पर्यटन प्रवर्धनका लागि चिनियाँ भाषामा बन्यो वेबसाइट

पर्यटन प्रवर्धनका लागि चिनियाँ भाषामा बन्यो वेबसाइट


चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषामा वेबसाइट बनाएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले संयुक्त रूपमा वेबसाइट सार्वजनिक गरेका हुन् ।

वेबसाइटमा नेपालका चर्चित गन्तव्यहरूको फोटोसहित त्यसको विवरण चिनियाँ भाषामा उल्लेख छ । विगत केही वर्षदेखि गुणात्मक रूपमा चिनियाँ पर्यटक बढेको र नेपालको सबैभन्दा ठूलो र सीमा जोडएको पर्यटन बजारमध्ये एक रहेको चीनबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउन वेबसाइट सहयोगी हुने नेपाल पर्यटन बोर्डको विश्वास छ ।

नेपालले सन् ०३० सम्म ५० लाख पर्यटक भित्र्याउने र नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटनको हिस्सा वृद्धि गर्ने लक्ष्य रहेको बताउँदै यसमा चिनियाँ पर्यटक आगमनले महत्वपूर्ण प्रभाव पार्ने बताउँदै अधिकारीले छिमेकी मुलुक चीनबाट आउने पर्यटकको सहजीकरणका लागि वेबसाइट सहयोगी हुने सो अवसरमा बताए।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपालको पर्यटन विकासका लागि पूर्वाधारमा केन्द्रित हुन सुझाब दिइन् । नेपाल र चीनबीच नागरिकस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै होङले जति धेरै पर्यटनमैत्री वातावरण बनाउन सक्यो त्यति नै बढी सङ्ख्यामा पर्यटक आउने उनको भनाइ थियो । अङ्ग्रेजी भाषाबाहेक तेस्रो मुलुकको भाषामा वेबसाइट निर्माण गरिएको यो पहिलो भएको बोर्डले जनाएको छ।

बोर्डले सोमबार नै सातवटै प्रदेशका चर्चित गन्तव्यलाई समेटेको प्रवद्र्धनात्मक भिडियो सार्वजनिक गर्दै देश घुमौँ भन्ने नारासहित सबै प्रदेशका गन्तव्यलाई प्रवद्र्धनात्मक भिडियोमा समेटेको थियो ।

चीन नेपालमा बढी पर्यटक भित्रिने मुलुकमध्ये दोस्रो स्थानमा रहेको छ । सन् २०१७ मा १ लाख ९ हजार ८ सय ३९ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए भने सोही अवधिमा मा १ लाख ५५ हजार ७ सय ८४ जना भारतीय पर्यटक नेपाल आएका थिए ।

२०१८ को पहिलो चार महिनामा ५३ हजार ५ सय २८ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१७ को सोही अवधिमा ३८ हजार २ सय ८५ चिनियाँ नेपाल आएका थिए ।