तेस्रो नजर

तेस्रो नजर


pathakmanchत्रिविमा नेताको छाप र भगवान डाक्टरको राजीनामा
उपत्यकालाई सफा राख्ने भनी काठमाडौं महानगरपालिकाबाट विभिन्न होर्डिङबोर्डहरू हटाउन थालेको सुनिन्छ । यसैगरी त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ‘राजनीतिक होर्डिङबोर्ड’ हटाउने पनि कुनै ‘पालिका’ आइदिए नेपाली जनताले कति राहत पाउँथे होलान् ! सन्दर्भ प्राध्यापक डा. भगवान कोइरालाको राजीनामा प्रकरणसँग सम्बन्धित छ । त्रिवि शिक्षण अस्पतालका कर्मचारी भएका नाताले डा. भगवान कोइरालाको राजीनामा प्रकरणसँग सम्बन्धित एक विषयमा दुई लाइन लेख्न मन लाग्यो ।
डा. कोइराला निर्देशक भएर अस्पताल आउँदा हामी कर्मचारी निकै खुसी थियौँ । तर, माथि भनिएझैँ राजनीतिक होर्डिङबोर्डको सिकार बन्न बाध्य बनाइएका प्रा.डा. कोइराला राजीनामा दिई आराम गरिरहनुभएको छ । भगवानजस्ता डाक्टर कोइरालाका तर्फ कति जनता र कर्मचारीको सहयोग छ भन्ने कुरा यसमा लेखिरहनु नै पर्दैन, यो पाटो अलग छ । एउटै स्वामित्व भएको शिक्षण अस्पतालमा भिन्न–भिन्न पार्टीका नेताको नामाकरण गरी भवनहरू बनाइनुमा के अर्थ छ ? हामीले बुझ्न सकेनौँ । जस्तो कि, बीपी कोइराला आँखा अस्पताल, गणेशमान सिंह नाक कान घाँटी अस्पताल, मनमोहन अस्पताल, सुरेश वाग्ले क्यान्सर अस्पताल आदि नाममा भवन निर्मित तथा सञ्चालित छन् । के उल्लिखित नामधारी व्यक्तिका परिवारका सदस्यले आफ्नै पकेटबाट बनाएका हुन् ती भवन ? अथवा, त्रिविभित्र जसले जे गरे पनि हुन्छ भन्ने हो कि ? होइन भने यसरी होर्डिङबोर्ड राखेर प्रचार गर्नुपर्ने किन ? बुफ्न सकिएन । अनि, यस्ता बेथितिप्रति असहमति जनाउने डा. कोइरालाको इमानदारीमाथि प्रहार किन ?
डा. भगवान कोइरालाज्यूसँग पनि गुनासो छ । तपाईंजस्तो केही बुझेको र केही गर्न सक्ने व्यक्ति किन यति चाँडै हार खानुहुन्छ ? झुकेर होइन लडेर आउनुहोस्, हामी कर्मचारी तपाईंको साथमा छौँ ।
– दामोदर पौडेल, त्रिवि शिक्षण अस्पताल

हिमालय फाइनान्सले उपभोक्ता ठग्यो
नेपाल राष्ट्र बैंकले विगत केही समययता बैंकिङ कसुर गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही गर्दै आएकोमा हिमालय फाइनान्सले पनि वित्तीय अपराध गरेअनुरूप कारबाही भोग्दै आएको छ । फाइनान्सका अध्यक्ष हिमालयभक्त प्रधानाङ्ग लगायत अन्य अधिकारी पनि उक्त कारबाहीमा परेका छन् ।
यसैबीच हिमालय फाइनान्ससँग आबद्ध निक्षेपकर्ताहरू सङ्गठित भएर आफ्नो निक्षेप उठाउन लागिपरेका छन् । उक्त फाइनान्समा कार्यरत कर्मचारीले आफूनिकट निक्षेपकर्तालाई निक्षेपमा रहेको रकम फिर्ता दिने र अन्य निक्षेपकर्तालाई हाकिम नभएकोले दिन नमिल्ने बताउँदै आएको पीडित निक्षेपकर्ताले बताएका छन् । फाइनान्सका कर्मचारीहरू रमेश आचार्य, दुर्गा भण्डारी, शालिकराम कुइँकेललगायतले मनोपोली रूपमा ऋणीहरूसँग रकम उठाउने र आफूनजिकका निक्षेपकर्ताहरूसँग कमिसन लिएर रकम भुक्तानी दिने गरेको पीडित पक्षले बताएका छन् । ऋणीहरूलाई पनि फाइनान्सका कर्मचारीले धम्की दिँदै ऋण असुलउपर गर्ने गरेको ऋणी रतनलाल रौनियारको भनाइ रहेको छ । हिमालय फाइनान्स यस्तै कर्मचारीहरूका कारण झन् जर्जर बन्दै गएको निक्षेपकर्ता र ऋणीहरूले बताउँदै आएका छन् ।
स्मरण रहोस् आफूलाई चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष दाबी गर्ने हिमालयन फाइनान्सका मालिक हिमालयभक्त प्रधानाङ्ग आर्थिक हिनामिनाको अभियोगमा गत माघमा हनुमानढोका प्रहरी खोरमा थुनिएका थिए ।
– बैकुण्ठ नेपाल