प्रदेशसभा सदस्य लामिछानेको जीवन बित्यो टहरामै

प्रदेशसभा सदस्य लामिछानेको जीवन बित्यो टहरामै


– रमेश गिरी

अर्थ अभावले भत्किएको घरको तल्लो तलामा बस्ने र अगाडिको जस्ताको टहरामा रात गुजार्नुको विकल्प उहाँसँग थिएन । पुरानै कोट र ढाका टोपीले धान्दै आएको आदर्श र निष्ठालाई जीवितै राख्न सफल लामिछानेको प्रदेशसभा सदस्यको यात्रा पाँच महिनामै टुङ्गिए पनि छोरीको विवाह गर्न, चुनाव लड्न र छोराछोरीलाई पढाउन विभिन्न सहकारी संस्थाबाट लिएको १८ लाख ऋणको भारी भने श्रीमती निर्मलाको काँधमा घर व्यवहारसँगै खप्टिएको छ ।

चाँगुनारायण नगरपालिका–६ तेलकोट चोकमा नगरकोट जाने मूल सडकका ठीकमाथि पुरानो जीर्ण घर विसं २०७२ को भूकम्पले भत्किएको छ । घरको माथिल्लो तला र छानामा ह्वाङह्वाङ्ती ठूलो प्वाल छ । त्यही घरको तल्लो तला र अगाडिको टहरामा प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको जीवन बित्यो ।

भत्किएको घरलाई उठाउने क्षमता उहाँसँग भएन, अर्थ अभावले भत्किएको घरको तल्लो तलामा बस्ने र अगाडिको जस्ताको टहरामा रात गुजार्नुको विकल्प उहाँसँग थिएन । पुरानै कोट र ढाका टोपीले धान्दै आएको आदर्श र निष्ठालाई जीवितै राख्न सफल लामिछानेको प्रदेशसभा सदस्यको यात्रा पाँच महिनामै टुङ्गिए पनि छोरीको विवाह गर्न, चुनाव लड्न र छोराछोरीलाई पढाउन विभिन्न सहकारी संस्थाबाट लिएको १८ लाख ऋणको भारी भने श्रीमती निर्मलाको काँधमा घर व्यवहारसँगै खप्टिएको छ ।

पार्टीमा मात्रै नभई सिंगो चाँगुनारायण नगरपालिक क्षेत्रमा आदर्शका रुपमा चिनिएका ५१ वर्षीय लामिछानेलाई जुनसुकै पार्टीका व्यक्तिले पनि आदरका साथ ‘हरिगुरु’ भनेर सम्बोधन गर्थे ।

तत्कालीन नेकपा (एमाले)भक्तपुका सचिवसमेत रहनुभएका लामिछानेको मष्तिष्काघातका कारण गत वैशाख ३१ गते निधन भएपछि उहाँको परिवार मात्रै होइन, सिंगो नगरकोट शोकमा डुबेको छ । परिवारलाई शोकसँगै ऋण कसरी तिर्ने र छोराछोरीलाई कसरी पढाउने भन्ने पिरलो थपिएको छ ।

एक साताको रारा भ्रमण सकेर अघिल्लो शनिबार साँझ घर आइपुग्नुभएका उहाँलाई भोलिपल्ट टाउको दुखेपछि काठमाडौं मेडिकल कलेज सिनामंगल ल्याइएकामा चिकित्सकले मस्तिष्काघात भएको जानकारी गराएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा उहाँको निधन भएको थियो ।

विसं २०२४ फागुन ११ गते जन्मनुभएका उहाँले २०३९ मा तत्कालीन नेकपा (माले)को भातृ संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । विसं २०४६ को आन्दोलनका क्रममा घाइते हुनुभएका उहाँ प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा १३ पटक गिरफ्तार हुनुभएको थियो ।

राजनीतिक जीवनमा कुनै पदको लोभ र आर्थिक लालच नपालेका कारण पनि सम्मानका पात्र बन्दै आउनुभएका लामिछानेले सांसद भएपछि सांसदको सुविधासमेत लिन नपाई संसार छाडेको स्थानीयवासी निरञ्जन बजगाईं बताउनुहुन्छ ।

भनसुन र सोर्सफोर्समा जागिर लगाउनु हुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्दा दुई छोरीले अहिलेसम्म जागिर पाउन सकेका छैनन् । बाह्र कक्षाको पढाइ सकेर उच्च शिक्षाको पर्खाइमा रहेका छोरा कृष्णशरणले उच्च शिक्षा अध्ययन गर्ने इच्छा पनि यहीँबाट विश्राम लिनुपर्ने हो कि भन्ने चिन्ताले लामिछानेको श्रीमती निर्मलालाई पिरोलेको छ ।

श्रीमती निर्मला भन्नुहुन्छ, ‘उहाँले घर परिवारभन्दा पनि पार्टीलाई धेरै माया गर्नुभयो, उहाँको इच्छा र बाटोलाई हामीले रोकेनौँ, अब केही होला कि भन्ने बेलामा छाडेर जानुभयो, अब छोराछोरीको पढाइलाई कसरी निरन्तरता दिने, भूकम्पले ढालेको घरलाई कसरी उठाउने र ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिएको छु ।’

लामिछाने परिवारको अवस्था देखेपछि घरमा सान्त्वना दिन जानेले अर्थ संकलन गरेर दिन थालेका छन् । संकलन गरेर आफूलाई आजसम्म रु पाँच लाख ९२ हजार ८०३ बुझाएको परिवारले जनाएको छ ।

आजसम्म तत्कालीन एमाले भक्तपुरले एक लाख, प्रधानमन्त्री केपी शर्मा ओलीको परिवारका तर्फबाट प्रधानमन्त्रीपत्नी राधिकाले रु ५० हजार, एमाले चाँगुनारायण नगरपालिका–८ कमिटीले रु एक लाख ५४५, अनेमसंघ भक्तपुरले रु ८३ हजार २९०, एमाले–७ चाँगुनगर कमिटीले रु ३१ हजार पाँच सय, एमाले वडा नं ४ नगर कमिटीले रु ३० हजार, जिल्ला समन्वय समिति भक्तपुरले रु १० हजार ५००, गैसस महासंघ भक्तपुरले रु १६ हजार १४०, निर्माण व्यवसायी संघ भक्तपुरले रु ५१ हजार, युवा बचत तथा ऋण सहकारी संस्था लिले रु ७२ हजार २१८, एमाले चाँगु– १ का ईश्वर थापालगायतले रु ३० हजार, विजय बास्तोलाले रु चार हजार, चाँगु– ५ का लोकबहादुर थापाले रु चार हजार १०० र एमाले मध्यपुरथिमि १ ले रु १० हजार पाँच सय परिवारलाई हस्तान्तरण गरेका छन् । अर्थ सहयोगका लागि रकम संकलन गर्ने क्रम जारी रहेको बताइएको छ ।
(रासस)