कृषिजन्य सामग्री वितरण गर्दै रेसुङ्गा नगरपालिका

कृषिजन्य सामग्री वितरण गर्दै रेसुङ्गा नगरपालिका


गुल्मीको रेसुङ्गा नगरपालिकाले किसानलाई औजार उपकरण एवम् कृषिजन्य सामग्री हस्तान्तरण गरेको छ । कृषिमा यान्त्रिकरण गरौँ उत्पादन लागत घटाउँ भन्ने नाराका साथ नगरपालिकाअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीरणले नगरपालिकाभित्रका किसानलाई औजार उपकरण एवम् कृषिजन्य सामाग्री वितरण गरिएको हो ।

नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत अनुदानमा प्रधानमन्त्री कृषि आधुनिकरण अन्तर्गत प्रत्येक वडा स्तरमा रहेका ब्लग समितिहरुलाई हस्तान्तरण गरिएको रेसुङ्गा नगरपालिका कृषि शाखा प्राविधिक सहायक चेतनारायण पन्थीले जानकारी दिए । नगरपालिकाले विहिबार एक कार्यक्रमका बीच १० वटा समुहलाई थोपा सिंचाइँ सामाग्री र १५ वटा समुहलाई तरकारी जालीघर सामाग्रीहरु वितरण गरेको थियो ।

कृषकहरुलाई नगरपालिका उपप्रमुख सीता भण्डारीले सामग्री हस्तान्तरण गरेकी थिइन् । प्रदान गरिएका थोपा सिंचाई सामाग्री र तरकारी जालीघरको कूल रकम एक लाख भन्दा बढि लाग्ने र त्यसको ५० प्रतिशत खर्च नगरपालिकाले अनुदान दिने बताइएको छ ।

सामाग्री हस्तान्तरण गर्दै नगर उपप्रमुख भण्डारीले ५० प्रतिशत अनुदानमा पाए पनि आफ्नै करको रकमबाट पाएकाले सामाग्रीहरुबाट धेरै फाइदा लिन आग्रह गरिन् । उनले कृषकहरुको व्यवसायिकता र आधुनिकीकरणमा नगरपालिकाले आगामी दिनमा नयाँ योजनासहितका कार्यक्रमहरु ल्याउने आश्वासन पनि दिइन् । नगरभित्र रहेका कृषकहरुको कृषि व्यावसायिकतालाई विशेष ध्यान दिएर आगामी बजेटहरु पनि तयार हुने उनको भनाई थियो । नगरपालिकाले नगरभित्र १८ वटा कृषि समुहलाई मिनी टेलर पनि वितरण गरेको जनाएको छ । नगरपालिकाको ५० प्रतिशत रकम र ५० प्रतिशत कृषकको अनुदानमा प्रदान गरेको प्राविधिक सहायक पन्थीले जानकारी दिए ।