दक्षिण भरतमा निपा भाइरसका कारण दशको मृत्यु

दक्षिण भरतमा निपा भाइरसका कारण दशको मृत्यु


दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्यमन्त्री के के सैलजाले जानकारी दिएका छन् ।

मन्त्री सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मङ्गलबार अपरान्ह्सम्म हामीले शङ्कास्पद १८ नमूनाहरू परीक्षण गरिसकेका छौँ । जसमध्ये १२ नमूनामा निपा भाइरसको सङ्क्रमण भेटिएको छ । सङ्क्रमित १२ मध्येमा १० जनाको मृत्यु भएको छ भने दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।’

विगत २४ घण्टामा निपाको सङ्क्रमण भएका कुनै नयाँ विरामी अस्पतालमा आएको जानकारी छैन, उनले भने ।

मङगलबार बिहान प्राणघातक निपा भाइरसको सङ्क्रमण भै कोझिकोडे मेडिकल कलेज अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको थियो ।

मन्त्री सैलाजाले सोमबार दिएको जानकारी अनुसार निपा भाइरसबाट सङ्क्रमित विरामी एक्कासी देखा परेको र यो विरामीसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिएको बताउनुभएको थियो । रोगको प्रकोपको समस्या अहिले नियन्त्रणमा आइसकेको र कुनै पनि निपा सङ्क्रमित रोगीको भारतीय सबै अस्पतालहरूमा उपचार गर्नेगरी व्यवस्था गरिएको उनले बताए ।

मुख्यमन्त्री पिनरायी भिजयनले पनि निपाको सङ्क्रमण भेटिएसँगै राज्य सरकारद्वारा निकटमा रहेर समस्याबारे अनुगमन गरिरहेको र यसलाई थप फैलिन नदिन आवश्यक कदम चालिसकेको बताउनुभयो ।

निपाको सङ्क्रमणको बिषयलाई साबधानीसाथ लिँदै संघीय सरकारका स्वास्थ्य मन्त्री जे पी नाडाले छ विशेषज्ञ चिकित्सक रहेको एक समूह बनाई निपाको प्रकोपबारे छानविन गर्न निर्देशन दिएका छन् ।

(एएनआई/रासस)