अन्तर्राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

अन्तर्राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि


नेपाल तेक्वान्दो सङ्घको तत्वावधान तथा युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता जेठ ४ गते शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १३ राष्ट्रबाट ३ सय ८३ पुरुष तथा २ सय ५० महिला खेलाडीको सहभागिता रहने आयोजक समितिका सचिव कुमार लामा घिसिङले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

ग्यरोगीमा ४६ र पुम्सेमा ३८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पहिलो संस्करणमा प्रदर्शनी खेलका रूपमा राखिएको पारा विधालाई यसपटक प्रतिस्पर्धाका रूपमा समावेश गरिने आयोजकले जनाएको छ । त्यसमा पुरुषमा ३ र महिलामा २ तौल समूहमा भिडन्त हुनेछ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख ३९ हजार ६ सय रुपैयाँ खर्च हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन् ।