‘एकीकरण’पछिको विचित्र तरङ्ग

‘एकीकरण’पछिको विचित्र तरङ्ग


नेपालको विचित्र राजनीतिक गतिविधिको शृङ्खलामा यही जेठ ३ गते थप एक रोचक परिघटित परिस्थिति पैदा भयो । आफूलाई कम्युनिस्ट दाबी गर्दै आएका दुई नितान्त फरक सोच, शैली र चरित्रका दलले स्वअस्तित्व मेटाएर नयाँ चोला ग्रहणको घोषणा गरे । अर्थात्, निवर्तमान बनेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आफूलाई ‘नेपाल कम्युनिस्ट पार्टी’को रूपमा सार्वजनिक दाबी गरेका छन् । सम्बन्धित दुई दलका शीर्ष पात्र केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘लहड’मा एकताको यो लहर उर्लिएको देखियो ।

उल्लिखित दुईमध्ये कुनै एकले मात्र नचाहँदा ‘एकता’ सम्भव थिएन भन्ने व्याख्या–विश्लेषण हुँदै गर्दा ‘दुई नेताको लहड’ शब्द प्रयोग गरिनु अनुपयुक्त नहोला । र, ६–७ महिनादेखि एकीकरणको जबर्जस्त प्रयत्न गरिएको तर माहोल उल्टै बिग्रन थालेको ठानिएको परिवेशबीच रातारात मिलनको साइत जुराइएको सन्दर्भलाई ‘रोचक घटना’को रूपमा चित्रित गरिनु पनि सान्दर्भिक नै ठहरिएला । यतिबेला दल दर्ताको प्रक्रिया जारी रहेकोले सम्भवतः महिना–डेढ महिनामा ‘नेकपा (अन्डरलाइन)’को आधिकारिक अस्तित्व खडा हुनेछ ।

बुद्धिजीवी पनि खुसी हुने, व्यापारीले पनि हर्षबढाइँ गर्ने ! इमानदारको दर्जा पाएका पनि सन्तुष्ट, दलालमा दह्रिएका पनि प्रफुल्ल ! सामान्य नागरिक पनि आनन्दित, असामान्य लाभको तानाबाना बुन्नेहरू झनै उल्लसित ! श्रमजीवी पनि रमाउने, ठगेर खाने पनि खुसीमै झुम्ने ! एकताको घोषणापछि देखिएको विचित्र परिदृश्य हो यो । तर, के यी सब ‘कम्युनिस्ट शक्ति’ बलियो भएकै कारणले खुसी मनाइरहेका हुन् कि आ–आफ्ना खास चाहना पूर्तिको आशामा तरङ्गित बन्न पुगेका हुन् ?

एमाले–माओवादी एकतालाई ऐतिहासिक र ठूलो घटनाको रूपमा चित्रित र चर्चा गरियो, गरिँदै छ । यो एकताले नेपाली जनतामा हर्ष र उत्साहको लहर ल्याएको भनियो, भनिँदै छ । ‘इतिहासकै सबभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी’ भनेर कैयन सञ्चारमाध्यमले सम्प्रेषण गरे, गरिँदै छ । एकता गरेर रमाउने दुवै पक्षका हर्ताकर्ताहरू आफ्नो ठाउँमा छँदै छन्, नाटकीय तवरमा एकाएक सम्पन्न ‘एकीकरण’पछि गैरराजनीतिक विभिन्न तह–तप्कामा उत्पन्न रोमाञ्चक तरङ्गले दुनियाँलाई चकित तुल्याएको छ । आखिर यो खुसी, उल्लास एवम् ‘ऐतिहासिक घटना’को हौवा किन ?

कुनै पनि दल दह्रिलो बन्नु प्रजातन्त्रमा सकारात्मक नै मानिन्छ । दर्बिलो दलमाथि निगरानी गर्ने, औँला उठाउने अर्को सशक्त दलको उपस्थितिलाई झनै उपयुक्त ठानिन्छ । तर, एउटा दल दह्रो भएर दबदबा मच्चाउँदै जाने र त्यसलाई ठीक बाटोमा हिँडाउने ताकतको चाहिँ खडेरी पऱ्यो भने त्यहाँ स्वतः अधिनायकवादले शिर उठाउने खतरा रहन्छ । बनाउनेभन्दा ध्वस्त तुल्याउनेमै त्यस्तो अधिनायकीपन अग्रसर बन्यो भने देशको दुर्दशा शुरु भइहाल्छ । देश यतिबेला यस्तै एउटा खतराको सङ्घारमा उभिएको महसुस गरिन थालिएको छ ।

एमाले र माओवादी केन्द्रको एकता जुन नाटकीय आधारमा सम्पन्न गरियो, यसले सम्बन्धित दवै दलभित्रका कैयन नेता–कार्यकर्तालाई विस्मातमा पारेको छ । असन्तुष्टिका विभिन्न स्वरूप प्रकट हुन थालेका छन् । तथापि, आमदृष्टिमा चाहिँ यो एकताले सकारात्मक चर्चा नै पाएको छ । जस्तो कि, बुद्धिजीवी पनि खुसी हुने, व्यापारीले पनि हर्षबढाइँ गर्ने ! इमानदारको दर्जा पाएका पनि सन्तुष्ट, दलालमा दह्रिएका पनि प्रफुल्ल ! सामान्य नागरिक पनि आनन्दित, असामान्य लाभको तानाबाना बुन्नेहरू झनै उल्लसित ! श्रमजीवी पनि रमाउने, ठगेर खाने पनि खुसीमै झुम्ने ! एकताको घोषणापछि देखिएको विचित्र परिदृश्य हो यो । तर, के यी सब ‘कम्युनिस्ट शक्ति’ बलियो भएकै कारणले खुसी मनाइरहेका हुन् कि आ–आफ्ना खास चाहना पूर्तिको आशामा तरङ्गित बन्न पुगेका हुन् ? यो अहम् सवाल हो, जसतर्फ तानिनुपर्ने ध्यान तानिएको छैन ।

एउटा दल दह्रो भएर दबदबा मच्चाउँदै जाने र त्यसलाई ठीक बाटोमा हिँडाउने ताकतको चाहिँ खडेरी पऱ्यो भने त्यहाँ स्वतः अधिनायकवादले शिर उठाउने खतरा रहन्छ । बनाउनेभन्दा ध्वस्त तुल्याउनेमै त्यस्तो अधिनायकीपन अग्रसर बन्यो भने देशको दुर्दशा शुरु भइहाल्छ । देश यतिबेला यस्तै एउटा खतराको सङ्घारमा उभिएको महसुस गरिन थालिएको छ ।

प्रजातन्त्रमा कुनै पनि दल तथा तिनका कार्यकर्ताको सक्रियता देशको विकास, उन्नति र समृद्धिका लागि हुनुपर्छ । दल दह्रा भए देश र जनताको उन्नति पनि सहज र छिटो हुन्छ भन्ने मान्यता छ । दल वा तिनका नेतृत्वकर्तामा क्षमता, जाँगर र इमानदारी भए यो कुरा व्यवहारतः सिद्ध पनि हुन्छ । यतिबेला नेपाली समाजलाई गरिबी, अविकास, परनिर्भरताजस्ता विकारले गाँजेको छ । यस्ता अभिशापबाट मुक्तिका लागि सहमति र एकताबाट दर्बिलो बनेका दलकै जरुरत पर्छ ।

सत्तासीन दलहरूको एकतापछि खाडीमा पसिना बगाइरहेका युवाले अब छिट्टै मुलुक फर्केर सजिलै गरिखान पाइने कल्पना गर्न थालेका छन् । तमाम मतदातामा आफ्ना सपना साकार हुने आशा जागृत भएको छ । तर, जे–जस्ता पात्रको अभीष्टमा जुन प्रकारले पार्टी एकताको दृश्य मञ्चन हुन पुग्यो, यसले सिङ्गो नेपाल तथा आमनेपालीको चाहना सम्बोधन हुनेमा अहिले नै विश्वस्त हुने आधार छैनन् । कुनै नेताविशेषले व्यक्तिगत कमजोरी ढाकछोप गरी आफूलाई सुरक्षित तुल्याउन मात्र पार्टीका कार्यकर्ता तथा तमाम जनताको आँखामा धुलो हाल्ने चेष्टा गरेका हुन सक्ने अनुमान जो गरिएका छन्, यसलाई सहजै इन्कार गर्न सकिने अवस्था छैन । एमाले–माओवादी केन्द्र एकताको मर्म के हो ? यो सुस्पष्ट हुन केही समय प्रतीक्षा गर्नैपर्छ ।