नेपाल पत्रकार महासंघ बेलायत शाखाको चौथो अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ बेलायत शाखाको चौथो अधिवेशन सम्पन्न


लण्डन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टको उपस्थितिमा ‘महासंघ बेलायत शाखा’को चौंथो अधिवेशन सम्पन्न भएको छ । अत्यन्तै विरोधाभासपूर्ण हालतमा सहमतिको आधारले कार्य समितिको चयन भएको छ ।

नरेश खपाङ्गीको नेतृत्वमा उक्त समावेशी समितिमा पार्टीगत समूहहरू हाबी भएको देखिएको छ । सबैलाई अटाउने अभिप्रायले केन्द्रीय नेतृत्वको सहयोगमा केही पद थप गरिएका छन् । ९७ जना मतदाता पत्रकार रहेको यस शाखामा २४ जनाको जम्बो टिम तयार पारिएको छ जसमा दुई जना वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष्य, एक महासचिव, एक उपमहासचिव र तीनजना सचिव, कोषाध्यक्ष्य, सहकोषाध्यक्ष्यसहित ११ जना सदस्यहरू रहेका छन् । सबैलाई अटाउने ध्येय लिई उक्त कार्य समिति बनाइएको भए तापनि उमेदवारहरुसँग छलफल नगरी पूर्वअध्यक्षहरू, केन्द्रीय अध्यक्ष, महासचिवलगायत समाजका केही अगुवाले तयार पारेको नामावलीलाई बाराम्बार फेर्न, सच्याउनका लागि सल्लाह गर्न माग गरिए तापनि उक्त नामावलीबाट नामहरू भन्दै उमेदवारहरूलाई बोलाइएको थियो भने एकथरीले त्यसको व्यापक विरोध गरेका थिए ।

बेलायती नेपाली समाजमा भाइचारालाई यथावत राख्न र संस्थाप्रतिको अवधारणामा नकारात्मकतालाई फैलिन नदिनको लागि भन्दै चुनाव स्थगन गरिएको उक्त अधिवेशनमा प्रजातान्त्रिक पद्धतिको अवहेलना गरिएको सभाहलमा उपस्थित व्यक्तिहरुको राय रहेको थियो । सो कार्यक्रममा आफ्नो समूहलाई स्थापना गर्नको लागि नेपाली समाजका कांग्रेस र कम्युनिष्टहरुको समूह सकृय रहेका थिए । हल्ला गरेर विरोध नगरे आफू पछाडि परिने केही उमेदवारको धारणा थियो भने भागबण्डामा जे हात लाग्छ त्यो स्वीकारिन्छ भनेर हिँड्ने उम्मेदवारहरु पनि रहेका थिए ।

आखिरमा मन्दिरबाट प्रसाद बाँडिएजस्तै गरी पदहरु बाँडिएका थिए र त्यसलाई सोही स्थानमा खुशीसाथ स्वीकार गरी ग्रहण गर्ने र अलि घुर्की लगाएको जस्तो गरी आफ्नो विरोध प्रदर्शन गर्ने तर पछि हात थापेर ग्रहण गर्ने उमेदबारहरु पनि थिए । सभाहलमा एकातिर बाहिरी व्यक्तिहरुले हल्ला गर्ने र उम्मेदवारहरुलाई उचाल्ने काम गरेका थिए भने केहीले यसरी हल्ला गर्ने, कायक्रममा अवरोध दिने, माइक खोस्ने खालका काम गर्ने पत्रकारहरु डाँका हुन् भन्दै हिँड्ने व्यक्तिको पनि उपस्थिति रहेको थियो ।

९७ जनाको मतदान अधिकार रहेको संस्थामा हिजो भएको अधिवेशनमा आधाभन्दा केही मात्र बढी पत्रकारहरुको उपस्थिति रहेको र सो संख्यामा नै चुनाव गरिए नतिजा अनुकुल नरहने देखिएकोले चुनाव स्थगित गरिएको एकथरिको राय रहेको थियो । तर अधिवेशन हल, बाहिरी तत्वहरुको कृडास्थल रहेको अर्कोथरिको राय रहेको पाइयो ।

महासंघको बेलायत शाखामा किन आयो त यस्तो विवाद ?

सन् २०१०मा नै पत्रकार संगठनको संरचनाअनुसार नवीन पोखरेलको नेतृत्वमा जम्मा १८ जनाको कार्यसमितिको चयन भएको थियो । सो संस्थाले बेलायती नेपाली समाजमा खासै केही उल्लेखनीय काम गरेको थिएन तर नेपाल पत्रकार महासंघको बेलायत शाखाको रुपमा पहिलो अधिवेशन भने सम्पन्न गरी नवीन पोखरेलको नै नेतृत्वमा सन् २०१२ मा पहिलो वैधानिक कार्य समिति तयार गरियो जसको संख्या १३ थियो । उक्त समय उपाध्यक्ष पदको लागि चुनावसमेत भएको थियो ।

सो कार्य समितिले पनि कुनै उल्लेखनीय काम गरेको थिएन । चिरन शर्माको अध्यक्षतामा बनेको सन् २०१४को कार्यसमितिमा १५ जना रहेका थिए । केही कामहरु भएका भए तापनि ती कामहरु नाम मात्रका रहेका थिए । सो अवधिमा कार्य समितिभित्रै दुई खण्ड देखिएको थियो । तत्कालीन अध्यक्ष चिरन शर्माले सो अवधिमा बेलायतस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघको बेलायत च्याप्टरसँग मिलेर केही कार्यक्रमहरु गरेबाहेक अन्य खास काम गर्न नसकेको भए तापनि सो अवधिपछि नै बेलायती नेपाली समाजमा नेपाल पत्रकार महासंघको बेलायत शाखाको चर्चा चल्न थालेको थियो । उनले संस्थालाई नेपाली समाजमा स्थापित गराएका थिए ।

तेस्रो अधिवेशन नरेश खपांगीमगरको अध्यक्षतामा सन् २०१६मा भएको थियो, उक्त अधिवेशनले १५ जनाको कार्यसमिति चयन गरेको थियो भने ६ जनाको सल्लाहकार समूहलगायत ८ जनाको केन्द्रीय प्रतिनिधिहरुको छनोट गरेको थियो । उक्त अवधिमा केही उल्लेखनीय कामहरु भएका छन् । बेलायती नेपाली समाजमा रहेका पत्रकारहरुलाई पढाउने हेतुको एक दिने कार्यशाला तथा सेमिनारहरुको आयोजना, अध्ययन भ्रमणलगायत अन्य कार्यक्रमहरुसहित एक वृहत च्यारिटि नाइटको आयोजना पनि गरिएको थियो, जसबाट लगभग ३२ हजार पाउण्ड उठेको थियो ।

पहिलोपटक पत्रकार महासंघको कार्यक्रममा स्थानीय नेपाली समाजको उत्साहपूर्ण सहभागिता भएको थियो । वर्तमान अवस्थामा त्यसरी संस्थाले अचानकै हात पारेको आर्थिक उपलब्धि र सामाजिक स्तरले गर्दा सबै नै संस्थामा जान तयार रहेको देखिएको हो । अघोषित रुपममा गैर र जानजाति बीचको चुनावजस्तो देखिन थालेको यो अधिवेशनमा टकरावको स्थितिलाई ल्याउन नदिनको लागि सहमति खोज्नको लागि नेतृत्वहरु ज्यादा सकृय रहेको बताइएको थियो ।

संस्थाको अबका दिन
ज्यादै नै विपरीत ध्रुवीय पात्रहरूको सहभागितामा बनेको यस जम्बो कार्य समितिभित्र विवाद र अहमतिहरु पर्याप्त रुपमा नआउन भन्न सकिन्न । क्षणिक खुशी दिनको लागि खडा गरिएका पदले सहजीकरण गर्ने नभई अप्ठ्याराहरुको सिर्जना गर्ने पक्का देखिएको छ भने संस्थाभित्र पूर्ण राजनीति व्याप्त रहने देखिएको छ । आ–आफ्ना फेसबुक भित्ताहरुमा नयाँ स्टाटस्को तस्बीर राखी वधाई थोपर्नेबाहेक अन्य काम समितिका सदस्यहरुबाट हुन सक्ने देखिएको छैन भने जातीयता, राजनैतिक वैचारिकता, क्षेत्रीयतको आधारमा गुटउपगुटले संस्था विभाजित हुन सक्ने स्पष्टताको अहिले नै अड्कल काट्न थालिएको छ ।