बेलायतमा गुर्खा कपको चुलिँदो लोकप्रियता

बेलायतमा गुर्खा कपको चुलिँदो लोकप्रियता


प्रकाश केसी, लण्डन

पब्लिक होलिडे, खुल्ला आकाश अनि घमाइलो परिवेश र नेपालीहरूको वार्षिक भेला.., यो सबै एकैपटक योपालि अर्थात गत आइतबार, अल्डरसट आयोजित गोर्खाकपमा जुरेको थियो । घमाइलो दिनलाई उत्सवको रुपमा लिने बेलायतीहरूझैँ यहाँ बसोबास गर्ने नेपालीहरू पनि त्यो प्रथाबाट मुक्त रहेनन् र त्यसको मूलतः भुक्तभोगी हुनका लागि बेलायती नेपाली समाजमा योपालि मौसमको साथ गोर्खा कपलाई परेको थियो । बेलायती नेपाली परिवेशमा सांगठानिक, सामाजिक अनि साँस्कृतिक तहमा अग्र रहेको तमूधीं यूकेले सन् २००३देखि लगातार रुपमा आयोजना गर्ने गुर्खा कप सँधैजस्तो योपालि पनि अल्डरसटमा भएको थियो ।

विभिन्न समाचारहरूको आधार बनाएर लेख्ने हो भने, यो पक्कै लेख्न सकिन्छ कि, गुर्खा कप नेपालबाहिर नेपालीहरूको सबैभन्दा अत्यधिक भेला हुने इभेन्ट हो । दर्जनौं फुटबल क्लबहरूको सहभागितामा सम्पन्न हुने गुर्खा कप नामअनुसारको फुटबल प्रतियोगिताको इभेन्ट मात्र नभई यसको वहानामा नै बेलायतमा रहेका नेपालीहरूको भेला हुने मेला हो भन्दा ज्यादा सोँच्नु नपर्ला ।

हुन त यस वर्ष आयोजित १६ औं गुर्खा कप मंगोलियन भान्जा टिमले जितेको थियो जसले २५०० पाउण्डसहितको गुर्खा कप हात पारेका थिए जसले बेलायतमा नेपाली फुटबल खेलाडीहरूमा हौसला बढाएको पक्कै छ, साँझ भएको एक पार्टीमा युवाहरूको सहभागिताले युवामाझ गुर्खा कपको लोकप्रियता चुलिएको पनि सजिलै अनुमान लगाउन सकिन्छ ।

एक अनुमानअनुसार लगभग १२००० दर्शकहरूको उपस्थिति रहेको गुर्खा कपको भेलामा एम्बुलेन्स, दमकल, प्रहरी र प्रारम्भिक स्जास्थ्य उपचार केन्द्रजस्ता महत्वपूर्ण निकायहरूको व्यवस्थापन गरेकोबाटै अनुमान लगाउन सकिन्छ कि गुर्खा कपको इभेन्ट कतिको महत्वपूर्ण र विशाल रहेछ भन्ने ।

च्यारिटेबल संस्थाको रुपमा दर्ता भएको तमू धीं यूकेले लण्डनमा नेपाली मेलाको पनि आयोजना गर्दछ, जसले खासगरी नेपाली परम्परा, भेषभुषा अनि मौलिक जातीय संस्कृतिको प्रदर्शन गर्दछ तर पनि गुर्खा कपको विशाल स्थान, युवाहरूको सहभागिता, अत्यधिक दर्शकहरूको सहभागिता आदिलाई मध्यनजर राखेर गुर्खा कपमा अझ ज्यादा गर्न सकिने गुन्जायसहरू देखिएका छन् । यो वर्ष लगभग दर्जनजति खानेकुराहरूको स्टलहरूलगायत चार दर्जनजति अन्य व्यापारिक स्टलहरू राखिएको गोर्खा कपमा अतिरिक्त स्टलहरूको सम्भावनाहरू देखिएका थिए । फुटबल प्रेमीहरूको तुलनामा नेपालीहरूको भेलामा मेला भर्न जसरी आउने दर्शकहरूको संख्या ज्यादा रहेको हरेकले अनुमान लगाउन सक्दछ, सोही अभिप्रायलाई आत्मसात गरेर संस्थाले अत्यधिक जमघटको व्यावसायिक मुनाफा लिन सक्ने सम्भावना स्पष्ट देखिन्छ ।

गुर्खा कपको लागि हुने शुरुवाती प्रतियोगिताहरू अन्तै खेलाई खासगरी सेमिफाइनल र फाइनल खेलहरू मात्र गुर्खा कपमा खेलाइने गरे खासरुपमा प्रतियोगिताको समयमा दर्शकहरू नजिक हुने र प्रतियोगिताको गरिमा अझ बढ्न सक्दयो । चारैतिर खेलाइएका विभिन्न टिमहरूका शुरुवाती खेलहरूका दर्शक तिनका आफ्ना परिवारहरूबाहेक नदेखिएकोले गुर्खा कप शुरुवाती अवस्थामा झिजोलाग्दो लाग्दथ्यो । दिनभरि नै सञ्चालन हुने गुर्खा कपको प्रारम्भिक चरणमा सो स्थानमा अन्य थप स्टलहरूमा विविध समाजिक, सांस्कृतिकलगायत व्यापारिक प्रदर्शनीहरू राखी एक हाट बजारसहितको मेलाको रुपमा गुर्खा कपलाई स्थापित गर्न सकिने सम्भावनाहरू रहेको छ, जुन आजको समयमा, खासगरी बेलायती नेपाली समाजमा व्यक्तिलगायत नेपाली संस्था अनि कम्पनीहरूलाई सुविधा प्रदान गर्न सक्षम देखिन्छ र निश्चय नै एक च्यारिटेबल संस्थालाई कोश वृद्धि गर्न सक्ने राम्रो मौका हो ।

संस्थाले आयोजना गरेको इभेन्टमा सहभागीहरू संख्याले संस्थाको शक्तिलाई निर्धारण गर्दछ र त्यही शक्तिले संस्थालाई जिम्मेदार बनाउँछ । तमूधीं यूकेले गुर्खा कप, नेपाली मेला जस्ता वृहत र विशाल कार्यक्रमहरूको आयोजना गरेर समाजमा शक्तिशाली संस्थाको रुपमा स्थापित भएको छ र त्यसैले बेलायती नेपाली समाजमा एक जिम्मेदार संस्था भएको छ । बेलायतमा नेपाली समाजको हक र हितमा काम गर्दै नेपालमा पनि सहयोग गर्ने तमूधीं यूकेले आफ्नो शक्तिको र मौकाको सही सदुपयोग गर्न जरुरी छ ।

बेलायतमा बसोबास गरेको वषौं भइसकेको भए तापनि बेलायती नेपालीहरूमा अविकसित पन भने नगएको भान हुने गरी सर्वत्र फोहोर फालिएको देखिएको गुर्खा कपमा फोहोर राख्ने ढ्वाङहरू पर्याप्त थिएनन्, या तिनलाई सर्वत्र पारिएको थिएन र त्यही परिमाणमा शौचालयहरूको पनि पर्याप्तता अनि सर्वत्रता खट्केको थियो, जसलाई शसुल्क गरी सर्वत्र बनाइ पनि सक्ने सम्भावना रहेको थियो । स्टलमा राखिएका समानहरूको मूल्यमाथि आयोजकको दृष्टि हुन जरुरी रहेको पनि देखिएको थियो । यी हुँदा हुँदै पनि २०१८ सालमा आयोजित गुर्खा कपको १६औं संस्करण अत्यधिक रुपमा सफल र फलदायी रहेको थियो ।

तस्वीर श्रोत : एचएबी