अस्ट्रेलियामा लाली छर्दै उषा

अस्ट्रेलियामा लाली छर्दै उषा


राजन घिमिरे, सिड्नी (अस्ट्रेलिया)

जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ प्रवासी जीवनको व्यस्त यात्रामा पनि उषा आचार्यले आफ्नो प्यासनलाई मर्न दिएकी छैनन् । उनी अस्ट्रेलियामा के मात्र गर्दिनन् ? अध्ययनदेखि जीवनलाई अगाडि बढाउन काम गर्नेदेखि मोडलिङमा सक्रिय हुनुका साथै यहाँको कुनै पनि कार्यक्रममा सहभागी हुन उनी छाड्दिनन् ? कसरी भ्याउँछिन् त उनी ? ‘समय म्यानेज गरियो भने सकिँदो रहेछ । म समय छैन भनेर हातमा आएको काम छोड्दिनँ, हुन्छ, गर्छु भन्छु र भ्याइन्छ पनि,’ उनले भनिन् ।

हुन त उषा चार वर्षअघि मात्र अस्ट्रेलिया आएकी हुन्, तर उनी अहिले भने अस्ट्रेलियाको राजधानी क्यानभेरा बस्ने गर्छिन् । शनिबार बिहान यो पङ्क्तिकारले सिड्नीको ओपेरा हाउसम भेट्दा पनि उनी शुक्रबार राति मात्र क्यानभेराबाट सिड्नी आएकी थिइन् र, शनिबार राति नै फेरि क्यानभेरा फर्कने हतारोमा थिइन् । ‘सिड्नीको पारामाटामा आज हुन लागेको एउटा कार्यक्रममा सहभागी हुन हिजो सिड्नी आएकी थिएँ, आज कार्यक्रममा सहभागी भएपछि म भरे नै क्यानभेरा फर्कन्छु,’ उनले आफ्नो व्यस्त सेड्युलबारे जानकारी गराइन् ।

उषा अस्ट्रेलियामा सम्माजनक रूपमा हेरिने नर्सिङ पेसामा आबद्ध छिन् । अस्ट्रेलियामा मोडलिङ एजेन्सीमा पनि कार्यरत उनले यहीँ आएर डिप्लोमा इन मोडलिङ पनि सकाइन् । ‘सबैभन्दा ठूलो कुरा शिक्षा नै हो । हरेक विधा र क्षेत्रमा पढाइ जरूरी छ । त्यसकारण पनि मैले मोडलिङमा पनि अध्ययन गरेँ,’ उनले भनिन् ।

अस्ट्रेलियामा यतिबेला मोडलिङ पेसा फस्टाउँदो छ । यसले गर्दा उषाको विधा पनि फराकिलो हुँदै छ । ‘मोडलिङ अहिले भरपर्दो पेसा भएको छ । म अस्ट्रेलियामा हुने यस्ता कार्यक्रमको प्रमोसन हुने काम पनि गर्छु,’ उषाले अगाडि भनिन् ।

विदेशीसमेत उषाको तस्बिर र मोडलिङको तारिफ गर्छन् । त्यसमाथि नेपालीको मात्र नभएर विदेशी कार्यक्रममा समेत उनको सहभागिता अहिले अस्ट्रेलियामा अनिवार्यजस्तै बनेको छ । ‘हामीले जहिले पनि आफ्नो पेसा र क्षेत्रको मान, सम्मान गर्न सक्नुपर्छ । अरूको सम्मान गरेर नै आफूले सम्मान पाउने हो,’ उषाले भनिन् ।

उनलाई पछिल्लोपटक क्यानभेरामै तयार पारिएको कवितामाथि आधारित भिडियोले चर्चामा ल्याएको छ । अस्ट्रेलियामा फरक सोच र सिर्जना बोकेर आएको ‘मलाई पागल भन’ बोलको यो लयात्मक भिडियोका सर्जकहरू हुन्– सुमन पाण्डे, विकाश उप्रेती र किरण भण्डारी । यी तीनको यो सिर्जनामा निकै खुलेर प्रस्तुत भएकी छिन् उषा । ‘साँच्चै जीवनमा नयाँ काम गरियो । प्रतिक्रियाहरू सकारात्मक आउँदा निकै दङ्ग छु,’ उनले भनिन् ।

‘मलाई पागल भन्ने गर’ नामक कवितात्मक यो भिडियोमा समावेश शब्दहरू सुमन पाण्डेले लेखेका हुन् भने आवाज विकास उप्रेती र किरण भण्डारीको रहेको छ । सङ्गीत र भिडियोको निर्देशन पनि भण्डारीको नै रहेको छ ।