मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि…

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि…


रोल्पामा मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परेर गर्भवती भएपछि बच्चा जन्माएकी छिन् ।

रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर समुदायकी अविवाहित ती महिलाले दुई साताअघि बच्चा जन्माएपछि नवजात बच्चाको रेखदेखमा समस्या देखिएको छ । बाबुको पहिचानबिना जन्मिएका बच्चाको भविष्यसमेत बेवारिसे बन्ने अवस्था छ ।

शिशुलाई जन्म दिए पनि रेखदेख नगरेपछि आफूहरुको पहलमा बच्चाका लागि लत्ताकपडा तथा पोषणयुक्त खानाको व्यवस्था गरिदिएको स्थानीय आमा समूहले जनाएको छ । मानसिक अवस्था ठीक नभएपछि घरबाट निस्किएर बेवारिसे बनेकी उनलाई गर्भवती बनाउनेको आफूहरुले खोजी गरिरहेको आमा समूहका अध्यक्ष मीना घर्तीले जानकारी दिइन् ।

शिशुको बाबु पहिचानका लागि जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी गरेको घर्तीले बताइन् । सुत्केरी महिलाको रेखदेख र शिशुको बाबु पहिचानका लागि आफूहरुले समेत दबाब दिइरहेको महिला अधिकारकर्मी तीर्था आचार्यले बताइन् ।

जिल्लामा बाबु पहिचान हुन नसकेका यस्ता बालबालिका सयौँको संख्यामा रहेको बताइएको छ । बाबु पहिचान नहुँदा विद्यालय भर्ना तथा नेपाली नागरिकताको प्रमाणपत्र लिनसमेत यस्ता बालबालिका वञ्चित हुँदै आएका छन् ।

रासस