श्रीमती धनी हुनुको अर्थ

श्रीमती धनी हुनुको अर्थ


– बबिता बस्नेत

‘जुन देशका गृहमन्त्रीले सम्पत्तिको स्रोतमा श्रीमतीको दाइजो देखाउँछन् त्यस्तो देशमा दाइजो लिनेलाई कारबाही गर भनेर कसलाई भन्नु ?’ दुई वर्षअघि तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले सम्पत्तिको स्रोतमा श्रीमतीको दाइजो देखाएपछि विरक्त लागेर यस्तो ट्विट गरेकी थिएँ । नेपालको कानुनले दाइजोलाई निषेध गरेको छ । दाइजोकै निहुँमा विगतमा यो मुलुकका धेरै घरका भान्साकोठाहरूमा स्टोभ आफैँ पड्किए । तथ्याङ्कमा त्यसरी स्टोभ पड्किएर मृत्यु हुनेहरूको सङ्ख्या घट्दै छ, तर अहिले पनि घरेलु हिंसाको एउटा कारण दाइजो हो । जुनसुकै दलका हुन् सरकारका मन्त्रीहरूको अभिलेखमा सकारात्मक अर्थमा दाइजो शब्द राखिनु अपराध हो ।

समयक्रममा सरकार फेरियो, सरकारमा पुग्ने नेताहरू फेरिए, तर फेरि पनि मन्त्रीहरूज्यूहरूको सम्पत्ति विवरणमा श्रीमतीले माइतीबाट ल्याएको सुन, पैसा, जग्गालगायतका कुराहरू नै सम्पत्तिको स्रोतका रूपमा सार्वजनिक भए । मन्त्री बनेका पतिका तुलनामा उहाँहरूका पत्नीहरू आर्थिक रूपले कैयाँै गुणा सशक्त देखिए । तर, त्यसप्रकारको आर्थिक सशक्तीकरण उहाँहरू आफ्नै कारणले नभई माइतीले दिएको सम्पत्तिबाट भएको देखियो । जुन सम्पत्ति सर्वसाधारण महिलाले सितिमिति आफ्ना बाबुआमाबाट प्राप्त गर्न सक्दैनन् ।

नेपाली महिलाले माइतीबाट सम्पत्ति प्राप्त गर्न नसक्नुमा कारण स्पष्ट छ, छोरीलाई छोरासरह सम्पत्तिको हकदार बनाइनेछ भनी अंशसम्बन्धी कानुनी व्यवस्था भएको धेरै भएको छैन । कानुनी व्यवस्था भएपछि पनि यसको कार्यान्वयन गरिएको छैन । यतिसम्म कि सम्पत्तिमा इच्छा प्रणाली लागू गर्ने व्यवस्था गर्न लाग्दा त्यस्तो प्रणालीले ‘अन्ततः काजकिरिया गर्ने यिनै हुन् भनेर छोराले नै सम्पत्ति पाउने अभ्यास हुनेछ’ भन्ने तर्क गर्दै संसद्मा इच्छा प्रणाली पारित हुन सकेन । सम्पत्ति बाँडफाँडमा सदियौंदेखि छोराहरूलाई मात्र हकदार मान्दै आएको नेपाली समाजले छोरीलाई पनि यसको समान त के एकछेउको हिस्सेदारसमेत मान्न सकेको छैन ।

यस्तो अवस्थामा सकारात्मक भएर हेर्दा मन्त्रीपत्नीहरूले माइतीबाट पाएको सम्पत्तिलाई पैतृक सम्पत्तिमा समान अधिकारको सफल उदाहरणका रूपमा लिन सकिन्छ । यद्यपि उहाँहरूका माइती र दाजुभाइ तथा दिदीबहिनीको सम्पत्ति विवरण थाहा नभएकाले यो समान थियो या थिएन भन्ने जान्न सकिएन । यसको दुःखद् पक्षचाहिँ के हो भने माइतीको सम्पत्ति प्राप्त गर्नका लागि मन्त्रीपत्नी नै हुनुपर्ने रहेछ र सबै महिलाले मन्त्रीपत्नी बन्ने हैसियत राख्दैनन् र यो सम्भव हुने कुरा पनि होइन ।

जमानामा राजखानदानका महिलाहरू, पुँजीवादी महिला सुनका गहनामा सजिन्थे भन्ने मान्यता थियो, जसलाई लिएर प्रगतिशीलहरू जञ्जिरको संज्ञा दिँदै गीत गाउँथे । अहिले समय फेरियो, समयसँगै मूल्यमान्यता पनि फेरिए, हिजोको दरबारिया अभ्यास घरघरमै हुन थाल्यो ।

आश्चार्यलाग्दो कुरा के छ भने महिलामन्त्री थममाया थापाले सम्पत्तिको स्रोतमा ‘पतिको सम्पत्ति’ भनेर उल्लेख गरेको देखिएन । सबैभन्दा थोरै सम्पत्ति भएकी मन्त्री पनि उहाँ नै देखियो । सबै पति आर्थिक रूपले सम्पन्न नै हुन्छन् र सबै महिलाको आर्थिक हैसियत खस्किएकै हुन्छ भन्ने पनि होइन । तर, हाम्रो प्रचलित सामाजिक अभ्यास र मन्त्रीज्यूहरूको सम्पत्ति विवरण ठ्याक्कै उल्टो देखियो । पतिको सम्पत्ति उपभोग गर्ने महिलाकी प्रतिनिधिले पतिको सम्पत्ति उपभोग गरेको देखिएन । यता श्रीमतीको सम्पत्तिमा नेताहरूले गौरव गरेको देखियो । आमरूपमा हेर्दा यस्तो देखिँदैन ।

नेपाली समाजमा अनेक किसिमका हिंसा छन्, त्यसमध्येको एक वचनले दिने चोट हो, जसलाई मानसिक हिंसाको एउटा रूप पनि भन्न सकिन्छ । ‘तिम्रो (तेरो) माइतीबाट ल्याएको सम्पत्ति हो र ? या मेरो आफ्नै कमाइ त हो’ माइतीबाट सम्पत्ति नल्याएका या आफ्नै कमाइ नभएका महिलाले पाउँदै आएको वचन हो यो, जुन वचन हाम्रो देशमा धेरै विवाहित महिलाका कानले सुनेका छन्, सुन्नुपरेको छ । यता श्रीमतीको कमाइमा बस्नुपर्दा पुरुषहरूले महिलालाई दिने पीडा फरक छ । ‘तिम्रो (तेरो) कमाइ खानुप¥यो भनेर… या माइतीले सम्पत्ति दिए भनेर…माइती धनी छन् भनेर…जस्ता वचन सुन्ने महिला पनि छन् । सङ्ख्या थोरै होला, तर बेरोजगार पतिका रोजगार पत्नीहरूले खप्दै आएका वचन र मानसिक हिंसा फरक छ । कतिले व्यक्त गर्छन् कतिले गर्दैनन्, त्यो अलग कुरा हो । तर, आफ्नै सम्पत्ति हुँदा र नहुँदा दुवै अवस्थामा सबै होइन, तर धेरै महिला मानसिक पीडाबाट मुक्त छैनन् ।

यस्तो अवस्थामा आफ्नै कमाइ भएका, तर पतिबाट प्रताडित महिलाले अब भन्न पाउने भए, ‘मेरो कमाइमा यति धेरै हीनताबोध किन राख्छौ ? मन्त्रीज्यूहरूको हेरेर पनि श्रीमतीको कमाइमा गर्व गर्न सिक न ।’ अप्ठ्यारो त आखिर जताबाट पनि नहुनेलाई नै हो, ती तमाम महिला जसलाई माइतीले सम्पत्ति दिएका छैनन् र आफ्नो कमाइ पनि छैन । ती वर्गका महिलामाथि भने वचन थप बर्सिन सक्छ, खै सबैका श्रीमतीले माइतीबाट सम्पत्ति ल्याउँदा रहेछन्, तिम्रै त हुन् केही नहुने माइती…या कस्ता कि छोरी बिहे गरिएछ…जनताका लागि ‘रोल मोडल’ बन्नुपर्ने मन्त्रीज्यूहरूका सम्पत्ति विवरणले अनेक तर्क–वितर्कहरू आममानिसको मनमा खडा गरी दिएको छ ।

सकारात्मक भएर हेर्दा मन्त्रीपत्नीहरूले माइतीबाट पाएको सम्पत्तिलाई पैतृक सम्पत्तिमा समान अधिकारको सफल उदाहरणका रूपमा लिन सकिन्छ । यद्यपि उहाँहरूका माइती र दाजुभाइ तथा दिदीबहिनीको सम्पत्ति विवरण थाहा नभएकाले यो समान थियो या थिएन भन्ने जान्न सकिएन । यसको दुःखद् पक्षचाहिँ के हो भने माइतीको सम्पत्ति प्राप्त गर्नका लागि मन्त्रीपत्नी नै हुनुपर्ने रहेछ र सबै महिलाले मन्त्रीपत्नी बन्ने हैसियत राख्दैनन् र यो सम्भव हुने कुरा पनि होइन ।

हाम्रो देशका महिला आर्थिक रूपले सशक्त छैनन्, महिला पछि पर्नुको कारण सम्पत्तिमा अधिकार नहुनु हो भनेर वर्षौँदेखि महिला अधिकारकर्मीहरूले उठाउँदै आएको आवाजले मन्त्रिपरिषद् हेरफेर भएपिच्छे फेल खाने गरेको छ । विगतका अन्तर्वार्ताहरूमा ‘भागेर विवाह गरियो, अन्तरजातीय विवाह गरेकाले माइतीले पनि भित्र्याएनन्, धेरै दुःख पाइयो’ भनेर नेता पत्नीका रूपमा सार्वजनिक अभिव्यक्ति दिनेहरूका श्रीमान्ले पनि श्रीमतीको माइतीले दिएको भनी सम्पत्ति विवरण पेस गरेको देख्दा आश्चार्य लाग्छ । तर, परिस्थिति सधैँ एउटै हुँदैन, मान्छे हो मन फर्कियो होला, शुरुमा नभित्र्याए पनि पछि ज्वाइँ मन्त्री बन्ने सम्भावना भएपछि बोलाएर सम्पत्ति दिए होला भनेर सोच्न पनि सकिन्छ ।

विश्वास गर्न मात्रै गाह्रो हो, तर मानिसको जीवन सधैँ सम्भावनाहरूले भरिएको हुन्छ । एउटै गुनासो के हो भने कतिपय मन्त्रीज्यूका श्रीमती कामकाजी थिए, तिनले आफँैले आर्जन गरेको सम्पत्तिका रूपमा पनि केही देखाइदिएको भए महिला आफैँ कमाउन पनि सक्षम छन् है भन्ने सन्देश जाने थियो । जुन सन्देश सर्वव्यापी होस्, समाजमा त्यसप्रकारको मान्यता स्थापित होस् भनेर कपाल फुलाउनेहरू पनि छन् ।

यसपटकको सम्पत्तिको अर्को रोचक पक्ष दर्जनौँ तोला सुन र गरगहनाको हो । जमानामा राजखानदानका महिलाहरू, पुँजीवादी महिलाहरू सुनका गहनामा सजिन्थे भन्ने मान्यता थियो, जसलाई लिएर प्रगतिशीलहरू जञ्जिरको संज्ञा दिँदै गीत गाउँथे । अहिले समय फेरियो, समयसँगै मूल्यमान्यता पनि फेरिए, हिजोको दरबारिया अभ्यास घरघरमै हुन थाल्यो । आर्थिक सम्पन्नतासँगै जञ्जिरवाला मूल्यमान्यताहरू तोडिए । आफूसँग नहुँदा र हुँदाबीचको फरक स्पष्ट देखियो । हीरा, मोती, सुन पनि आखिर मानिसको उपभोगकै लागि त बनेका हुन् । यसमा त्यति धेरै आपत्ति गर्नुपर्ने के छ र ? अन्त्यमा, आरामले भन्न सकिने कुराचाहिँ के रह्यो भने जसले जे भने पनि, जे गरे पनि, मुखले बोले पनि या चुपचाप गरे पनि आखिर रहेछन् श्रीकृष्ण एक ।