लाखेका कारण कराते समाप्त हुँदै छ

लाखेका कारण कराते समाप्त हुँदै छ


विश्व कराते महासङ्घले प्रकाशमोहन धौभडेललाई इन्डोनेसियाको राजधानी जकार्तामा आयोजना हुन गइरहेको १८औँ एसियाली खेलकुद प्रतियोगिता रेफ्रीमा मनोनीत गरे पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कराते महासङ्घका अध्यक्ष पुरेन्द्रविक्रम लाखेले उक्त निर्णयलाई उल्ट्याउँदै एसियाडको रेफ्रीबाट हटाएपछि कराते पुनः विवादमा तानिएको छ । लाखेको उक्त कदमको अहिले करातेसँग आबद्ध थुप्रै प्रशिक्षक र पदाधिकारीले विरोध जनाएका छन् । यो घटनापश्चात् निकै आक्रोशित बनेका लाखेकै महासङ्घका महासचिव केदारबाबु सिवाकोटीसँग घटना र विचारले गरेको सङ्क्षिप्त कुराकानी :

० अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कराते महासङ्घको नाम सुनिए पनि काम त त्यस्तो देखिँदैन नि, कतै महासङ्घ विवाद गर्न र विदेश घुम्नका लागि मात्रै गठन गरिएको त होइन ?
– एउटा व्यक्ति पुरेन्द्रविक्रम लाखेका कारण अहिले नेपाल कराते महासङ्घ नाम मात्रैकै सङ्घमा परिणत भएको छ । जुन उद्देश्यअनुरूप तत्कालीन समयमा यो सङ्घ गठन भएको थियो, त्यसले अहिलेसम्म आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन । महासङ्घ अहिले महासङ्घ नभई एकल सङ्घमा परिणत भएको छ, त्यसको नेतृत्व अध्यक्ष लाखेले गरेका छन् । उनैले महासङ्घलाई विवाद र विदेश घुम्ने खुड्किलो बनाएका छन्, यसमा हाम्रो कुनै सहभागिता छैन ।

० एक्लो व्यक्तिले कसरी संस्था हाँक्न सक्छ त, यो त नियमसङ्गत पनि हुँदैन, संस्था पनि कहीँ व्यक्तिगत रूपमा चल्छ र ?
– चलिराख्या छ त, शक्तिका आडमा एक्लो पनि चल्दो रहेछ । हामीले महासङ्घ गठन गर्दा २१ सदस्यीय कार्यसमिति थियो । त्यसको अध्यक्ष पुरेन्द्रविक्रम लाखे, उपाध्यक्षमा मीनकृष्ण श्रेष्ठ, किरण राई, प्रकाशमोहन धौभडेल थिए । त्यस्तै महासचिव केदारबाबु सिवाकोटी, सचिव सिंहबहादुर राणा, सहसचिव द्वारिका उप्रेतीलगायत थियाँै । अहिले महासङ्घको केन्द्रीय पदाधिकारीहरूको बहुमत हाम्रो पक्षमा छ, तर लाखे अध्यक्षको हैसियतमा राज गरिरहेका छन् । यसभन्दा ठूलो विडम्बना के अरू हुन सक्छ ?

० यतिबेला प्रकाशमोहन धौभडेललाई १८औँ एसियाली खेलकुदमा रेफ्री गर्नबाट वञ्चित गराएको छ, उनलाई रेफ्रीबाट निकाल्नु के उनी अयोग्य नै हुन् त ? अहिले यो घटनाले कराते पुनः विवादमा तानिएको छ, आखिर सत्यता के हो ?
– धौभडेल विश्व कराते महासङ्घको ‘बी’ लाइसेन्सहोल्डर रेफ्री हो । साथै सन् २०१८ मा दुबईमा सम्पन्न भएको एसियन रेफ्री सेमिनारमा काता र कुमुतेमा पास हुने एक मात्र नेपालको रेफ्री हो । तर, यस्तो व्यक्तिलाई अहिले लाखेको व्यक्तिगत स्वार्थका कारण बाइपास गर्दै एसियाडमा रेफ्री गर्नबाट वञ्चित गरिएको छ । यसको जति निन्दा गर्दा पनि कम हुन्छ, लाखेको यो हर्कतले नेपालमा कराते समाप्त हुने खतरा बढेको छ । अब लाखेको यो घिनौलो खेलको पर्दाफास गर्नुको विकल्प छैन ।

० अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीले धौभडेलको मुद्दामा उचित कदम उठाउन सक्थ्यो नि, ओलम्पिक कमिटीले मौनता साँध्नुको कारण के होला ?
– हामी पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीसँग आबद्ध भएका कारण बारम्बार कराते खेलाडी, प्रशिक्षक, रेफ्री सेमिनार र अन्तर्राष्ट्रिय अफिसियल प्रतियोगितामा एउटा व्यक्ति पुुरेन्द्रविक्रम लाखेको सिफारिस मात्र लागू गर्नुभएन भनेर पटकपटक अध्यक्ष जीवनराम श्रेष्ठलाई अनुरोध ग¥यौँ, तर उनले कहिल्यै सुनेनन् । श्रेष्ठले भेटमा म करातेमा अन्याय हुन दिन्नँ भने, तर करातेमा अन्याय र दमन गर्ने व्यक्ति लाखेलाई साथ दिए । अहिले जापानमा भइरहेको रेफ्री सेमिनार, प्रशिक्षक सेमिनार, एसियन कराते गेममा लाखेको सिफारिसलाई मात्र श्रेष्ठले स्थान दिए । मसँगको भेटमा श्रेष्ठले दुवैलाई मिलाएर पठाउँछु भनेका थिए, तर व्यवहारमा त्यस्तो देखिएन । उल्टै लाखेको व्यक्तिगत स्वार्थसिद्ध पूरा गर्न लालमोहर लगाइदिए । अब खेलाडीबिनाको जापानको एसियन गेम कस्तो होला सोझै अनुमान लगाउन सकिन्छ । उक्त प्रतियोगितामा एसियन रेफ्री जज कसैलाई पठाइएन । के योग्य व्यक्तिहरूको खाँचो छैन यो देशमा ? ओलम्पिक चार्टरको नाममा ओलम्पिक कमिटीले खेलकुदमा ताण्डव गर्न मिल्छ, यो कस्तो विडम्बना हो ?

० विगत एक दशकदेखि कराते विवादमा पर्नुमा तपाईंको पनि विशेष योगदान रहेको छ, यसैकारण तपाईंलाई करातेको अवसरवादी पदाधिकारी भन्छन्, यसमा कत्तिको सत्यता छ ?
– कराते विवादको कारण म होइन, राष्ट्रिय खेलकुद परिषद् हो । राखेपका सदस्यसचिव केशवकुमार विष्टले परिषद्को जिम्मेवारी सम्हालेलगत्तै तीन महिनामा करातेको निर्वाचन गरेर विवाद समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । तर, अहिले साढे दुई वर्षभन्दा बढी समय भइसक्यो, केही गर्न सक्नुभएको छैन । अहिले पनि दुईवटा कराते अस्तित्वमा छन् । सम्बन्धित निकाय माखो नमार्ने अनि म कसरी अवसरवादी र विवादको पात्र बनेँ ?

० राखेपले करातेको निर्वाचन नगराउनुको रहस्य के हो त ? निर्वाचन भए के हुन्थ्यो ?
– यहाँ सदस्यसचिव विष्टको आँट र साहसको कुराभन्दा पनि परिषद्ले कहिल्यै करातेको निर्वाचन गराउने चासो देखाएन । आलटाल र टालटुलको रणनीतिमा मात्रै देखियो, जसलाई म भ्रमको खेती भन्न चाहन्छु । जिम्मेवार निकायले खुट्टा कमाउनु र आफ्नो दुनो मात्रै सोझ्याउनु करातेका लागि दुर्भाग्य बन्यो । जसको सबैभन्दा बढी फाइदा अहिले पुरेन्द्रविक्रम लाखेलाई भएको छ । उनले करातेको नाममा सिदा टिप्दै गैरकानुनी हर्कत गर्ने अवसर पाएका छन् ।

० तपार्इं गुटबन्दीमा नलागेको भए त करातेमा विवादै उत्पन्न हुने थिएन नि, पहिले गुटबन्दी गर्नुभो, अहिले के चित्त बुझेन र टाढिनु भो, अनि मेरो कुनै भूमिका छैन कसरी भन्नुहुन्छ ?
– म करातेको सिपाही हुँ, करातेको हरेक पक्षमा लडेको व्यक्ति हुँ, म करातेबिनाको जीवन सोच्न पनि सक्तिनँ । त्यसैले मैले जहिले पनि गुटबन्दीभन्दा करातेलाई प्राथमिकतामा राखेको छु । देश, काल, परिस्थितिअनुसार मैले पनि केही गल्ती गरेको हुँला, त्यो म स्वीकार गर्छु । तर, मेरो चाहना सधैँभरि एउटै थियो ‘करातेको एकता’ । म अहिले पनि यसमा अडिग छु । अहिले एसियाड सन्मुख छ, १३औँ साग नेपालमा हुँदै छ, यी महत्वपूर्ण प्रतियोगितामा पदक जित्न र मुलुकलाई ऐतिहासिक सफलता दिलाउन कराते एक हुनु जरुरी छ । म आज तपाईंको लोकप्रिय पत्रिकामार्फत घोषणा गर्न चाहन्छु– राष्ट्र र करातेका लागि हित हुन्छ भने म जस्तोसुकै त्याग गर्न तयार छु ।

० करातेको नामबाट सबैभन्दा बढी खेलकुदमा ‘मेनपावरको धन्दा’ हुन्छ भन्छन् नि, यसमा कत्तिको सत्यता छ ?
– तपाईंले सही कुरा उठान गर्नुभयो, यो सतप्रतिशत सत्य हो । कराते खेलको नामबाट मेनपावरको धन्दा गर्नेहरूको गिरोह नै सक्रिय छ खेलकुदमा । त्यस गिरोहले नै करातेलाई एक हुन दिएको छैन, यो पनि करातेको तीतो सत्य हो । आफ्नो धन्धा चौपट हुने सन्त्रासले उनीहरू करातेलाई मिल्न नदिई फाइदा उठाइरहेका छन् । ती व्यक्तिहरूको पर्दाफास गर्नेबेला भइसकेको छ, त्यसको पर्दाफास निकट भविष्यमै म आफैँले गर्नेछु । त्यसैले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बीबीआई ब्युरोले करातेका नाममा सङ्घ दर्ता गरेर जसरी मेनपावरको धन्दा गरेर गैरखेलाडी सप्लाई गरिरहेका छन् तिनीहरूलाई कारबाही गर्नुपर्छ । त्यो राखेपअन्तर्गत खेलकुद विभाग, सङ्घसंस्था र अख्तियारमा यी फाइल सुरक्षित छन् । खेलकुदमा भएका सम्पूर्ण आर्थिक अनियमितताको छानबिन हुनुपर्छ ।

– श्रीविक्रम भण्डारी