कारबाही गर्नुपर्नेलाई उत्कृष्ट पुरस्कार ?

कारबाही गर्नुपर्नेलाई उत्कृष्ट पुरस्कार ?


लागूऔषधका फरार अभियुक्तसँग साँठगाँठ गरी आफ्नै प्रहरी अधिकारीमाथि षड्यन्त्र गर्ने तथा निर्दाेषलाई फसाउने प्रहरी वृत्त, कालिमाटीका डीएसपी प्रदीप क्षेत्री ‘उत्कृष्ट’ प्रहरी अधिकारी घोषित भएका भन्दै क्षेत्रीका सहकर्मीहरूले नै असन्तुष्टि प्रकट गरेका छन् । निर्दोषलाई फसाएबापत उनले महानगरीय प्रहरी परिसर, काठमाडौंबाट पचास हजार पुरस्कार थाप्ने अवसर प्राप्त गरेका भन्दै उनीहरूले गुनासो गरेका हुन् ।

बताइएअनुसार डीएसपी क्षेत्रीले केही दिनअघि लागूऔषधका फरार अभियुक्तलाई पटकपटक आफ्नै कार्यालयमा डाकेर उससँग मिलोमतोका लागि केही कामकारबाही गरेको पाइएको छ ।

आर्थिक असुलउपरमा यदाकदा विवादमा पर्ने गरेका डीएसपी क्षेत्री पछिल्लोपटक आफ्नै प्रहरी अधिकारीलाई निलम्बन गराउन मतियारको भूमिका खेलेको पाइएको छ भने लागूऔषधका नाममा षड्यन्त्रपूर्वक फसाइएका पीडितका अभिभावकले विभिन्न निकायमा उजुरी गरेपछि यतिबेला कारबाहीको दायरामा तानिने अवस्थामा पुगेको चर्चा छ ।

क्यासिनो त दुहुनो गाई भयो नै, अन्य स्तरीय होटेल, रेस्टुरेन्ट, डिस्को तथा बारबाट समेत मासिक हात थाप्ने गरेको पाइएको छ भने अन्य व्यवसायीले पनि डीएसपी क्षेत्रीको चित्त बाध्य भएर बुझाउनुपरेको गुनासो कालिमाटी क्षेत्रमा व्यापक छ । तर, कालिमाटीबाट ५ सय मिटर हवाईदूरी पनि नरहेको महानगरीय परिसरले भने त्यत्रो जनगुनासो सुन्नुको सट्टा उसैलाई पचास हजार नगदसहित उत्कृष्ट प्रहरी अधिकारीको सूचीमा राख्दा ‘…लाई भन्दा देख्नेलाई लाज’ भएको ठानिएको छ ।

नेविसंघको राजनीतिमा सक्रिय आफ्नी श्रीमतीको पहलमा प्रहरी वृत्त, कालिमाटी पुगेका डीएसपी प्रदीप क्षेत्रीले यो पचास हजारको उत्कृष्ट पुरस्कार कुन कामबापत कस्तो मूल्याङ्कनका आधारमा पाएका रहेछन् ? महानगरीय प्रहरी परिसरमा यस्तै चर्चा–परिचर्चा भइरहेको छ ।

हेर्नुस्, पीडितका परिवारले गृह मन्त्रालयलाई गरेको उजुरी पत्र