सुन तस्करीको डरलाग्दो जालो खुल्दै

सुन तस्करीको डरलाग्दो जालो खुल्दै


मंगलबार बिहान जब सुन तस्कर तथा व्यक्तिहत्याका अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परे, लगत्तै शुरु भो तस्करहरूको जालो च्यातिने उपक्रम । गोरेको पक्राउले सुन तस्करीमा संलग्न तस्करहरूको विस्तृत रहस्य खुल्न सक्ने प्रहरी अधिकारीहरूले जनाएका छन् ।

सुन तस्करीको शृङ्खलामा पछिल्लोपटक एकाएक चर्चित बन्न पुगेका गोरे ३३ किलो सुन प्रकरणसँग जोडिएका मुख्य पात्र हुन् । आफ्नै साथी सनम शाक्यको हत्याका मुख्य अभियुक्तसमेत रहेका उनी पक्राउ परेपछि थप विवरण प्राप्त हुनेमा प्रहरी विश्वस्त छ ।

गृह मन्त्रालयका सहसचिव एवम् ३३ केजी सुन प्रकरण र सनम हत्या प्रकरण छानबिन गर्न गठित टोलीका संयोजक सहसचिव ईश्वर पौडेलले लामो अनुसन्धानपछि गोरे पक्राउ गर्न सफल भएको जानकारी दिए । मंगलबार बिहान करिब साढे पाँच बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिँदै उनले गोरेलाई मंगलबार साँझ नै मोरङ अदालतमा बुझाइएको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन हराएपछि गोरेकै साथी सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो । घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन समितिले गोरेसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा यसअघि नै मुद्दा दायर गरेको र तीमध्ये पक्राउ परेका २९ जनाको बयान लिने कार्यसमेत सम्पन्न भएको छ । सन् २०१५ देखि हालसम्म १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रूपैयाँ १३ पैसा मूल्यबराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोबार गरेको भनेर बिगोसहितको अभियोग उनीहरूमाथि दर्ता भएको छ । गत माघ ७ गते दुबईबाट तस्करहरूले ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल काठमाडौंबाट हराएको थियो ।

यसपछि गोरे प्रहरीको खोजीसूचीमा उच्च प्राथमिकतामा थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको बताइन्छ । पछि दुबई प्रहरीमा काम गर्न पुगेका र दुबईमै रहँदा उनी सुनको अवैध कारोबारमा संलग्न रहेको सूत्र बताउँछ ।
दुबई प्रहरीमा काम गर्दा नै उनले सुन तस्करी उपायबारे जानकारी लिएको देखिन्छ । त्यसपछि दुबई प्रहरीको जागिर छाडेर सुन तस्करीलाई उनले धन्दा बनाएका थिए, जसलाई सफल बनाउन उनले प्रहरी अधिकारीसँग समेत सम्बन्ध बढाए ।

दुबई प्रहरीको जागिर छाडेपछि निरन्तर नेपाल आउजाउ गर्न थाले । नेपालमा रहेका बेला उर्लाबारीका प्रतिष्ठित भनिएकाहरूसँग ‘मन्डे होटल’मा दिनहुँ पार्टी चल्ने गरेको थियो । देखिनेगरी उनको उर्लाबारीमा डेढ बिगा जग्गा र दुईतले पक्की घर थियो । काठमाडौंको गौरीघाटमा पनि आलिसान बंगला ठड्याएका उनले बानेश्वरमा दुईवटा कोठा भाडामा लिएर सुन स्टोर गर्ने गोदाम बनाएका थिए । हाल उनका भाइ र श्रीमती दुवै यूएईमा रहेका स्रोत बताउँछ ।
गोरे पक्राउ नपर्दासम्म सञ्चारमाध्यममा आएका उनका तस्बिरमा गोरेको अनुहार सेतो अर्थात् ‘गोरो’ नै देखिन्थ्यो । गोरेलाई गृह मन्त्रालय ल्याइँदा उनको अनुहार माक्सले छोपिएको थियो । रातो क्याप र कालो माक्स लगाएका गोरे झन्डै ६ फिट अग्ला देखिन्थे । चस्मा लगाएका उनलाई गृह मन्त्रालयमा ल्याइँदा हल्का दाह्री पालेको अवस्थामा थिए ।

स्रोतका अनुसार गोरेले होटेलहरूमा आर्थिक कारोबार गर्थे । शुरुमा सनम शाक्यले गोरेको ‘एकाउन्टेन्ट’को काम गर्ने गरेका थिए । गोरेका विश्वासपात्र बनिसकेका उनले सुन तस्करीमा पनि सघाउँथे । तर, सनमले पछिल्लो समय भने गोरेसँग दूरी बढाउन खोजेपछि गोरेले ६ लाख रुपैयाँ खर्च गरेर नयाँ ‘एकाउन्टेन्ट’ झिकाएका थिए । झापाको दमकमा उनले नयाँ अखडा खोलेको भेटिएको छ । नयाँ एकाउन्टेन्टलाई गोरेले मासिक १ लाख दिने गरेका थिए । छानबिन समितिले बरामद गरेको भिडियोमा गोरे स्वयम्ले सनमलाई भनेका छन्, ‘तँ मेरो सबैभन्दा विश्वासिलो पात्र थिइस् । तँलाई कामको धेरै भार भयो भनेर नयाँ एकाउन्टेन्ट ल्याएँ । ६ लाख खर्च गरेर दमकमा अफिस राखेँ । एक लाख रुपैयाँ दिएर हिसाबकिताब हेर्ने मान्छे पनि राखेँ ।’ तर, साढे ३३ सुन हराएपछि गोरे र उनका सहयोगीले यातना दिने क्रममा सनमको मृत्यु भयो ।

सनमको हत्यापछि नै गोरे समूहको सुन तस्करीको पोल खुलेको हो । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस भइरहेको छ भने छानबिन समितिले पनि काम गरिरहेको छ । समिति अहिले गोरेको लगानीका साथै अखडा र एकाउटेन्टको खोजीमा छ । सनम जीवनमा निशाको प्रवेशपछि उनी गोरेसँग टाढिए । त्यही बेला तस्करी गरेर ल्याएको सुन हराएपछि उनी गोरेको निशानामा परे र ज्यान गुमाए । निशाले सनमलाई जोखिमको काम छाड्न पटकपटक चेतावनी दिएकी थिइन् । त्यही क्रममा उनीहरूबीच थुप्रैपटक विवादसमेत भएको थियो ।

सुन हराएपछि उनले तस्करीमा संलग्नहरूलाई नियन्त्रणमा दिएर विभिन्न ठाउँमा लगेर यातना दिएका थिए । गोरेले यातना दिने क्रममा भिडियोसमेत खिचेका थिए । त्यही क्रममा सनम शाक्यको मृत्यु भएपछि सुन तस्करी सार्वजनिक भएको थियो । उर्लाबारी नगरपालिका–१, कान्छीचोकदेखि उत्तरतर्फ तीन किलोमिटरभित्रको घना जङ्गलमा सनम शाक्यलगायतलाई यातना दिइएको थियो । तीनजनालाई हातखुट्टा बाँधेर भुइँमा लडाएपछि ब्याट्री र तार प्रयोग गरेर करेन्ट लगाइएको थियो । गोरेले प्रहरी अधिकारीलाई लास व्यवस्थापन गर्न ‘५ करोड’को अफर गरेका थिए । त्यसक्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली पूर्व गएको थियो र, धरानबाट शव बरामद गरेको थियो । सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको छ । जसमा बहालवालासहित ९ प्रहरी अधिकारी छन् । छानबिन समितिका अनुसार दुबईबाट सुन ल्याउने काम टेकराज मल्ल ठकुरीले गर्दै आएका थिए । उनी गोरेका दाहिने हात थिए ।

टेकराजका अनुसार भोजे मामा भन्ने भोजराज भण्डारी, सुरेन्द्र गौतम, टुकबहादुर मगर, रुस्तम मियाँ, रोहित आचार्य, दावा शेर्पा, लाक्पा शेर्पा, कृष्ण बस्नेत, सनम शाक्य, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की, भविन राई, सानु बन, एल.बी. मगर, तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङ, खत्री भन्ने बालकृष्ण, एमके अग्रवाल, चाचा जी भन्ने व्यक्ति, सञ्जय खरेल, शिवानी खरेल, समीर अधिकारी, सञ्जय अधिकारी, शिवकुमार गुभाजु, चेतन भण्डारी, माधव घिमिरे सुन तस्करीमा सक्रिय थिए । पछिल्लोपटक माघ ९ गते उनी र रोहित आचार्यले दुबईबाट साढे ३३ किलो सुन ल्याएका थिए । त्यसक्रममा गोरेले सिलिगुढीमा भेटेर आफ्नो समूहका थुप्रैलाई कुटपिट गरे । अन्तिममा मोहन काफ्ले, सनम शाक्य, रुस्तम मियाँ, नरेन्द्र कार्कीमाथि शङ्का बढेपछि गोरे टिम फागुन १३ गते दमकमा रहेको कामक्ष होटेलमा भेला भएका थिए । उनीहरूलाई गोरे आफैँले पाइपले पिटेका थिए र करेन्ट लगाउने क्रममा सनमको मृत्यु भएको टेकराजको बयानमा उल्लेख छ ।