भारत र नेपाली टोलीबीच खो खो सिरिज

भारत र नेपाली टोलीबीच खो खो सिरिज


नेपाल खो खो सङ्घ र खोे खो फेडेरेसन अफ इन्डियाबीच भारतका विभिन्न राज्यमा खो खो खेलको टेस्ट सिरिज हुने भएको छ । उक्त खो खो सिरिजमा नेपालको राष्ट्रिय खो खो टिमले सहभागिता जनाउने सङ्घका महासचिव सानुराजा शाक्यले बताएका छन् । उक्त सिरिज २०१८ मा सहभागिता जनाउने नेपाली टोली जेठ ५ गते शनिबार भारत प्रस्थान गर्दै छ ।

खो खो सिरिजमा भारतको हरियाणा, राजस्थान, इन्दौर र मुम्बईको खो खो टोलीसँग नेपालको टोलीले प्रतिस्पर्धा गर्नेछ । उक्त टेस्ट सिरिज दुई सातासम्म सञ्चालन हुनेछ । टोलीको नेतृत्व खो खो सङ्घका उपाध्यक्ष प्रदीप महर्जनले गरेका छन् । २१ सदस्यीय टोलीमा चारजना प्रशिक्षक, १५ जना खेलाडीसहित दुईजना पदाधिकारी रहनेछन् ।

आगामी वर्ष २०१९ मा नेपालमा आयोजना हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उत्कृष्ट प्रदर्शन र खेलाडीको स्तरवृद्धिका लागि टेस्ट सिरिज खेल्न लागेको महासचिव शाक्य बताएका छन् । यो सिरिजपश्चात् नेपाली खेलाडीको स्तरोन्नतिमा निकै सुधार हुने र १३औँ सागमा नेपाली खो खो टिमले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ ।

नेपाल–भारत खो खो टेस्ट सिरिज २०१८ आयोजना गर्न भारतीय खो खो फेडेरेसनले छुट्टै आयोजक समितिको गठन गरेको छ । उक्त टेस्ट सिरिज खेल्न जाने नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गर्ने सङ्घले जारी गरेको प्रेस विज्ञप्ति जनाइएको छ ।