एमाले-माओवादी पार्टी एकताको नजिक !

एमाले-माओवादी पार्टी एकताको नजिक !


आठ महिना अघिदेखि पार्टी एकता गर्ने सहमतिमा पुगेका एमाले–माओवादी अन्ततः एकताको मिति घोषणा गर्ने समहतिमा पुगेका छन् । आज बुधबार दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा ६ गते वा त्योभन्दा अघि नै एकीकरण घोषणा गर्ने स्रोतले जनाएको छ ।

एमाले स्रोतले भने भोलि जेठ ३ गते परेको स्वर्गीय मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एकीकरण हुने सम्भावना रहेको जानकारी दिएको छ । यसका लागि भोली विहिबार दुवै पार्टीका स्थायी कमिटीका बैठक डाकिएका छन् । एमालेले बालुवाटारमा विहान ११ बजे नै स्थायी कमिटीको बैठक राखेको छ । माओवादीले आफ्ना सम्पूर्ण केन्द्रीय नेताहरूको बैठक भोलि बेलुका ३ बजे आह्वान गरेको छ । भोलि नै दुवै पार्टीका सदस्य सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक राखिएको स्रोतले जनायो ।

एमाले उपमहासचिव विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम ल्याउनुअघि नै पार्टी एकता हुने र सम्भवत भोलि मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर एकता घोषणा गर्ने तयारी थालिएको जानकारी दिए । दुवै पार्टीका अध्यक्ष ओली र प्रचण्डले मदन भण्डारीको शालिकमा माल्यार्पण गरेर एकता घोषणा गर्र्ने विषयमा समेत छलफल भइरहेको पौडेलले बताए ।

माओवादीले समेत पार्टी एकता कुनै हालतमा गर्ने तयारीमा जुटेको बताएको छ । ‘अब पार्टी एकता भएरै छोड्यो, एकता संयोजन समितिको बैठक भोलि बिहानैै बस्नेछ’, माओवादी नेता जनार्दन शर्माले भने, ‘एकताका लागि दुवै पार्टीका अध्यक्षहरू सहमतिमा पुगिसक्नुभयो ।’ एकताका लागि दुवै पार्टीमा आजैबाट गृहकार्य शुरु भएको उनले जानकारी दिए । पार्टी एकताका लागि हिजो मंगलबारदेखि नै एमाले वरिण्ठ नेता माधवकुमार नेपालले प्रचण्ड लगायतका नेताहरूलाई भैटेर तीव्र रुपमा पहल गरेका छन् ।

ज्ञातव्य छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि दुवै पार्टीलाई एकता गर्न दबाब परेको थियो । मोदीको भ्रमणले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच तिक्तता बढेको चर्चा चलैको बेला दुवै पार्टीका एकता पक्षधर नेताहरूले कुनै पनि हालतमा एकता गर्नुपर्ने दबाब दिएपछि बुधबार नै ओली र प्रचण्डले करिब २ घण्टा छलफल गरेका थिए ।