जनप्रतिनिधिलाई एकीकृत सम्पत्ति कर तालिम

जनप्रतिनिधिलाई एकीकृत सम्पत्ति कर तालिम


लमजुङका गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई एकीकृत सम्पत्ति करसम्बन्धी तालिम दिन थालिएको छ । जिल्ला समन्वय समितिले जनप्रतिनिधि र कर्मचारीलाई एकीकृत कर सम्बन्धी तालिम दिन थालेको हो ।

स्थानीय तहले एकीकत सम्पत्ति कर उठाउने अधिकार संविधानले दिएपछि जनप्रतिनिधि र कर्मचारीलाई यसबारे जानकारी गराउनुका साथै एकीकृत सम्पत्ति कर उठाउने सन्दर्भमा तालिम दिइएको हो । जिल्ला समन्वय समितिले जिल्लामा पहिलो पटक क्व्होलासोंथर, मस्र्याङदी र दोर्दी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वडाअध्यक्ष तथा वडा सदस्यहरु रहेका छन् । यस्तै, स्थानीय तहका कर्मचारी पनि तालिममा सहभागि छन् । बुधबारबाट सुरु भएको उक्त तालिम शुक्रबार सकिनेछ ।

जिल्ला समन्वय अधिकारी डिल्लीराम सिग्देलले दूधपोखरी गाउँपालिका र मध्यनेपाल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई यथास्थानमै गएर तालिम दिने बताए । उनले बेंसीसहर, सुन्दरबजार र राइनास नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू भइसकेको र आगामी आर्थिक बर्षदेखि एकीकृत सम्पत्ति कर लागू गर्ने स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिएको बताए ।

तालिम दिएपछि जनप्रतिनिधि र कर्मचारीले यसबारे बुझ्ने र एकीकृत सम्पत्ति कर उठाउन सहज हुने उनले जानकारी दिए । तालिममा स्रोतब्यक्तिहरु जिल्ला समन्वय अधिकारी डिल्लीराम सिग्देल साथैहरु अन्जन न्यौपाने र मेघेन्द्र पोखरेलले सहजीकरण गरेका छन् ।

सहभागीलाई एकीकृत सम्पत्ति करको परिचय, यसको अवधारणा, स्थानीय तहले एकीकृत सम्पत्ति कर लगाउनुको औचित्य र महत्वबारे स्रोतब्यक्तिहरुले जानकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले संघीयता कार्यान्वयन र स्थानीय तहको आन्तरिक स्रोतका लागि एकीकृत सम्पत्ति कर लागू गर्नुपर्ने बताए । हिजो लिइँदै आएको करलाई एकीकृत गरी लिने र यसबाट नागरिकलाई पनि सहज हुने भएकाले यसलाई पूर्ण रुपमा पालना गरिनुपर्नेमा उनले जोड दिए । संघीयता कार्यान्वयनको क्रममा सवैले सिक्दै, बुझ्दै र कार्यान्वयन गर्दैको अवस्था रहेको र कर्मचारी थोरै भएको अवस्थामा कामलाई चुस्तु दुरस्त बनाउन सकिए राम्रो अभ्यास हुने बताए । तालिमको उद्घाटन कार्यक्रम जिल्ला समन्वय समितिका समन्वय अधिकारी डिल्लीराम सिग्देलको अध्यक्षतामा भएको थियो ।

जिल्ला समन्वय समितिले यसअघि राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका र सुन्दरबजार साथै दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधि र कर्मचारीलाई योजना र बजेट सम्बन्धी २ दिन तालिम सम्बन्धित ठाउँमै गएर दिएको थियो ।

यस्तै, ८ वटै स्थानीय तहका न्याययिक समितिलाई जिल्ला समन्वय समन्व्य समितिले ३ दिने तालिम समेत दिएको जिल्ला समन्वय अधिकारी डिल्लीराम सिग्देलले बताए ।