भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरीवासीको योगदान

भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरीवासीको योगदान


– रामनारायण देव, सप्तरी

भारतमा अङ्ग्रेजले करिब दुई सय वर्षसम्म निरङ्कुश शासन गरेका थिए । भारतलाई निरङ्कुश अङ्ग्रेजको शासनसत्ताबाट मुक्त गरी संसदीय लोकतन्त्र ल्याउन भारतीय नेताहरूले सन् १८५७ देखि नै आन्दोलन थालेका थिए । तर, ती आन्दोलन त्यति प्रभावकारी हुन सकिरहेका थिएनन् । भारतका अन्तिम भायसराय माउन्टवेटनले पञ्जावको जालियानावाला वागमा विद्रोहीहरूमाथि निर्दयतापूर्वक गोली चलाउँदा हजारौँ मानिसको आमहत्या भएको थियो । त्यस काण्डबाट भारतीय नेता महात्मा गान्धीलगायत निकै मर्माहत भई अङ्ग्रेजविरुद्ध अन्तिम लडाइँ लड्ने अठोट गरे ।

त्यसअनुरूप भारतीय राष्ट्रिय काङ्गे्रसका सन् १९४२ को बम्बई अधिवेशनमा महात्मा गान्धीले भारत छाड अभियान शुरु गरी भारतीय जनतालाई ‘गर कि मर’ भन्ने मूल मन्त्रसहित आन्दोलनका लागि आह्वान गरे । त्यसका लागि भारतभरि ‘जेल भरो’ अभियान लागू गरे । भारतका विभिन्न शहरहरूमा हजारौँ जनताले गिरफ्तारी दिँदै जेल भर्न थाले । त्यसैबीच अङ्ग्रेज सरकारले भारतीय नेता महात्मा गान्धी, जयप्रकाश नारायण, राममनोहर लोहिया, डा. राजेन्द्र प्रसाद, सुरजनारायण सिंह, अच्युत पट्टबर्धन, विजया पट्टबर्धन, डा. वैद्यनाथ झा, गुलावी साहलगायत हजारौँलाई गिरफ्तार गरी जेल चलान गरे । यता भारतमा रहेका नेपाली नेताहरू बीपी कोइराला, डा. डिल्लीरमण रेगमी, सूर्यप्रसाद उपाध्याय, भद्रकाली मिश्र, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईजस्ता दर्जनौँ नेता आन्दोलनको क्रममा गिरफ्तार भए ।

भारतीय समाजवादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंह र गुलाबी साहलगायतका नेताहरू हजारीवाग जेलमा बन्दी बनाइएका थिए । ती नेताहरूलाई जेलबाट निकाली नेपाल ल्याई भूमिगत रूपमा आन्दोलन सञ्चालन गर्ने योजना बनाइएका क्रातिकारी सुरजनारायण सिंहले ज्यानको जोखिम मोलेर हजारीवाग जेलको पर्खाल नाघी रातारात नेपालको सप्तरी जिल्लास्थित कोइलाडी बरसाइन गाउँस्थित रामेश्वरप्रसाद सिंहको घरमा ल्याए । रामेश्वर बाबु भारतमा अध्यनरत रहँदा भारतीय स्वतन्त्रता आन्दोलनसित आबद्ध थिए । साथै भारतीय समाजवादी नेता सुरजनारायण सिंहका सम्बन्धित पनि थिए । त्यसैले भारतीय नेताहरू एउटा विश्वस्त व्यक्तित्वको घरमा आई आश्रय लिए । रामेश्वर बाबुले ती भारतीय नेताहरूलाई भूमिगत रूपमा बस व्यवस्था मिलाएका थिए । उहाँले आफ्नो घर बरसाइनको नजिकै बनरझुलामा एउटा अस्थायी घर बनाई सबै भारतीय नेता र कार्यकर्ताहरूलाई सुरक्षा पहरा दिएर राखेका थिए । खासगरी ठूलो नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहियाहरूलाई विशेष सुरक्षा दिइराखेका थिए ।

उहाँको घरमा त्योभन्दा अघि नै बिहार भागलपुर जिल्लाका शालिग्राम सिंह, कार्तिकप्रसाद सिंहलगायत सयौँ नेता तथा कार्यकर्ता आई आश्रय लिसकेका थिए । ती भारतीय नेताहरू बसेको ठाउँ सप्तरी जिल्लाको मुख्यालय हनुमाननगरनजिक भएको हुनाले राणा शासकले थाहा पाएमा सबैलाई गिरफ्तार गर्ने एकातिर डर थियो भने अर्कोतिर राणाका वफादार स्थानीय जमिनदारले राणाशासकलाई खबर पुऱ्याउँछ कि भन्ने पनि डर थियो । त्यसैले रामेश्वर बाबुले ती भारतीय नेताहरूलाई आफ्नो कामत जमिनदारी भएको मौजा कोसीपारि कुसहा बक्रो टप्पुमा सानो टहराको आश्रम बनाई रातारात त्यहाँ पठाए ।

ठूला नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहियाहरूलाई त्यहाँ पठाए भने अर्को समूहले आजाद दस्ता तयार गरी सप्तरीको पचिश्मी इलाका कुसहा बजारदेखि उत्तर चुरे पहाडको फेदीमा रहेको सुरुङ्गा जङ्गलमा गुरिल्ला वारको ट्रेनिङ दिन पठाए । करिब तीन दर्जनमा रहेका युवाहरूलाई सरदार नित्यानन्द सिंहले ट्रेनिङ दिइरहेका थिए । त्यहाँ बेतारको तार जोडी भारतीय क्रान्तिकारीहरूसित सीधै संवादको व्यवस्था गरेका थिए । नेपालमा रहेको भारतीय आन्दोलनकारी तथा भारतमै आन्दोलनरत क्रान्तिकारीहरूसित घटनाको आदान—प्रदान भइराखेको थियो ।

यसरी अङ्ग्रेजविरुद्धको आन्दोलन नेपालको सप्तरीबाट भूमिगत रूपमा सञ्चालन भई भारतीय आन्दोलनकारीहरूलाई ठूलो हैसला प्रदान गरेको थियो । यसैबीच हनुमाननगरस्थित राणाका बडाहाकिमलाई कोसीपारि कुसहा बक्रो टप्पुमा भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, डा. वैद्यनाथ झा, विजया पट्टबर्धनहरू बसेको कुरा आफ्ना गुप्तचरहरूबाट थाहा पाए । यो कुरा थाहा पाएपछि राणाशासकका बडाहाकिमले विशेष सेना पठाई तिनीहरूलाई गिरफ्तार गरी हनुमानगर जेलमा ल्याई बन्दी बनाए । यो कुरा पूरै सप्तरी जिल्लाभरि फैलियो । सयौँ सङ्ख्यामा मानिसहरू सप्तरीका गाउँगाउँबाट हनुमाननगर पुगे ।

उता सप्तरीको पश्चिमी भेगको सुरुङ्गा जङ्गलमा गुरिल्ला ट्रेनिङ लिइरहेका आजाद दस्ताका जवानहरूलाई पनि यो कुरा थाहा भयो । ती जवानहरू रातारात सप्तरीको कोइलाडी बरसाइनको रामेश्वर बाबुको घरमा पुगी गिरफ्तार भएका भारतीय नेताहरूलाई हनुमाननगर जेलबाट कसरी निकाल्ने भनी सल्लाह गर्न थाले । भारतीय आन्दोलनकारीहरूलाई हनुमाननगर जेलको स्थितिबारे थाहा नहुँदा रामेश्वर बाबुले पथप्रदर्शकको रूपमा आफ्नो भतिजो तारिणीप्रसाद सिंहलाई सँगै पठाए । ती आन्दोलनकारीहरूसँगै स्थानीय युवाहरू उहाँको नेतृत्वमा हनुमाननगर जेल तोड्नतिर लागे ।

हनुमाननगर पुग्नेबित्तिकै आन्दोलनकारीहरूले सर्वप्रथम जेलनजिक रहेको फुसको घरहरूमा आगो लगाए । आगो दन्किएपछि सबै पुलिस र सेनाका जवानहरू आगो निभाउनतिर दौडे । यसैबीच सरदार नित्यानन्द सिंहले हनुमाननगर जेलमाथि गोली चलाए । त्यहाँ ड्युटीमा रहेका सेन्ट्री पुलिस जनार्दन झाको घटनास्थलमै मृत्यु भयो भने अर्को पुलिस जवान पनि घाइते भयो । त्यहाँ रहेका आकाशवाणी लाइनको तार काटियो । साथै नजिक रहेको बडाहाकिमको निवासमा बलिरहेको लालटिनलाई पनि गोलीको निसाना बनाइयो । बडाहाकिम निवासबाट बाहिर गई लुक्न थाले ।

त्यसैबीच आन्दोलनकारीहरूले जेलको ढोका तोडी भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहियाहरूलाई निकाले । तिनीहरूलाई रातारात नजिक रहेको भारतीय सीमा पार गराए । यसरी सप्तरीवासीहरूले भारतीय नेताहरूलाई हनुमाननगर जेल तोडी राणाशासकविरुद्ध पहिलोपटक गोली चलाए । स्वतन्त्रता र प्रजातन्त्रको विगुल फुके । यो हनुमाननगर काण्ड विक्रम सम्वत् २००० साल जेठ ९ गते अर्थात् सन् १९४३ मे २३ तारिखका दिन भएको हुनाले सप्तरीवासीहरूका लागि यो दिन गौरवशाली इतिहास बनेको छ ।

यस काण्डमा राणाशासकहरूले रामेश्वरप्रसाद सिंह, तारिणीप्रसाद सिंह, जयमंगलप्रसाद सिंह, कृष्णवीर कामी, अब्दुल मियाँ, कमानन्द मिश्र, जमुनाप्रसाद सिंह, चतुरानन्द सिंहलगायत एक दर्जनलाई केन्द्रीय कारागार काठमाडौंमा बन्दी बनाए भने कैयौँमाथि मुद्दा चलाए । केन्द्रीय कारागारमै तारिणीप्रसाद सिंह र कृष्णवीर कामीको मृत्यु भई उनीहरू शहीद भए भने कैयौँ जेलबाट मुक्त भएर पनि सिकिस्त बिरामी भई मृत्युवरण गरे । यसरी भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरीवासीले पुऱ्याएको योगदान महत्वपूर्ण रहेको छ । ती स्वतन्त्रता सेनानीहरूलाई भारत सरकारले उचित मूल्याङ्कन गरी मरणोपरान्त तिनीहरूलाई शहीद घोषणा गरी आश्रित परिवारहरूलाई भरणपोषणको व्यवस्था गर्न भारतको कर्तव्य हुन आउँछ ।