पार्टी एकीकरणबाट को पीडित, को लाभान्वित ?

पार्टी एकीकरणबाट को पीडित, को लाभान्वित ?


नेकपा एमाले र माओवादीबीचको एकतालाई समग्रमा सकारात्मक रूपमा लिइएको भए पनि यसबाट दुवै खेमाका एकथरी नेतालाई लाभ र अर्काथरीलाई तत्कालका लागि हानि भएको देखिएको छ । एकताबाट देश, जनता र प्रजातान्त्रिक आन्दोलनलाई के–कस्ता लाभ या क्षति पुग्ने हो, त्यसको परिणामबारे भविष्यमा विचार–विमर्श हुँदै गर्ला, तत्काल भने केही नेतालाई लाभ र केहीलाई क्षति पुगेको छ ।

एकीकरणबाट सबैभन्दा ठूलो लाभ पूर्वअर्थमन्त्री एवम् नेता विष्णु पौडेललाई मिलेको छ । पौडेल नौजनाको हाइकमान्डमा मात्र परेनन्, एकीकृत पार्टीको महासचिव नै बनाइएका छन् । एकीकरण प्रक्रियामा सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्ने पौडेलले महासचिवको जिम्मेवारी पाएपछि उनले राजनीतिमा छलाङ मारेको आममानिसले समेत ठानेका छन् ।

पार्टी एकताका निम्ति शुरुदेखि नै सक्रिय रहँदै आएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी प्राप्त हुनु स्वाभाविक मानिए पनि कतिपयले श्रेष्ठलाई समेत एकताबाट लाभ हासिल भएको टिप्पणी गरेका छन् । पार्टी एकीकरणले सरकारलाई स्थिर तुल्याउन सहयोग पुऱ्याउने हुँदा यसबाट प्रधानमन्त्री केपी ओली पनि तत्कालका निम्ति लाभान्वित भएका छन् ।

त्यसैगरी ठूलो पार्टीको सहअध्यक्ष हुन पाएकोमा प्रचण्डसमेत लाभान्वित भएको ठानिएको छ । तर, एकताबाट सबैभन्दा ठूलो क्षति भने रक्षामन्त्री ईश्वर पोखरेललाई भएको छ । चाहेको मन्त्रालय नपाएर त्यसै पनि लघुताभाषको अवस्थाबाट गुज्रिएका पोखरेलले आफूसँग भएको पदसमेत गुमाएका छन् । ईश्वर पोखरेल के कारणले यसरी खेदाइमा परेका हुन् स्पष्ट भइसकेको छैन । उनी अविश्वसनीय भएकोले ओलीले टाढा राख्न चाहेको बताउन थालिएको छ ।

अर्का नेता सुरेन्द्र पाण्डेलाई दुई भोटभन्दा बढी मतले महासचिवमा चुनाव जितेका पोखरेलले गुमाएको महासचिव पद एक तहमुनिको उपमहासचिव विष्णु पौडेललाई प्राप्त भएपछि पोखरेलको कद घटेको र उनी थप ‘ह्युमिलिएटेड’ भएको ठानिएको छ । यीबाहेक नेताहरू भीम रावल, जनार्दन शर्मा, घनश्याम भुसाल र योगेश भट्टराईलाई पनि एकतापीडितका रूपमा लिइएको छ ।

त्यसो त पूर्वप्रधानमन्त्री एवम् पूर्वअध्यक्ष झलनाथ खनालले पनि मर्यादाक्रम नमिलाएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । आफूलाई भन्दा माधवकुमार नेपाललाई वरीयताक्रममा राखिनु खनालका निम्ति दुःख र असन्तुष्टिको कारण बन्न पुगेको छ । कतिपयले पूर्वअर्थमन्त्रीसमेत रहेका नेता सुरेन्द्र पाण्डेलाई पनि एकतापीडितका रूपमा लिएको पाइएको छ ।