क्युबामा विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु

क्युबामा विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु


क्युबामा विमान दुर्घटना भएको छ । ल्याटिन अमेरिकी मुलुक क्युबाको राजधानी हवानाको जोसे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै भएको सो दुर्घटनामा परी सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

त्यहाँको सरकारी एयरलाइन्स क्यूबाना डे एविएशनको ‘बोइङ ७३७’ नामक विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेका बेला दुर्घटना भएको हो । मृत्यु हुनेमा ६ जना चालक दलका सदस्य रहेका छन् । सो दुर्घटनामा तीन जना मात्रै बाँच्न सफल भएका छन् र ती पनि गम्भीर घाइते रहेको जनाइएको छ ।

विमानमा यात्रुहरू मात्रै १०४ जना र क्याबिन क्रुलगायत कुल ११३ जना सवार रहेको बताइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार उड्नेबित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । त्यसपछि विमानमा आगो लागेर विस्फोट भएको हो ।

गएराति (स्थानीय समय अनुसार दिउँसो १२ बजेतिर) सो विमान दुर्घटना भएको हो । विमान करिब ४० वर्ष पूरानो रहेको जनाइएको छ ।

दुर्घटनापछि त्यहाँका राष्ट्रपति मिगेल डियाजÞ कनेलले सो स्थलको अवलोकन गरेका छन् । राहत तथा उद्धार टोली समेत तत्कालै दुर्घटनास्थल पुगेको बताइन्छ ।

क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर सो विमान सञ्चालन गर्दै आएको थियो । के कारणले दुर्घटना भएको हो भन्ने खुलिसकेको छैन, सोबारे अनुसन्धान थालिएको त्यहाँका अधिकारीहरूले बताएका छन् । एजेन्सीको सहयोगमा ।