धितोपत्र बजारमा एक अर्ब आठ करोड बढीको कारोबार

धितोपत्र बजारमा एक अर्ब आठ करोड बढीको कारोबार


यस साता धितोपत्र बजारमा एक अर्ब आठ करोड १९ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्चेञ्जले जनताएको छ । बताइएअनुसार यस साता २३ लाख २९ हजार ४४० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

यो कारोबार रकम गत साताको भन्दा ४५ दशमलव ९६ प्रतिशत कम हो । गत साता १८१ कम्पनीको रु दुई अर्ब १९ लाख ९९ हजार बराबरका ४८ लाख १२ हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ४८ अंकले बढेर अन्तिम दिन १३३९ दशमलव ६५ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १२ अंकले बढेर २८२ दशमलव ३० अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु सात करोड एक लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै कारोबार भएको शेयर संख्याका आधारमा पनि सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको दुई लाख ११ हजार कित्ता शेयर कारोबार भएको थियो । यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको राससले जनाएको छ । यस साता डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु नौ लाख ६९ हजार ७९३ बोनस शेयर, प्रभु बैंक लिमिटेको दुई करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई लाख तीन हजार ५६० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

यस्तै साइन रेसुङ डेभलपमेन्ट बैंकको २७ लाख ५१ हजार २३१ कित्ता बोनस, सिर्जना फाइनान्स लिमिटेडको नौ लाख ८२ हजार ८०० कित्ता बोनस, समता माइक्रोफाइनान्सको ६३ हजार ३०० कित्ता बोनस, पोखरा फाइनान्स कम्पनीको नौ लाख ८३ हजार ६८२ कित्ता हकप्रद, मितेरी डेभलपमेन्ट बैंकको ११ लाख ९७ हजार ६९ कित्ता बोनस र प्रिमियर इन्स्योरेन्स कम्पनीको छ लाख ९५ हजार ३९७ कित्ता बोनस शेयरसमेत स्टकमा सूचीकृत भएको छ ।