पारस र शोभा भए वर्षका उत्कृष्ट खेलाडी

पारस र शोभा भए वर्षका उत्कृष्ट खेलाडी


यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीमा क्रमशः राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन घोषित भएका छन् । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा काठमाडौंमा आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको सम्मान वितरण कार्यक्रममा उत्कृष्ट खेलाडी घोषणा गरिएको हो ।

वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा भने कप्तान खड्कासँगै क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की पनि परेका र वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा गौचनसँगै धनुकाँडकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ पनि परेका छन् ।

वर्षको उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा चुनिए । प्रशिक्षकतर्फ टमाटासँगै विनोद दास, फुटबलका छिरिङलोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापा मगर मनोनयनमा परेका थिए ।

त्यसैगरी पिपुल्स च्वाइसतर्फको अवार्ड भने टेबल टेनिसका स्यान्टु श्रेष्ठले पाए । पिपुल्स च्वाइस विधामा स्यान्टुसँगै क्रिकेटका सन्दीप, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मानबहादुर श्रेष्ठ थिए । वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकको उपाधि विजेताले ट्रफीसहित पल्सर मोटरसाइकल एक एक थान प्राप्त गरे ।

त्यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर सन्दीप घोषित भए । युवाको मनोनयनमा लामिछानेसँगै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ र बक्सिङकी पुनम रावल थिए ।

नेपाली फुटबलको श्रीवृद्विमा उल्लेखनीय योगदान पुऱ्याएका अशोक केसी लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए भने फरक प्रकृति (अपाङ्गता)बाट ह्वीलचेयर बास्केटबल र क्रिकेट खेलमा उल्लेखनीय योगदान पु¥याउनुभएका नेपाली सेनाका हिमाल लम्साल पारा एथलिट अवार्डबाट सम्मानित भए ।

स्पेशल अवार्डबाट राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी सम्मानित भए । वर्षको युवा, लाइफटाइम एचिभमेन्ट, पारा एथलिट र स्पेशल अवार्डबाट सम्मानित हुने खेलाडीले ट्रफीसहित जनही रु ५० हजार पुरस्कार पाए । विजेता तथा मनोनयनमा पर्ने खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, आयोजक मञ्चका अध्यक्ष महेश आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए ।