यहुदी-सम्पदा संरक्षण कार्यमा चुनौतीहरु छन् : गुबरम्यान

यहुदी-सम्पदा संरक्षण कार्यमा चुनौतीहरु छन् : गुबरम्यान


मनोज रिजाल, न्युयोर्क

मध्यपुर्व एसिया र उत्तर अफ्रिकाभरि २५०० भन्दा बढी यहुदी (जुइस) सम्पदाहरु छरिएर रहेका छन्, जसमा मानव वस्ती, मन्दिरदेखि सिमेटरी, गरगहना, परम्परागत पोशाक आदि समेत पर्दछन् ।

यहुदी सम्पदाहरुको संरक्षण गर्न स्थापना गरिएको दिआर्ना–जिओ प्रोजेक्टका सह–संस्थापक र संयोजक जेसन गुबरम्यानका अनुसार यहुदी सम्पदाहरुको संरक्षण गर्न असंख्य चुनौती छन्, जसमा प्रमुख चुनौतीको रूपमा आइसिस (इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया) को गतिविधि रहेको छ ।

‘आइसिसले यहुदी सम्पदाहरु नष्ट गरिरहेको छ । सिरिया र इराकमा यस्ता घटनाहरु धेरै भइसकेका छन् । यो नै अहिलेको प्रमुख चुनौती हो,’ न्युयोर्कमा अवस्थित सेन्टर फर जुइस हिस्ट्रीमा पत्रकारहरूलाई सम्बोधन गर्दै गुबरम्यानले बताउनुभयो ।

यसबाहेक, गुबरम्यानको अनुभवमा सुरक्षा खतरा र अन्य विभिन्न सामाजिक, राजनीतिक कारणले गर्दा यहुदीहरू मुस्लिम बहुल देशहरु छोडी अन्यत्र बसाईं सर्ने क्रम अत्याधिक छ ।

‘यमनमा सन् १९५० को दशकमा ५०,००० भन्दा बढि यहुदी बस्थे । अहिले यो संख्या घटेर ५० भन्दा कम छ ।’

‘यहुदी सम्पदा संरक्षण गर्न अर्को प्रमुख चुनौती भनेको उहिलेका कुरा स्मृतिमा संचित गरि राख्न सक्ने र आफ्नो अनुभव बताउन सक्ने मानिसहरुको पहिचान गर्नमा समस्या हुनु हो,’ गुबरम्यानले बताउनुभयो ।

उक्त अवसरमा कम्प्युटर प्रविधिमा आधारित नक्सांकन प्रविधि (डिजिटल म्यापिङ टेक्नोलोजी) द्वारा कसरी यहुदी सम्पदाहरुको पहिचान गरिन्छ र संरक्षण गरिएको छ भन्ने बारेमा जानकारी गराइएको थियो ।

‘हामी यहुदी सम्पदाहरुको संरक्षण कार्य यसै डिजिटल म्यापिङ प्रविधिमार्फत् गरिरहेका छौँ र कैंयन चुनौतीका बावजुद उद्देश्य प्राप्त गर्न अगाडि बढिरहेका छौं,’ गुबरम्यानले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकामा यो वर्ष मे महिनालाई सरकारी स्तरमै ‘यहुदी अमेरिकी सम्पदा महिना’ (जुइस अमेरिकन हेरिटेज मन्थ) घोषणा गरिएको छ र विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईंदै आएको छ ।

Email: [email protected]