ताकत हुँदैन हावाका भिटामिन क्याप्सुलमा !

ताकत हुँदैन हावाका भिटामिन क्याप्सुलमा !



– पुष्प थापा

देश विकासका लागि उद्देश्य र कार्यक्रमसहित राष्ट्र र जनताप्रति इमानदार नभएका नेतृत्वहरू अब जनताको रोजाइमा पर्ने वातावरण समाप्त पारिनु जरुरी छ । जनताले गर्ने भर र विश्वासमा राजनीतिक पार्टीहरूले गरेको विकासका गतिविधि र राष्ट्रियताका लागि खेलेको प्रत्यक्ष भूमिकाले ठूलो महत्व राख्दछ वा राख्ने वातावरण बनाइनुपर्छ ।

आगामी वर्षहरूमा देश विकासको कार्यमा भन्दा भाषण गरेर जनतालाई भुलाउने कामलाई जनताले साथ दिने छैनन् भन्ने आधार जनताको चेतनास्तरसँग जोडिएर आउँछ । विशेषतः जनताको रोजाइमा विकासका कार्यक्रम र योजनालाई लिएर जनताको साथमा काँधमा काँध मिलाउने नेताहरू पर्दछन्, तर कतिपय अवस्थामा यसमा विविध प्रकारका अवरोधहरू देखिने गरेका छन् । त्यसको मूल जड चेतना, आर्थिक विपन्नता र डर त्रासको मानसिक अवस्थासँग सम्बन्धित रहेको छ ।

वास्तवमा नेपाली जनतालाई राजनीतिक पार्टीको आयातीत र निर्यातीत ‘वाद’भन्दा पनि कुसल, योग्य नेतृत्व र विकासवाद चाहिएको छ । नक्कली राष्ट्रवादभन्दा स्वाभिमान तथा सार्वभौमिक राष्ट्रिय सम्मान र इज्जत चाहिएको छ । पञ्चशीलको सिद्धान्तमा आधारित स्वतन्त्र र बराबरीको हैसियतको असंलग्न परराष्ट्र नीति नै नेपालको हितकर परराष्ट्र नीति हो जुन व्यावहारमा देखिने गरी लागू गर्नुपर्छ । छिमेकी तथा अरू मित्रराष्ट्रसितको पारस्परिक सम्बन्धको सन्तुलित परराष्ट्र नीति नेपाली जनताको चाहना भएकोले कसैले बङ्ग्याएर आफूलाई मात्र कथित राष्ट्रवादी र अरूलाई अराष्ट्रिय तत्वको बिल्ला भिराउने कोशिसमा लाग्नु अस्थिरतालाई निमन्त्रणा दिनु हो, जसले कसैको हित गर्दैन । तीन करोड नेपालीको साझा मुलुकमा सबैको बराबरको हक, अधिकार र जिम्मेवारीलाई स्थापित गराउनु नै राज्यको मूल दायित्व हो । जसबाट भाग्ने वा अनेक कृत्रिम बहाना र बखेडा झिक्ने अहिलेको झल्लु तथा हुइँया सरकारको प्रपञ्च कदापि सैह्य हुनेछैन ।

नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको मुलुक हो । यहाँ हरेक गाउँघर, सहर–बजारको समस्याहरूलाई केलाएर त्यहाँका बासिन्दाहरूले भोगिरहेको चुनौतीलाई समाधान गरी समृद्धिको दिशा दिन सक्ने नेतृत्व आज मुलुकको आवश्यकता हो । उत्तेजित भाषण, चर्का नारा र काल्पनिक कथा वा उखानटुक्काहरूको भरमा जनतालाई एकपटक मात्र झुक्काउन सकिन्छ, तर दीर्घकालीन रूपमा आफूले बोलेका कुराहरू नै स्वयम्का लागि चुनौती बन्न सक्छन् । सक्षम नेतृत्वले कहिले पनि झुटा र काल्पनिक कथाबाट नेतृत्वको दिशा निर्धारित गर्न सक्दैन, उसले कुरा होइन कामले जनताको मन जितेको हुन्छ ।

२१औँ शताब्दीको आधुनिक युगमा सूचनाको प्रणालीको सुविधालाई गलत प्रयोग गरेर नेपालमा जनता भुलाउने प्रयत्न गरिँदै छ । सयौँ वर्ष पुराना माक्र्सवाद, लेलिनवाद, माओवादलाई अगाडि देखाएर दशकौँ मुलुक लुट्ने प्रपञ्च गरिँदै छ । अहिले देखिएका सुन, तेल, नुन, कथित जनमुक्ति सेनाको भ्रष्टाचार, आईजीपी, न्यायाधीशलगायतका काण्डहरू र त्यसको छानबिन वा न्यायिक प्रक्रियाका अवरोधहरू अहिलेको हुइँया सरकारको भविष्यका प्रतिछायाहरू हुन् ।

२१औँ शताब्दीको आधुनिक युगमा सूचनाको प्रणालीको सुविधालाई गलत प्रयोग गरेर नेपालमा जनता भुलाउने प्रयत्न गरिँदै छ । सयौँ वर्ष पुराना माक्र्सवाद, लेलिनवाद, माओवादलाई अगाडि देखाएर दशकौँ मुलुक लुट्ने प्रपञ्च गरिँदै छ । अहिले देखिएका सुन, तेल, नुन, कथित जनमुक्ति सेनाको भ्रष्टाचार, आईजीपी, न्यायाधीशलगायतका काण्डहरू र त्यसको छानबिन वा न्यायिक प्रक्रियाका अवरोधहरू अहिलेको हुइँया सरकारको भविष्यका प्रतिछायाहरू हुन् । भनिन्छ, बिहानीले नै दिनको सङ्केत दिएको हुन्छ । तर, यदि यो सरकारले साँच्चिकै जनमुखी कार्यक्रम ल्याएर समृद्धिको बाटोमा अघि बढ्ने चेष्टा गर्दछ भने हामी कदापि पूर्वाग्रही बन्नुहुँदैन र समृद्धिको अभियानमा मुलुकबाहिर र मुलुकभित्रका आमनागरिक एक ढिक्का हुनुपर्छ ।

अहिलेसम्मको इतिहास हेर्दा, राजनीतिक पार्टीको नेतृत्वले अहिलेको विज्ञान र प्रविधिले प्रदान गरेको सुविधा तथा जनताको चेतनास्तरलाई बेवास्ता गरी परिस्थितिअनुकूल नेतृत्व दिन नसक्नु ठूलो कमजोरी हो भन्दा अत्युक्ति नहोला । नेतृत्वले विज्ञान र प्रविधिलाई समय र परिस्थितिको चुनौतीलाई सामना गर्न सक्ने साधनको रूपमा प्रयोग गर्न सक्नुपर्दथ्यो । त्यो अनुकूलको वातावरणसमेत निर्माण गर्न सक्नु वाञ्छनीय हुन्थ्यो । तब मात्र त्यो नेतृत्व सफल मानिन्थ्यो ।

तर, अहिलेसम्म जनताप्रति गद्दारी, धोकाधडी र वर्गशत्रु सम्हारको नाममा उनीहरूको रगतको अपमानभन्दा केही भएको छैन । यति हुँदा पनि जनताले नेतालाई माफी दिँदै फूलमालाले नै सम्मान गरेका छन् । अब कदापि सहनुहँुदैन, त्यो आत्मघातसरह हुनेछ र भावी पुस्ताले हाम्रो दासताको कथा पढेर हामीलाई श्राप दिनेछ । अतः सबै पार्टीका नेताहरू जनताप्रति उत्तरदायी बन्न जरुरी छ ।

अबको आधुनिक विज्ञान र प्रविधिको युगमा जनचाहना भनेको मुलुकमा सुशासन, निष्पक्ष तथा स्वच्छ न्यायपालिका, सूचनाको हकअधिकार, समानतासहितको जीवन्त मानवअधिकार, शान्तिसुरक्षा र अमनचयन हो । जनताले दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने सेवासुविधाको ग्यारेन्टीसहित स्वदेशमै रोजगार माग रहेका छन् । त्यसका लागि सरकारले योजनाबद्ध रूपमा द्रुत विकासको थालनी गर्नु आवश्यक छ । किनकि जनताले आफ्नो श्रम, योजना र क्षमतामा देश समृद्धि भएको हेर्न चाहन्छन् ।

जनताले हिँड्नलाई राम्रो सडक चाहेका छन् । शुद्ध पिउने पानी चाहेका छन् । बालबालिकाको राम्रो शिक्षादीक्षाका लागि आर्थिक रूपमा पहुँच पुग्न सक्ने स्कुल, कलेज र विश्वविद्यालय खोजेका छन् । जनताले बिरामी भएको समयमा सेवासुविधासहितको दक्ष डाक्टर भएको राम्रो अस्पताल खोजेका छन् । जनतालाई विविध प्रकारका सिद्धान्त वा वादप्रति कुनै वास्ता र सरोकार नै छैन । अबको नेपाली जनता वैयक्तिक स्वतन्त्रता र न्यायको पहुँचसहितको सबल राष्ट्र चाहन्छ । हावाका भिटामिन क्याप्सुलमा धेरै ताकत हुँदैन भन्ने कुरा जनताले बिस्तारै बुझ््दै छन् ।

खुलेर भन्नुपर्दा जनतालाई विकासका योजना र कार्यक्रम भएका राष्ट्रप्रति समर्पित राजनीतिक पार्टी र नेता चाहिएको छ । जनता अहिलेसम्म संयमित हुँदै विकल्पभित्र विकल्प खोज्दै छन्, तर याद रहोस् अब त्यो दिन टाढा छैन भनिँदै छ नेपालीहरूले निर्विकल्पभित्रसमेत विकल्प खोज्नेछन् । आफ्नो स्वार्थ पूरा गर्न बन्द, हड्ताल गरी राज्यमा वितण्डता मच्चाउने राजनीतिक दल वा नेता जनविरोधी राष्ट्रघाती हुन् भन्नुपर्दा दुःख लाग्छ । जसले देश र आधारभूत जनतालाई प्रयोग गरी आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्छन् ।

आदरणीय नेताहरू बीपी कोइराला, कृष्ण भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता पूर्वअग्रज नेताहरूले गरेको सबल नेतृत्वको बखान गरेर इतिहास भजाउने ललिपप नेतृत्वको हामीले खुलेर विरोध गर्नुपर्छ । इतिहासलाई जनताको अगाडि भजाएर आफ्नो दल मात्र ठूलो देशभक्त र राष्ट्रप्रेमी हुने समय अबको सूचना, विज्ञान र प्रविधिको युगमा सम्भव छैन । सूचना पहुँचको कारण जनता क्रमशः हरेक कार्यको विश्लेषण गर्न सक्ने भइसकेका छन् ।

भ्रष्ट नेताहरू प्राय:जसोको राजधानीमै निवास बनाएर बसाइँ पनि सरिसकेका छन् । उनीहरू सधैँ परिवारसित राजधानीमा रमाइरहने गर्छन् र सामान्यतया जनताको कुनै मतलब छैन । गाउँघर वा आफ्नो चुनाव क्षेत्रतिर कहिलेकाहीँ विशेष कार्यक्रममा जाने, कार्यकर्तालाई भेटभाट गर्ने अनि कार्यकर्ताबाट खादा र माला लगाएर मानसम्मान खाने चलन बढ्दै गएकोले गाउँघरका समस्याहरूप्रति उनीहरूले भाषण र गोष्ठीहरूमा गोहीका आँसु झार्नेबाहेक अन्य प्रगति भएको देखिँदैन ।

नेपालका भ्रष्ट नेताहरू प्रायजसोको राजधानीमै निवास बनाएर बसाइँ पनि सरिसकेका छन् । उनीहरू सधैँ परिवारसित राजधानीमा रमाइरहने गर्छन् र सामान्यतया जनताको कुनै मतलब छैन । गाउँघर वा आफ्नो चुनाव क्षेत्रतिर कहिलेकाहीँ विशेष कार्यक्रममा जाने, कार्यकर्तालाई भेटभाट गर्ने अनि कार्यकर्ताबाट खादा र माला लगाएर मानसम्मान खाने चलन बढ्दै गएकोले गाउँघरका समस्याहरूप्रति उनीहरूले भाषण र गोष्ठीहरूमा गोहीका आँसु झार्नेबाहेक अन्य प्रगति भएको देखिँदैन । जति भएको छ स्थानीय श्रम र प्रयासबाट भएको भन्दा कसैप्रति अन्याय हुने देखिन्न । आमनागरिकहरूका समस्यालाई पहिचान गर्न नसक्ने टुरिष्ट नेताहरूले आफ्ना मतदातालाई पनि पहिचान गर्न सक्ने कुरा भएन । राजनीतिक सिन्डिकेटको आधारमा नेतृत्व लिन खोज्ने नेताहरूको झोले प्रवृत्तिलाई आगामी समयमा जनताले पहिचान गरी हिसाबकिताब दुरुस्त राख्न अब ढिलाइ गर्नु आत्मघाती हुनेछ ।

अबको सूचना र प्रविधिको युगमा मनी र मसलको भरमा चुनाव जित्ने चलनलाई नकार्दै अहिलेको राजनीतिक हली प्रवृत्तिलाई सबै पार्टीका कार्यकर्ता वा जनताले चुनौती दिन सक्नुपर्छ । दूरदृष्टि र एजेण्डाविहीन नेतालाई नेतृत्व सुम्पिनुहुँदैन भन्ने कुरामा आमजनता सचेत हुने पर्छन् । अन्यथा यिनीहरूले हामीलाई अझै दशकौँसम्म ठगिरहनेछन् । झुट र सुट तथा नक्कली ‘वाद’ले नेपाली जनतालाई आगामी दिनहरूमा सजिलै झुक्याउन नसकोस् भन्ने उद्देश्य राखी सबै प्रदेशमा नेताहरूको कार्यको अभिलेख राख्नु अनिवार्य भइसकेको छ । यो कार्य हामी एनआरएनहरूले मात्र नभएर पत्रकार, लेखक, कलाकारले पनि हेक्का राखौँ र अबका दिनमा सबै दलका दासहरू जन्माउने भट्टीहरू बन्द गरी कर्मशील देशभक्त नेपाली जन्माउने अभियानमा गोलबद्ध बनौँ ।

यदि मुलुकलाई आवश्यक पर्छ भने डायस्पोरामा रहेका दक्ष नेपाली आफ्नो दक्षता र सीप बोकेर मुलुक फर्कनसमेत तत्पर रहने सङ्कल्प गर्नुपर्दछ । यही मात्र हाम्रो पितृ र मातृ ऋणबाट मुक्त हुने एउटा स्वाभिमानी बाटो हुनेछ । नेताहरूको कर्मगत प्रमाणहरूलाई साक्षी राख्दै देश र जनताको पार्टी, योग्य तथा कुशल नेतृत्वलाई बिनाआग्रह समर्थन गरौँ र कथित हावादारी लफ्फाजीहरूका मजाकमा सहभागी भएर रमाइलोमा ताली नठोकौँ, अस्तु !!

(थापा एनआरएनएका निवर्तमान केन्द्रीय सल्लाहकार र एक सामाजिक अभियन्तासमेत हुन् ।)