दूतावासमा एकै साथ नेपाल विकास सम्मेलन र गणतन्त्र दिवस

दूतावासमा एकै साथ नेपाल विकास सम्मेलन र गणतन्त्र दिवस


लन्डन/ नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल र नेपालीको लक्ष्य प्राप्तिको अभियानलाई सफल पार्न नेपाली राजदूतावास लन्डनले गत मंगलबार गणतन्त्र दिवस मनाउँदै नेपाल विकास सम्मेलनको आयोजना दूतावासको प्राङ्गणमा भव्य रूपले सम्पन्न गरेको छ । दूतावासका प्रवक्ता एवम् डेपुटी चिफ अफ मिसन शरदराज आरनले सञ्चालन गरेको उक्त कार्यक्रममा सर टोनी बाल्ड्रीको प्रमुख अतिथि अनि लोर्ड रिचार्ड जोर्ज रोजर्स विशेष अतिथि रहेका थिए र कार्यक्रमको सभापतित्व राजदूत डा. दुर्गाबहादुर सुवेदीले गरेका थिए ।

खचाखच भरिएको सो कार्यक्रममा साउथ एसिया डिपार्टमेन्ट अफ फरेन एन्ड कमनवेल्थ अफिस ब्रिटेन नेपाल सोसाइटी बीआरएएनएनजीओ रोयाल बोटानिकल गार्डेन युनिभर्सिटी अफ लन्डन ग्रेट ओर्माेन्ड स्ट्रिट हस्पिटल गुर्खा वेलफेयर ट्रस्ट डिपार्टमेन्ट फर इन्टरनेसनल डिभलेपमेन्टका प्रमुख तथा प्रतिनिधिहरूलगायत विभिन्न दूतावासहरू ब्रिटिस व्यवसायीहरूका साथ बेलायतस्थित नेपाली विभिन्न सङ्घसंस्थाका प्रमुखहरू अनि गन्यमान्यहरूको दुई सयभन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो ।

राजदूत डा. सुवेदीले गणतन्त्र दिवसको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माणमा अग्रसर हुन बेलायतवासी नेपालीलाई आग्रह गरेका थिए । राजदूत सुवेदीले आर्थिक विकास र सामाजिक रूपान्तरणको एजेन्डालाई सफल बनाउन सरकारको तर्फबाट स्पष्ट प्रतिबद्धताका साथै सार्थक पहलहरू नेपाल सरकारबाट शुरु भइसकेको जानकारी दिएका थिए ।

सो कार्यक्रममा नेपालको विकासको क्षेत्रसँग सम्बन्धित विषयमा आधा दर्जनभन्दा बढी कार्यपत्र प्रस्तुत गरिएका थिए । समारोहमा सर बाल्ड्रीले आफ्नो मन्तव्यमा बेलायत र नेपालबीच सदियौँदेखि रहँदै आएको द्विपक्षीय सम्बन्ध बहुआयामिक रहेको बताउँदै नेपालमा नयाँ संविधानको सफल कार्यान्वयन, सङ्घीय शासन व्यवस्थाको शुरुवातसँगै आर्थिक विकासको युगको आगमन भएको प्रसङ्ग उल्लेख गरेर नेपालमा लगानी गर्न यो सबैभन्दा उत्तम समय भएकोमा जोड दिएका थिए । बेलायती विदेश मन्त्रालयअन्तर्गत दक्षिण एसिया विभागकी उपनिर्देशक लेस्ली क्रेगले समारोहलाई सम्बोधन गर्दै बेलायत नेपाल द्विपक्षीय सम्बन्धलाई थप उचाइ दिन बेलायत सदैव इच्छुक र प्रतिबद्ध रहेको बताइन् ।

समारोहमा गत वर्ष बेलायती महारानी एलिजाबेथबाट प्रतिष्ठित क्युसीमा नियुक्त हुन सफल भएको तथा बेलायत–नेपालबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने कार्यमा महत्वपूर्ण योगदान गरेबापत बेलायतस्थित प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई नेपाल सरकारको तर्फबाट खादा लगाएर राजदूत डा. सुवेदीले सम्मान गरेका थिए जसको लगत्तै नेपालको विकास सेक्टरमा क्रियाशील रहेका बेलायती च्यारिटी संस्थाहरूको साझा नेटवर्क ब्राङ्गो (ब्रिटेन एन्ड नेपाल एनजीओ) को औपचारिक शुभारम्भ गरिएको थियो । कार्यक्रममा अ ट्राभल गाइड टु धौलागिरी नामक पुस्तकको विमोचन, प्रख्यात चित्रकार सम्झना राजभण्डारीको नेपालसम्बन्धी चित्रकला प्रदर्शनीको शुभारम्भ गरिएको थियो । चित्रकार राजभण्डारीका लगभग दुई दर्जन खासगरी पश्चिमी नेपालको परिवेशको चित्रकलाहरू राखिएका थिए ।

कार्यक्रममा एलिसन मास्र्टनले ब्रिटेन नेपाल सोसाइटी र नेपालमा यसको सहभागिताबारे तथा युनिभर्सिटी अफ लन्डनका नेपलिज् तथा हिमालयन स्टडिज् विभागका प्राध्यापक डा. माइकल हटले नेपालको राजनीतिक विकासक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए । लिभरपुल जोन मुर युनिभर्सिटीका डा. सारा पार्कर र सिर्जना योञ्जन सिंहले रोल अफ वुमन इन नेपाल शीर्षकको प्रिजेन्टेसन प्रस्तुत गरे भने ग्रेट अर्मोन्ड स्ट्रिट अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन विलियम हार्कनेसले टेलिमेडिसिन एन्ड वर्किङ इन ग्रुप शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

समारोहका सपनकुमार राई, बीबी अनुरागी र सीतु खरेलले संयुक्त रूपमा नेपाली राष्ट्रिय गीत गाएका थिए भने कल्पना लिम्बू, एलिसा गौचन, सङ्गीता गैरे, विभिया श्रेष्ठ, लिसा सुनार, श्रेया महर्जन, ग्रिष्मा भुसाल र सुस्मिता थापासहितका कलाकारहरूले विभिन्न मौलिक नेपाली लोकनृत्यहरू प्रस्तुत गरेका थिए ।

तस्बिर स्रोत गुर्खा रेडियो युके