अनटिफको साधारणसभा

अनटिफको साधारणसभा


विदेशमा रहेका नेपाली तेक्वान्दोका पूर्वखेलाडी तथा प्रशिक्षकहरूको साझा संस्था युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसन (अनटिफ)को तेस्रो साधारणसभा हुने भएको छ । उक्त साधारणसभा २५ देखि २८ मेसम्म ज्योति एभरेष्ट तेक्वान्दो एसोसिएसनको प्रशिक्षण स्थलमा हुने आयोजक कमिटीले जानकारी गराएको छ ।

नेपाली तेक्वान्दो तथा खेलाडीको विकास एवम् क्षमता वृद्धिका लागि योजनाबद्ध रूपमा अनटिफलाई अगाडि बढाउने विश्वासका साथ साधारणसभाको आयोजना गर्न लागिएको हो । उक्त साधारणसभा आयोजनाका लागि पूर्व नेपाली तेक्वान्दो प्रशिक्षक तथा ज्योति एभरेष्ट तेक्वान्दो एसोसिएसनका मुख्य प्रशिक्षक लवप्रसाद गोर्खालीको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ ।

साधारणसभाले नेपाली तेक्वान्दो खेल तथा खेलाडीको विकासका सम्बन्धमा गहन विचार–विमर्श गर्ने संयोजक लवप्रसाद गोर्खालीले बताएका छन् । त्यस्तै, तेक्वान्दोको विकास र खेलाडीको क्षमता वृद्धि साधारणसभाको प्रमुख एजेन्डामध्ये हुने गोर्खालीले बताएका छन् ।

यो साधारणसभाले नयाँ नेतृत्वको समेत चयन गर्ने भएकाले सहभागिताका लागि सम्बन्धित सबैलाई निमन्त्रणा पठाइएको छ । साधारणसभा र त्यसपछिका कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिको गठन गरिसकेको अनटिफका सदस्य तथा तेक्वान्दो प्रशिक्षक जगनलाल श्रेष्ठ ‘विपन’ले जानकारी गराएका छन् ।

त्यस्तै जगनलाल श्रेष्ठकै संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । बसोवास व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी नारायण भट्टराईले पाएका छन् । त्यस्तै, मोहन पौडेललाई भोजन व्यवस्थापन उपसमितिको संयोजक बनाइएको छ । स्वागत उपसमितिको संयोजकमा महेश थापा रहेका छन् । त्यसैगरी सांस्कृतिक कार्यक्रम एवम् खेल प्रदर्शन उपसमितिको जिम्मेवारी छवि लामिछाने र अमुल गोर्खालीले संयुक्त रूपमा पाएका छन् ।

त्यस्तै साधारणसभा दर्ता एवम् स्वयम्सेवक उपसमितिको संयोजकमा शुभमजंग केसी रहेका छन् भने तस्बिर तथा भिडियो उपसमितिको जिम्मेवारी आशिष श्रेष्ठ र आशिष लामिछानेले संयुक्त रूपमा पाएका छन् । त्यसैगरी सञ्चार उपसमितिको जिम्मेवारी राजु थापालाई दिइएको छ ।