‘अपरेसन ओभरसिज फ्रड’को फन्दामा गोपालमानका भतिज

‘अपरेसन ओभरसिज फ्रड’को फन्दामा गोपालमानका भतिज


यातायात क्षेत्रको सिण्डिकेट तोड्ने प्रयत्न गरेर चर्चामा आएको ओली सरकारले म्यानपावर क्षेत्रमा हुँदै आएको अनियमितता तथा चरम भ्रष्टाचारविरुद्ध कदम बढाएको अनुभूति गरिएको छ । मलेसियाको भीसा शुल्क ७ सय लेखेर ७ हजार असुल्ने र स्वास्थ्यपरीक्षणको नाममा लुट मच्चाउनेहरु ‘अपरेसन ओभरसिज फ्रड’अन्तर्गत आइतबार पक्राउ परेपछि यस्तो अनुभूति गरिएको हो । आइतबार गरिएको उक्त अपरेसनमा काठमाडौंबाट ४४ र पाटनबाट चार गरी ४८ जना म्यानपावर क्षेत्रका अभियुक्त पक्राउ परेका बुझिएको छ ।

यीमध्ये राजधानीको मेट्रोपार्कस्थित भीएलएन र वानस्टप सेन्टरमा प्रहरीले विशेष तवरमा छापा मारेको बताइन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृहमन्त्रालयलाई गरेको पत्राचारअनुसार प्रहरीले भीएलएन र वानस्टपमा छापा मारेको हो ।

ती कम्पनीले अवधानिक काम गरेको भनी पहिले नै मन्त्रालयले कामकारबाही बन्द गराएको भएपनि अवैध कार्य जारी राखेको सूचनाका आधारमा छापा मारिएको बुझिएको छ । मलेसिया जाने कामदारहरुलाई आर्थिक भार परिरहेको भन्दै श्रम मन्त्री गोकर्ण विष्टले बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गर्ने निर्णय गरेका थिए । तर भिएलएनका सञ्चालक रामप्रसाद श्रेष्ठले आफूलाई सच्याउन सकेका थिएनन् । अन्ततः उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।

मलेसिया जान भिसा शुल्क जम्मा ७ सय लाग्नेमा अनलाइन प्रोसेस भन्दै भिएलएन नामक संस्थाबाट ३२ सय र कर असुल गरिँदै आएको थियो । श्रेष्ठको संस्थाले करिव साढे दुई अर्ब गैरकानुनी रुपमा उठाएको बताइएको छ।

ज्ञातव्य छ, रामप्रसाद श्रेष्ठ कांग्रेस नेता गोपालमानका भतिज हुन्। रामप्रसादले देउवापत्नी आरजु राणा र वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डेको आडमा अवैध रुपले धन्दा चलाई युवाहरुलाई ठगी गर्दै आएका र अवैध कमाइबाट उनले काठमाडौं उपत्यका, चितवन र झापामा विभिन्न कम्पनीको नाममा १० अर्बभन्दा बढी मूल्यको जमिन खरिद गरेका उनीनिकट सुत्रले जनाएको छ । सम्पत्ति शुद्धिकरण र मुद्रा अपचलनका नाइकेका रुपमा समेत श्रेष्ठलाई निकटजनहरुले चिन्ने गरेका छन् ।