नीति तथा कार्यक्रममाथि अमरेशको कडा टिप्पणी

नीति तथा कार्यक्रममाथि अमरेशको कडा टिप्पणी


सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि विभिन्न टीका–टिप्पणी जारी रहेको छ । संसदमा यसको पक्ष र विपक्षमा सांसदहरूले आफ्ना धारणा प्रस्तुत गरिरहेका छन् । यसै सिलसिलामा नेपाली काङ्ग्रेसका नेता एवम् सांसद अमरेश कुमार सिंहले सरकारको नीति तथा कार्यक्रमबारे सटिक टिप्पणीसहित आलोचना गरेका छन् ।

विहिबार संसदमा आफ्नो धारणा राख्दै सांसद सिंहले एउटा संसद भवनसमेत निर्माण गर्न नसकी भाडाको घरमा चलाउने सरकारले मुलुकलाई नै समृद्ध तुल्याउने दाबी गर्नु हास्यास्पद भएको बताए । नीति बनाउने तर त्यसलाई साकार तुल्याउन कार्यक्रम प्रस्तुत गर्न नसक्ने सरकारबाट जनताले आशा राख्नु ठू्लो भ्रम भएको तर्क सिंहको थियो । नीति तथा कार्यक्रममा सङ्घीयताको व्यवस्थापनबारे एक शब्द नबोलेको भन्दै उनले यसमा प्रधानमन्त्रीको नियत सही नभएको भन्ने सहजै प्रष्टिएको आरोप लगाए ।

चिनियाँ जहाज ल्याएर राम्रोसँग उडाउन नसकी थन्क्याइएको यथार्थलाई उपेक्षा गर्दै रेल र पानीजहाजको कुरा गर्नु हास्यास्पद मात्र नभई ठूलो विडम्बना भएको नेता सिंहको भनाई छ । कर्मचारीहरूलाई सरकारले आस्थाको आधारमा व्यवहार गरिरहेको दाबी गर्दै देशलाई समृद्ध तुल्याउँछु भन्ने सरकारले कर्मचारीको आस्था होइन क्षमता हेरेर जिम्मेवारी दिनुपर्ने सुझाव दिए । अन्यथा मुलुकलाई समृद्ध र स्वर्ग बनाउँछु भनी भाषण नगर्न प्रधानमन्त्री एवम् मन्त्रीहरूलाई उनले चेतावनी दिए ।

सांसद सिंहले भने– ‘सत्ताइस किलोमिटरको चक्रपथ बिजोग हालतमा वर्षौंदेख अलपत्र परेको नदेखी सरकार १२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग बनाउने कुरा गरिरहेको छ, यो पनि जनतालाई भ्रमित पार्ने चाल हो ।’

उनले कमिसनको खेलमा लागेर पानीजहाज र रेलका कुरा सरकारको नीति तथा कार्यक्रममा आएको दाबी गर्दै सरकारको नीति एकतिर कार्यक्रम अर्कोतिर भन्दै ब्यङ्ग्य गरे । परिवर्तनका नाममा नेपाली युवालाई खाडी पठाउने काम भएको आरोप लगाएका उनले अख्तियार प्रमुखको छनोट, सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति जस्ता ज्वलन्त मामलामा दर्शाएको लापर्वाहीपनको जति आलोचना गरे पनि नपुग्ने बताए ।