भ्याली पब्लिक, महामञ्जुश्री र लालीगुराँसलाई उपाधि

भ्याली पब्लिक, महामञ्जुश्री र लालीगुराँसलाई उपाधि


भ्याली पब्लिक, महामञ्जुश्री र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले तेस्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । भ्याली पब्लिक सिनियर ब्वाइजको थ्री बाई थ्री, महामञ्जुश्री सिनियर गल्र्सको थ्री बाई थ्री र लालीगुराँस जुनियर ब्वाइजको फुल कोर्टमा च्याम्पियन बनेका हुन् ।

आयोजक वसुन्धारा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई १६–१३ ले पराजित गरेको थियो । भ्याली पब्लिकका मिलन विकले ८ अङ्क जोडेका थिए । सिनियर गल्र्समा महामञ्जुश्रीले ग्रिनल्यान्डलाई १३–१२ को झिनो अन्तरले पराजित गरेको थियो । महामञ्जुश्रीकी कुसुम लामाले ७ स्कोर गरेकी थिइन् ।

जुनियर ब्वाइजको उपाधि भिडन्तमा लालीगुराँसले आयोजक बीएनएलाई ३५–२६ ले निराश पारेको थियो । लालीगुराँसका प्रिन्स केसीले १९ अङ्क जोडेका थिए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका प्रेम लोप्चन तथा सिनियर गल्र्स महामञ्जुश्रीकी कुसुम लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

जुनियर ब्वाइजमा भने तीन व्यक्तिगत विधामा खेलाडीलाई पुरस्कृत गरिएको थियो । लालीगुराँसका दीपेश क्षेत्री ‘मोस्ट भेलुएबल प्लेयर’, बीएनएका सम्यम चापागाईं उत्कृष्ट, थ्री प्वाइन्टर तथा बीएनएकै सन्देश खड्का (५७ स्कोर) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई टोखा नगरपालिकाका शिक्षा प्रमुख पदमराज काफ्ले, बीएनएका संस्थापक प्रिन्सिपल टंककुमार चापागाईंलगायतले पुरस्कृत गरेका थिए । वैशाख ३० गतेदेखि सुरु प्रतियोगिताको तीनै समूहमा समान १२–१२ टिमको सहभागिता रहेको थियो ।