आईसीसीको नजरमा परे सन्दीप

आईसीसीको नजरमा परे सन्दीप


इंग्ल्यान्डको लर्डसमा जेठ १९ गते सञ्चालन हुने वेस्टइन्डिजविरुद्धको ट्वान्टी–२० खेलमा नेपालका युवा खेलाडी सन्दीप लामिछाने छनोट भएका छन् । बंगलादेशका अलराउन्डर सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि सन्दीप छनोटमा परेका हुन् । सन्दीपलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्व–११मा छनोट गरेको हो ।

इन्डियन प्रिमियम लिग (आईपीएल) खेल्ने पहिलो खेलाडी बनेका सन्दीपलाई आईसीसीले विश्व–११ मा छनोट गरेपछि विश्वस्तरीय टिमबाट खेल्ने नेपालको पहिलो खेलाडी बनेका छन् । विश्व–११ बाट खेल्ने अवसर पाएपछि सन्दीपले आफू निकै भाग्यमानी भएको प्रतिक्रिया दिएका छन् । ‘यो मेरो मात्र नभई नेपाल र सम्पूर्ण नेपालीको गौरवको कुरो हो,’ सन्दीपले बताए ।

इंग्ल्यान्डको लर्डसमा जेठ १९ गते हुने विश्व–११ को नेतृत्व इंग्ल्यान्डका कप्तान इयोन मोर्गनले गर्नेछन् । मोर्गनको नेतृत्वमा हार्दिक पाण्डेय, दिनेश कार्तिक, शोयब मलिक, साहिद आफ्रिदी, तमिम इकबाल, थिएरा परेरा, ल्युक रकी, मिचेल म्याकेलेन्घन, रसिद खान र नेपालका सन्दीप लामिछाने खेल्नेछन् ।

आईपीएलमा एउटा खेल मात्र खेल्न पाएका सन्दीपले आफ्नो डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले आफ्नो पहिलो खेलमा चार ओभर बलिङ गर्दै २५ रन दिएर १ विकेट लिएका थिए । सन्दीपले भारतीय टिमका पूर्वविकेटकिपर पार्थिव पटेललाई एलबीडब्लूमा आउट गरेका थिए ।

यही उत्कृष्ट प्रदर्शन मध्यनजर गर्दै आईसीसीले सन्दीपलाई विश्व–११ टोलीमा छनोट गरेको थियो । यो प्रतियोगितामा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ ।