अब देखिएला पार्टी-कब्जाको प्रचण्ड कदम !

– निर्जला कक्षपति

‘दुई कम्युनिस्ट पार्टीबीच एकता होला र ?’ भन्ने प्रश्न गर्दागर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एक भएपछि अब मुलुकमा दुई धार प्रस्ट रूपमा देखिएको छ । एउटा कम्युनिस्ट विचारधारा बोकेको र एउटाचाहिँ आफूलाई प्रजातान्त्रिक धारमा समाहित गरेको दाबी गरिआएका यी दुई धारका पार्टीको एकीकृत रूपकै मुलुकमा अब वर्चस्व रहनेछ । भएका अरू साना पार्टीका रूपमा गनिनेछन् ।

कम्युनिस्ट पार्टीको एकतासँगै अब कम्युनिस्ट शासकहरूले नै मुलुकमा ढुक्कले ५ वर्षको लागि शासन गर्ने देखिएको छ । कम्युनिस्टहरूको एकता हुन सक्नु लोकतान्त्रिक शासन पद्धतिमा एक महत्वपूर्ण उपलब्धि रूपमा लिइए पनि एकताको जरोलाई टिकाइराख्न भने उत्तिकै गाह्रो हुने विश्लेषकहरूको ठहर छ । किनभने, विगतका इतिहास हेर्ने हो भने पनि कम्युनिस्टहरू धेरैपटक फुटे अनि जोडिए । त्यसैले यस्तो नहोला भन्न पनि सकिँदैन ।

अहिले नेकपा एमालेको नेतृत्वमा सरकार सञ्चालनमा छ । माओवादी केन्द्र पनि सहभागी भएको सरकार गठन, भागबन्डा गरी मिलाइएको छ । पार्टी एकतामा पनि भागबन्डा गरी मिलाइएको सोझै देख्न सकिन्छ । हाइकमान्डको गठनमा समेत एमालेबाट ६ जना र माओवादीबाट ३ जना रहने गरी मिलाइएको छ । यति मात्र नभई विष्णु पौडेललाई महासचिवको जिम्मेवारी र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी तोकिएको छ । हाइकमान्डमा एकजना पनि महिला अनुहार देखिँदैन । हाइकमान्डमा एकजना महिलाको अनुहार देख्न नसक्दा के दुवै पार्टीले अहिलेसम्म हाइकमान्डमा बस्नयोग्य महिला उत्पादन गर्न सकेका रहेनछन् ?

पार्टी एकतापछि, अब आउने महाधिवेशनका लागि आफ्नो पक्षमा विश्वास जित्न यिनले पार्टीभित्र ठूलै चलखेल गर्नेछन् । यदि यो चलखेल सफल भएनन् भने फेरि पार्टीलाई फुटाउन यिनको भूमिका रहन सक्ने आशङ्का गरिएको छ । अध्यक्षबाहेक अरू पदमा बस्न नरुचाउने यिनको बानीले पार्टी एकता कहिल्यैसम्म भन्ने आशङ्का व्यापक रूपमा उब्जाएको छ ।

पार्टी एकतापछि, कार्यकर्ता, समर्थक र वामपन्थीहरूबीच एक किसिमको खुसी छाउनु स्वाभाविक नै हो । फेरि जुनसुकै विचारधाराको भए पनि अलि दिगो सरकार रहोस् र अलि लामो सत्तामा बसेपछि काम गर्ने समय पनि पाउने भएकाले धेरै नेपाली जनताले यो एकता प्रक्रियालाई सकारात्मक तरिकाले पनि लिएका छन् । काङ्ग्रेस, कम्युनिस्ट जेसुकै होस् जनता सरकारले काम गरेको हेर्न चाहन्छन् । त्यसैले एकतापछि बनेको यो नेपाल कम्युनिस्ट पार्टीले चाह्यो भने धेरै काम गर्न सक्ने अवसर प्राप्त भएको छ ।

यो समय भनेको नेपाल कम्युनिस्ट पार्टीका लागि काम गरेर देखाउने समय हो । अहिले राम्रो काम गऱ्यो भने ५ वर्ष त के, अर्को ५ वर्ष पनि वामपन्थीहरूका लागि शासन गर्ने राम्रो सुअवसर प्राप्त हुन सक्छ । जस्तो भारतमा मनमोहन सिंहले दुई कार्यकाल शासन गरेका थिए । जनताले काम गरेर देखाउनेलाई नै चुनावमा चुन्ने हो । काम नगर्नेलाई त घोक्रेठ्याक लगाएर पाखा नै लगाउने हो । त्यसैले जनता नै यस्तो शक्ति हो निर्वाचनका बेला एक एक हिसाब लगाएर नतिजा देखाइदिइहाल्नेछन् ।

माओवादी नेता प्रचण्ड महत्वाकाङ्क्षी नेता त हुन् नै, यसबाहेक राजनीतिका चतुर खेलाडी र फाइदा–बेफाइदाको राम्ररी मूल्याङ्कन गर्न सक्ने व्यक्ति पनि हुन् । आफू र आफ्नो पार्टीलाई के गर्दा फाइदा हुन्छ त्यो गरिहाल्न, पछि नहट्ने नेता पनि हुन् । भर्खर मात्र सम्पन्न सङ्घीय संसद् र प्रदेश सभाको चुनावमा माओवादीले नराम्ररी हार खेप्नुपरेपछि नेता प्रचण्डले आफ्नो अस्तित्व र पार्टीको अस्तित्व जोगाउन पनि एमालेसँग मिलेको हुनुपर्ने ठहर राजनीतिक विश्लेषकहरूको छ । यद्यपि पार्टी एकतासँगै यो एकता कहिलेसम्म हुने हो भन्ने आशङ्का जनमानसमा व्याप्त छ । साना कम्युनिस्ट पार्टीका नेताहरूले त प्रचण्डले माओवादी पार्टीलाई एमालेमा लगेर विलय गरेको आरोप लगाएका छन् ।

स्वार्थसिद्धका लागि जे गर्न पनि पछि नहट्ने यी कम्युनिस्ट नेता प्रचण्डले आफ्नो छोरीलाई मेयरमा जिताउन काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग पनि कुम जोड्न पछि परेका थिएनन् । प्रचण्डको बानीकै कुरा गर्ने हो भने, यिनी जोसँग पनि घुलमिल हुन सक्ने, जसलाई पनि रिझाउन सक्ने र फाइदाका लागि जे गर्न पनि पछि नहट्ने नेताका रूपमा पनि चिनिन्छन् ।

माओवादी केन्द्र विशेषगरी ०६२/६३ पछिको आन्दोलनपछि उदाएको पार्टी हो । यो पार्टीको कुनै लामो इतिहास छैन । र, प्रचण्डकै कुरा गर्ने हो भने पनि यिनले संसदीय अभ्यासमा पटक्कै विश्वास गर्दैनन् । लामो समयदेखि माओवादी पार्टीमा अध्यक्ष पदमा राज गरेका प्रचण्डले दोस्रो वरीयताको नेताको कल्पनासमेत गर्न सक्दैनन् । त्यसैले माओवादीको गठन प्रक्रियादेखि नै पार्टीभित्र यिनले राम्ररी प्रभुत्व जमाएका थिए । यति मात्र नभएर विशेष गरी गिरिजाप्रसाद कोइरालको निधनपछि नेपालको राजनीति यिनकै सेरोफेरोमा घुमिराखेको छ ।

आफ्नो स्वार्थसिद्धका लागि जे गर्न पनि पछि नहट्ने यी कम्युनिस्ट नेता प्रचण्डले आफ्नो छोरीलाई मेयरमा जिताउन काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग पनि कुम जोड्न पछि परेका थिएनन् । प्रचण्डको बानीकै कुरा गर्ने हो भने, यिनी जोसँग पनि घुलमिल हुन सक्ने, जसलाई पनि रिझाउन सक्ने र फाइदाका लागि जे गर्न पनि पछि नहट्ने नेताका रूपमा पनि चिनिन्छन् । पार्टी एकतापछि, अब आउने महाधिवेशनका लागि आफ्नो पक्षमा विश्वास जित्न यिनले पार्टीभित्र ठूलै चलखेल गर्नेछन् । यदि यो चलखेल सफल भएनन् भने फेरि पार्टीलाई फुटाउन यिनको भूमिका रहन सक्ने आशङ्का गरिएको छ । अध्यक्षबाहेक अरू पदमा बस्न नरुचाउने यिनको बानीले पार्टी एकता कहिल्यैसम्म भन्ने आशङ्का व्यापक रूपमा उब्जाएको छ ।

जे होस्, पार्टी एकता हुनु राम्रै कुरा हो । त्योभन्दा ठूलो कुरा पार्टीले कस्तो काम गर्छ भन्ने कुरा झनै अर्को ठूलो कुरा हो । पार्टी ठूलो भएर पनि त्यस पार्टीले जनहितका काम गर्न सक्दैन भने त्यस्तो पार्टीको के औचित्य ? त्यसैले पार्टी एकतासँग जनताको सरोकार नभए पनि सरोकार रहेको क्षेत्र भनेको काम नै हो । नेपाल कम्युनिस्ट पार्टी जसरी अहिले एक भएर सबभन्दा ठूलो पार्टी बनेको छ, काम गरेर देखाउन पनि उत्तिकै जरुरी छ । होइन भने सबै कुरा उस्तै–उस्तै मात्र हुन् ।

प्रतिक्रिया