‘एमाले-माओवादी एकता’प्रति विप्लवले दिए कडा अभिव्यक्ति

‘एमाले-माओवादी एकता’प्रति विप्लवले दिए कडा अभिव्यक्ति


निवर्तमान नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको पार्टी एकीकरणलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले ‘क्रान्तिका भगौडा र नामकटुवा कम्युनिष्टहरूको गठजोड़’को संज्ञा दिएका छन् । पार्टी एकीकरण घोषणाको भोलिपल्ट (४ जेठ, ०७५) प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले ‘एमाले झापा विद्रोहको वजन र उचाई थेग्न नसकेर साम्राज्यवादी, संशोधनवादी, पुँजीवादीहरूको शरणमा लम्पसार हुन पुगेका भगौडाहरूको झुण्ड’ र ‘माओवादी केन्द्र जनयुद्धको ओज, गरिमालाई मूल्यबोध गर्न नसकेर, शहीदको रगतको टाटा नबस्दै रनाहमा परेर साम्राज्यवादी दलाल संसदवादी फासीवादको टाइमुनि टाउको घुसार्न पुगेको कायर भगौडा’ भन्ने कडा अभिव्यक्ति दिएका हुन् ।

‘बलिदानले उर्जा पैदा गर्छ भनेजस्तै गद्दारी र विसर्जनले पनि जनक्रान्ति जन्माउने शक्ति पैदा गर्दछ’ भन्दै विप्लवले एमाले र माकेको एकताले क्रान्तिकारीमा नयाँशक्ति र अवसर पैदा गरेको दाबी गरेका छन् । कथित एकता प्रकरणले स्वाभाविक रुपबाट सबैतिर रहेका इमान्दार र क्रान्तिकारी कमरेडहरूलाई एकताबद्ध र ध्रुवीकृत गर्ने प्रक्रिया निर्णायक मोडतिर पुग्ने उल्लेख गर्दै उनले आत्मसमर्पणवाद, अवसरवाद, संशोधनवादलाई स्पष्ट रुपमा आफैले देखेर बुझ्न पाउनु भनेको क्रान्तिकारीहरूलाई नयाँ क्रान्तिका वरिपरि गोलबन्द र ध्रुवीकरण गर्ने अवसर पनि हो भन्दै कार्यकर्तामा उर्जा भर्ने प्रयत्न गरेका छन् ।

महासचिव विप्लवको भनाई छ– ‘सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरू, इमान्दार कमरेडहरू ढिला नगरी ध्रुवीकृत हुने बेला आएको छ ।’

विज्ञप्तिको आरम्भमा भनिएको छ– ‘२०७५ जेठ ३ गते एमाले र माकेले एकताको घोषणा गरे । उनीहरूले एकता गरेर ऐतिहासिक र अद्भूत कार्य गरेको, नयाँ युगको शुरुवात भएको जनताको आकाङ्क्षा पूरा गरेको, देश शान्ति, समृद्धि, स्थिरता र विकास शुरु हुनेसम्म भन्न भ्याएका छन् । सरकारी र केही विदेशी दामबाट सञ्चालित सुगाहरूले नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ इतिहास शुरु भएको घोषणा गरे । यसले उनीहरू आफैलाई असुरक्षा र तनावबाट केही समयका लागि हल्का बनाउन राहत महसुस गर्न प्रयास गरिरहेका भान हुन्छ ।’

यसैमा अगाडि भनिएको छ– ‘गरिवी, उत्पीडन, लुछाचँुडी, अभाव, भ्रष्टाचार, महँगी, राष्ट्रघात र अराजकताबाट हैरान अहिलेको अवस्थामा अवसरवादी पुँजीवादीले अपत्यारिलो देखिने सफलता सम्झेका होलान्, तर उनीहरूको भाषण जनयुद्ध र जनआन्दोलनको भीषण प्रतिज्ञा एवम् प्रतिबद्धताबाट चिप्लिएर संसदीय व्यवस्थाको फोहर नालीमा मिसिएको अपराधको क्रन्दन बाहेक केही पनि होइन ।’

‘यहाँ न समृद्धि छ, न हुनेवाला नै छ । उनीहको यो हर्कत सरासर झुटको अभिव्यक्ति हो । यो उनीहरूको कुनै अवसरवादी कमजोरी पनि होइन । यो त उनीहरू आफ्नै विचार, राजनीति, आदर्शको भारबाट थिचिएर भागेका नामका कम्युनिष्टहरू हुन्, र उनीहरूको एकता भनेको क्रान्तिका भगौडा र नामकटुवा कम्युनिष्टहरूको गठजोड़ हो ।’

दुवै पक्षलाई क्रान्ति, बलिदान, शहीद, बेपत्ता तथा घाइते योद्धालाई कहिल्यै नभुल्ने गरी धोका र गद्दारी गर्ने समूहको संज्ञा दिँदै विप्लवले प्रष्ट्याएका छन्– ‘यी दुवै आफू ‘क्रान्तिकारी’ हुँदा एकअर्कालाई दुश्मन भन्ने गर्दथे, तर आज जब दुवै लुटेरा पूँजीवादी व्यवस्थामा प्रवेश गरेर सामाजिक दलाल पुँजीवादीमा पतन हुन पुगे, तब एकअर्काका सुखदुःखका साथी, कम्युनिष्ट र कमरेड भन्दै एकताको नाटक रच्न पुगेका छन् । यिनीहको एकता कम्युनिष्ट एकता होइन कम्युनिष्ट आदर्शबाट च्युत भएका घोर अवसरवादी संशोधनवादीको एकता हो । क्रान्तिबाट भागेर ‘पुँजीवादको पाले’मा पतन भएका संशोधनवादीहरूको गठजोड़ हो । विचार मरेको तुच्छ स्वार्थ बोकेको जनघाती र राष्ट्रघातीहरूको घोर मिलाप मात्र हो । यसलाई अर्को भाषामा टाट पल्टिएको बैंक र हुन्डी व्यापारीसँगको विलय बाहेक अरु भन्न मिल्दैन ।’

एमाले–माओवादी केन्द्रको एकतालाई कम्युनिष्ट आन्दोलनलाई अँध्यारोतिर धकेल्ने व्यर्थको गठजोड़ भन्दै उनले अगाडि भनेका छन्– ‘एकताको सबैभन्दा भद्दा र कुरुप चित्र भनेको प्रचण्ड–माओवादीको सम्पूर्ण रुपले विसर्जन हो । प्रचण्डहरू यो आत्मसमर्पणको खाडलमा जाकिन्छन् भन्ने कुरा हामीले पहिला नै देखेको र भनेको पनि हो । हामीले उनीहरूको गड़बडीलाई विचलन देखेर नै उनीहरूबाट विद्रोह गरी क्रान्तिकारी पार्टीको पुनर्गठन गर्ने पहल गरेका हौँ ।’

यतिबेला सबै नागरिकहरू, विशेषतः जनयुद्धमा सहभागीहरू सबैले तत्कालै बुझ्ने गरी प्रचण्डको स्वार्थी, फोहरी र अवसरवादी अनुहार उदाङ्गो भएको विप्लवले जनाएका छन् । प्रचण्डहरू भित्र–भित्र जहिले पनि क्रान्तिकारीहरूलाई तुच्छ र घृणात्मक आरोप गर्ने गर्दथे भन्दै प्रचण्डहरूले जनयुद्धका प्रतिबद्धताबाट आफूहरू पछि नहटेको हल्ला गरिरहे पनि अब प्रचण्डहरूमा माओवादीको ‘म’ पनि नरहेको दाबी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘उनीहरू प्रतिक्रियावादमा पतन भएको दुश्मनसँग विलय हुन पुगेका छन् । र, स्वयंलाई दलाल पुँजीवादी संसदीय व्यवस्थाको पाले र क्रान्तिको बाधकमा पतन गराएका छन् । अब उनीहरूलाई के भन्ने ? विषय गम्भीर छ । केपी र पिकेले जतिसुकै शान्ति, स्थिरता र समृद्धिको हावा चलाए पनि त्यो संशोधनवादी सामाजिक दलाल पुँजीवादीहरूको स्याल हुइँया मात्र हो । उनीहरू दलाल पुँजीवादमा पुगेका सामाजिक दलाल, दलाल पुँजीवादी व्यवस्था आफैमा शोषण, दमन र उत्पीडनको अर्को नाम हो । त्यो आफैमा असाध्यै अस्थिरता र विपत्तिको कारण हो । त्यसैले यो व्यवस्थामा केपी र पिकेको भगवानले पनि शान्ति र स्थिरता दिन सक्ने छैन ।’

‘केपी–पिकेले पहिले नै नेकपामाथि फासीवादी दमन गरेर युद्धको ऐलान गरिसकेका छन् भने भविष्यमा यो प्रक्रिया अझ तीव्र भए जानेवाला छ । यसको जवाफ क्रान्तिबाट मात्र दिन सकिन्छ र दिन अनिवार्य छ । अनि केपी–पिकेको शान्ति कताबाट हुन सक्दछ ? बाहिर चारैतिर छरिएको संघर्ष उनीहरूतिर केन्द्रीत भएर जानेवाला छ । उनीहरूले सोच्लान् बलियो सरकार भएपछि क्रान्तिकारी उग्रवादीहरूलाई दमन गर्न सजिलो हुन्छ । यो उनीहरूको भ्रम र कल्पना मात्र हो । एकलौटी शासन सत्ता हुँदा त पुँजीवादीले नियन्त्रण गर्न सम्भव भएन, अणु बम भएका शक्तिले त क्रान्तिकारीलाई रोक्न सकेनन्, साम्राज्यवादी सेनाले त क्रान्तिकारी शक्तिलाई परास्त गर्न सकेन भने यी संसदवादी, संशोधनवादी, आत्मसमर्पणवादीहरूले सरकार परिवर्तन भयो भन्दैमा क्रान्ति रोकिने र नयाँ युगको शुरु हुन्छ भन्ने कल्पना नगरे हुन्छ ।’

हेर्नुहोस् विप्लवको विज्ञप्ति-