वडा कार्यालयमा स्थानीयवासीले लगाए ताला

वडा कार्यालयमा स्थानीयवासीले लगाए ताला


हेमशंकर सिंह

राजविराज । स्थानीय गाउँलेका लागि आएको कार्यक्रम अर्कै गाउँवासीलाई उपलब्ध गराई अनियमितता गरेको भन्दै सप्तरीको बिष्णुपुर गाउँपालिका–६ को वडा कार्यालयमा स्थानीयवासीले आइतबार ताला लगाएका छन् ।

कमिसनको लोभमा जनप्रतिनिधिहरुले सम्बन्धित गाउँलेलाई जानकारी नै नदिई कार्यक्रमहरु गर्न लागेको भन्दै सरोकारवाला स्थानीयवासीले जनप्रतिनिधिहरुलाई कार्यालय कोठाबाट बाहिर निकाली ताला लगाएका हुन् ।

गाउँका लागि छुट्याइएको बजेटअनुसार जनप्रतिनिधिहरुले गोप्य रुपमा काम गरिरहेको र व्यापक अनियमितता भएको गाउँलेको आरोप छ ।

वडा नम्बर ६ मा निर्माण हुने विकासिय कामको लागि गोप्य रुपले वडा नम्बर ७ का उपभोक्तालाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको स्थानीय महावती यादवले बताइन् । पाठेघर खस्ने र आँखा स्वास्थ्य शिविरहरु सुचिकृत नभएको गैससलाई जिम्मा दिएको आरोप लगाउँदै जयराम यादवले आँखा शिविरका लागि १० हजार छुट्याई सम्झौता गरेकोमा एउटा शुन्य थप गरी एक लाख निकासा गरेको आरोप लागाए ।

आरोपहरु स्विकार्दै वडा अध्यक्ष बहादुर सदाले सम्पूर्ण काम वडा सदस्य रामकुमार रायले गर्न लगाएको बताए । वडा अध्यक्ष सदाले भने– ‘वडा सदस्य रायले आफ्नो पार्टीका कार्यकर्तालाई कार्यक्रम दिन तथा छुट्याएको १० हजारमा शुन्य थपेर एक लाख बनाउन सल्लाह दिएअनुसार गरेको हुँ ।’

आँखा शिविरमा १० हजारकै बजेटमा सम्झौता भएपनि गाउँपालिकाको कार्यसमितिले संशोधन गरेकोले आफ्नो दोष नरहेको वडा सदस्य रायले बताए । आफ्नो वडामा सुचिकृत भएका गैससलाई शिविरको काम नदिई विषहरियाको गैससलाई दिएकोमा कमजोरी भएको भने वडा सदस्य रायले समेत स्विकारे ।

महिलाहरुले कृषि सामाग्री वितरण नगरी वडा सचिव भुवनेश्वर राउतले घरमा प्रयोग गरेको, नम्बरी जग्गामा माटो ग्राभेल खसाउने काम गरेको आरोप लगाए । परमेश्वरी शर्माले सिलाई, कटाई, मैनबत्ती, भुजिया बनाउने घरेलु तालिमहरु गाउँका महिलाहरुले थाहै नपाई सम्पन्न भएको बताइन् ।

वडा सचिव राउतले आफू कर्मचारी भएकोले जनप्रतिनिधिहरुले गरेको काममा विरोध गर्न नसक्ने लाचारी सुनाए । वडासचिव राउतले शुन्य छुटेकाले पछिबाट थपिएको बताएपछि गाउँलेहरुले उनलाई घेराउ गरी ऱ्याख्ऱ्याख्ती पारेका छन् ।