प्रथम मेयर कपको उपाधिमाथि इटहरीको कब्जा

प्रथम मेयर कपको उपाधिमाथि इटहरीको कब्जा


हेमशंकर सिंह

राजविराज । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा सञ्चालित प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि राष्ट्रिय जागृति क्लब इटहरीले हात पारेको छ । हिजो शुक्रबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीले गाइघाटलाई ४–३ को अन्तरमा पराजित गर्दै उपाधि हात पारेको हो ।

सप्तरीको सप्तकोसी नगरपालिकाको फत्तेपुरस्थित सहिद स्मृति रंगशालामा भएको प्रतियोगिताको फाइनल गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटको आधारमा इटहरीले ४–३ को अन्तरले गाइघाट फुटबल क्लब उदयपुरलाई पराजित गरेको हो ।

प्रथम मेयर कप फुटबलको उपाधिसँगै इटहरीले एक लाख नगद पुरस्कारसहित शिल्ड प्राप्त गरेको छ । उपविजेता गाइघाटले भने ५० हजार रुपियाँमा चित्त बुझाएको छ ।

सप्तकोसी नगरपालिका र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरको संयुक्त आयोजनामा वैशाख २७ गतेदेखि भएको प्रतियोगितामा सप्तरी, उदयपुर, सिरहा, धनुषा, मोरङ र सुनसरी जिल्लाका आठवटा टिमले सहभागिता जनाएको थियो ।

विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल संघका निवर्तमान उपाध्यक्ष रुपेश अधिकारी, नगरप्रमुख उत्तम शर्मा, उपप्रमुख आशाकुमारी चौधरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एजेट न्यासुर तामाङ, त्रियुगा स्पोर्ट्स क्लबका अध्यक्ष अमर खवासलगायतकाले नगद पुरस्कार, शिल्ड, प्रमाणपत्र र मेडल वितरण गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी इटहरीका समीर राई र म्यान अफ दि म्याच गाइघाटका विश्चित तामाङ, उत्कृष्ट गोलकिपर इटहरीका विष्णु चौधरी, वेस्ट डिफेन्स आयोजक क्लबका बुछु माझी घोषित भए ।