प्रदेश नं ३ लाई धुलोमुक्त बनाउने मन्त्री स्थापितको अठोट

प्रदेश नं ३ लाई धुलोमुक्त बनाउने मन्त्री स्थापितको अठोट


प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नं प्रदेशका सडकलाई धुलोमुक्त बनाइने बताएका छन् ।

प्रदेश मन्त्रालयद्वारा ‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे प्रदेश नं ३ का जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले काठमाडौंमा आयोजित भेलामा उनले ३ नं प्रदेशलाई धुलोमुक्त बनाउने बताएका हुन् ।

उनले चाँडै नै अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झौता गरेर उक्त प्रविधि नेपाल भित्र्याइ सडकलाई धुलोमुक्त बनाउने जानकारी गराए । ‘प्रदेश नं ३ मा अधिकांश सडक अझै कालोपत्रे भएका छैनन्, त्यसैले ग्राभेल सडकमा एग्रीविन्ड रसायन प्रयोग गरी धुलोलाई नियन्त्रण गरिनेछ’–उनले भने ।

उक्त प्रविधिमार्फत एग्रीविन्ड नामक रसायन प्रयोग गरी सडकलाई धुलौटो बनाएर जमाउने काम गरिन्छ जसले गर्दा सडकमा रहेको धुलो जमेर उड्न पाउँदैन । उनले भौतिक निर्माणका लागि ठेकेदारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले नै निर्माण कम्पनी स्थापनाको तयारी गरेको समेत जानकारी गराए ।

मन्त्री स्थापितले सार्वजनिक खरिद ऐन संशोधन नभएसम्म तत्कालका लागि स्थानीय निकायले उपभोक्ता समितिको निर्णयका आधारमा काम थाल्न निर्देशन दिए । भेलामा कम्पनीका नेपाल प्रतिनिधि सुनील लोहियाले प्रविधिबारे जानकारी गराउँदै धुलो उड्ने सडकका लागि रसायन प्रयोग गरेर धुलो नियन्त्रण गर्न सकिने बताए ।

उनका अनुसार धुलौटे बाटोलाई छ इन्च खन्ने, त्यसमा रहेका ढुङ्गा हटाउने र खनिएको छ इन्चमा माटोलाई पाउडर बनाइ भर्ने, उक्त माटोलाई हल्का पानीले भिजाई एग्रीविन्ड रसायन हाल्ने र घाम चर्को लागेको अवस्थामा केमिकल हालेको दुई घन्टापछि त्यस्तो बाटो कडा भई प्रयोग गर्न योग्य हुन्छ जसले गर्दा धुलो उड्न पाउँदैन । यस प्रविधिको प्रयोग गरेपछि बाटो बनाउन रोडा, बालुवा, अलकत्राजस्ता सामानको आवश्यकता पर्दैन ।

इक्वेडर, पेरु, रोमानिया, कोस्टारिकालगायत मुलुकमा यही प्रविधिमा सडक निर्मित छन् ।