स्वास्थ्य सेवामा ‘पाँडे-पजनी’ !

स्वास्थ्य सेवामा ‘पाँडे-पजनी’ !


सुशासनको नारा दिने कम्युनिस्ट सरकारले मौजुदा ऐन नियमावलीलाई तिलाञ्जली दिएर स्वास्थ्य सेवा विभागमा पाँडेपजनी शुरु गरेको भन्दै सम्बद्ध कर्मचारीहरूले दुःखेसो गर्न थालेका छन् । बताइएअनुसार इलामबाट काठमाडौं आएको दुई वर्ष नपुगेका राजकुमार पोखरेललाई गोरखा सरुवा गरिएको छ । उमेर अवधि ५७ वर्ष भएका कर्मचारीलाई निजले नमागेको अवस्थामा दुर्गम सरुवा गरिँदैन ।

भक्तपुरबाट केशवराज पण्डितलाई दाङ सरुवा गरिएको छ भने प्रजातान्त्रिक जनस्वास्थ्य सङ्घका निवर्तमान अध्यक्ष डिल्लीरमण अधिकारीलाई पाल्पा लखेटिएको छ । स्वास्थ्य मन्त्रालयबाट भीम सापकोटालाई नवलपरासी खेदिएको छ । स्वास्थ्य शिक्षा सूचना केन्द्रबाट कुन्ज जोशीलाई सुर्खेत धपाइएको छ । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव शंकर पाण्डे मुटुसम्बन्धी बिरामी भए तापनि बालस्वास्थ्य महाशाखाबाट काज फिर्ता गरिएको छ । जब कि बालस्वास्थ्य महाशाखा खोप शाखा व्यवस्थापन महाशाखाको विपन्न शाखामा वामपन्थी विचारका कर्मचारीहरू काजमा बसिरहेका छन् ।

यतिबेला राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड पूर्वएमालेको पार्टी कार्यालय भएको छ । प्रजातन्त्रप्रति आस्थावान् विष्णु पोखरेल, नवराज श्रेष्ठलगायतको बिनाकारण काज फिर्ता गरिएको छ । उनीहरूको स्थानमा मन्त्रालयबाट आफ्ना आस्थावाला कार्यकर्ता काजमा राखिएको छ ।

स्वास्थ्य सेवा विभागमा डा. गुणराज लोहनीले सुदृढ नेतृत्व देखाउन सकेका छैनन् । उनलाई हरेक कार्यमा आफूलाई ‘माओवादी’ बताउने चूडामणि भण्डारीले हस्तक्षेप गरेका छन् । व्यवस्थापन महाशाखाले नवीकरण गर्नुपर्ने दुई सय शय्यासम्मको निजी तथा गैरसरकारी अस्पतालको नवीकरण क्षमता विस्तारलगायतका निर्णय सदर गर्दा रकमको चलखेल हुने गरेको छ । स्वास्थ्य सेवा विभागलाई वार्षिक लक्ष्य तोकिएको कार्य औषधि खरिद, यन्त्र–उपकरण खरिद समयमा सम्पन्न हुन सकेको छैन । स्वास्थ्य सेवा विभागमा दाताहरूको लडाइँ र रजाइँ चलेको छ । खोप आपूर्तिसम्बन्धी अनलाइन प्रतिवेदन युनिसेफको सहयोगमा लाइफलाइन नामक संस्थाले सबैलाई तालिम दिएर अनलाइन प्रतिवेदन कार्यान्वयनमा आइसकेको थियो । तर, क्यामोनिक्स पीएसएम बिलिटा नामक यूएसआईडीको सहयोगमा सञ्चालित संस्थाले खोप आपूर्ति कार्यक्रमको सर्भर नै बन्द गरिदियो र आफ्नो प्रविधि प्रयोग गर्न बाध्य बनायो । शुरुमा इलएमआइएस प्रतिवेदन प्रणालीबाट धेरै वर्ष परियोजना चलाएको यूएसएडले हाल आएर मोबाइल प्रतिवेदन प्रणाली बनाएर नयाँ परियोजना खडा गरेको छ । यो परियोजनाबाट नेपाल पक्षलाई कुनै पनि फाइदा छैन ।

सुशासन दिने प्रधानमन्त्रीको प्रतिबद्धता भए तापनि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले विपरीत कार्य गरेकी छन् । स्वास्थ्यमन्त्रीले प्रयोग गर्ने ८४७५ नम्बरको प्राडो गाडीको अतिरिक्त स्वास्थ्य सेवा विभागको ७२६५ प्राडो पनि मन्त्रीले प्रयोग गरेकी छन् । मन्त्री र सचिवद्वय प्राडो गाडीका लोभी छन् । स्वास्थ्य मन्त्रालयमा चिकित्सकहरूको पदस्थापनलगायत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कार्यहरूलाई तिलाञ्जली दिएर जम्बो टोली लिई मन्त्री जेनेभा सयरमा गएकी छिन् । उच्चस्तरीय भ्रमण दलमा नेकपानिकट राष्ट्रिय चिकित्सक सङ्घका अध्यक्ष डा. सन्तोष पौडेल पनि साथमै छन् । हाड रोग विशेषज्ञको त्यति भूमिका देखिँदैन ।

संविधानले तीन किसिमका संरचनाको कल्पना गरे पनि हालसम्म स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको मात्र संरचना पास भएको छ । प्रदेशस्तरको र स्थानीय तहको संरचना निर्माण भएको छैन । महेन्द्र श्रेष्ठ र मोहमद दाउदले मन्त्रालय तथा विभागमा जनस्वास्थ्य हेइ समूहलाई फाइदा हुने गरी संरचना सिफारिस गरी मन्त्रिपरिषद्बाट पास गराएकोमा अन्य समूहका कर्मचारीहरू अति रुष्ट बन्न पुगेका छन् ।