र ज्ञानको उच्चतम प्रयोग गर्न सक्ने खुबी भएका प्रवीण व्यक्ति हुनुहुन्छ ।

दिल्लीका चिकित्सक र स्टाफहरूको व्यवहार र सहयोग बिर्सन सकिँदैन । सोफामा राखेर परीक्षणका सबै प्रक्रिया र पद्दतिका बारेमा जानकारी गराएर एकैदिनमा रिपोर्ट दिलाउने बीएलके हस्पिटलको चुस्त व्यवस्थापनको जति तारिफ गरे पनि कमै हुन्छ । अस्पताल असाध्यै व्यवस्थित रहेको पाएँ । हुन त थाइल्याण्डको Samitivej हस्पिटल पनि गएको छु । दिल्लीकै एपोलो र मेदान्त पनि हेरेको छु । तर भारत र पाकिस्तान अलग हुनुभन्दा अघि नै स्थापित भएको बीएलके पनि धेरै पुरानो भएर पनि व्यवस्थित रहेछ ।

बीएलके हस्पिटलमा डा. योगेश वत्राले पुनः Endoscopy गराउनुभयो । डा. प्रतिभा सादको रिपोर्ट, डा. सोनी संगत नागीको कन्सल्ट्यान्सी, डा. भीपी भल्लाको सल्लाह बमोजिम उहाँका टीमका सबैजनाको सहयोगमा ठूलो अप्रेसन सफल भयो । मेरो उपचारमा आवद्ध सबैलाई धन्यवाद ।

उपचार सकेर फर्कँदा आदरणीय राष्ट्रकवि माधव घिमिरेज्यूसँग भेट्ने संयोग मिल्यो । उहाँ पनि उपचारपश्चात फर्कँदै हुनुहुँदो रहेछ । राष्ट्रकविसँगको छोटो भलाकुसारी निकै प्रेरणादायी रह्यो । उहाँसँगको भेटपश्चात मलाई लाग्यो– उपचारभन्दा त आत्मबल कैयौँ गुणा ठूलो रहेछ ।

(क्रमशः)

यो पनि पढ्नुहोस्-

मुद्दा जित्न जब गरियो छोरीको कुमारित्व जाँचको अनुरोध

https://ghatanarabichar.com/102692