सामुदायिक भवन निर्माणमा ललिताको अग्रसरता

सामुदायिक भवन निर्माणमा ललिताको अग्रसरता


निरन्तर सामाजिक क्रियाकलापमा संलग्नता जनाएर स्थानीयवासीको प्रशंसा बटुल्दै आएकी ललितपुर महालक्ष्मी नगरपालिकानिवासी ललिता खनियाँले थप प्रशंसनीय कार्य गरेकी छिन् । नगरपालिकाको वडा नम्बर ५ हनुमन्ते पुलनजिकै (मोतीनगर)मा निर्माण हुन लागेको सामुदायिक भवन निर्माणकार्यमा अग्र्रसरता लिएपछि ललिता प्रशंसाको पात्र बन्न पुगेकी हुन् ।

महालक्ष्मी नगरपालिका– ५ नम्बर वडाको सहयोगमा उक्त भवन निर्माण हुन लागेको हो । सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष ललिता खनियाँका अनुसार ५ नम्बर वडाले उक्त भवन निर्माणका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । सामुदायिक भवन निर्माणका लागि काङ्ग्रेस जिल्ला सदस्यसमेत रहेकी ललिताको परिवारबाट एक लाख र उनकै तदारुकतामा अन्य क्षेत्रबाट चार लाख गरी पाँच लाख रकम थप जुटेको छ । भवन निर्माणका लागि आवश्यक पर्ने थप रकम स्थानीयको जनश्रमदानबाट पूर्ति गरिने समाजसेवी खनियाँको भनाइ छ । उनका अनुसार यसै वर्ष भवन निर्माणकार्यले पूर्णता पाउनेछ ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उक्त सामुदायिक भवन निर्माणकार्यको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा वडाध्यक्ष राजकुमार सिलवाल, स्थानीय अगुवा महिला कार्यकर्ताहरूलगायतको उपस्थिति थियो । ललिता खनियाँ निरन्तर सामाजिक कर्ममा सक्रियताका कारण आफ्नो क्षेत्रमा लोकप्रिय छिन् । स्थानीय लालीगुराँस महिला सशक्तीकरण समाजकी अध्यक्ष, खानेपानी उपभोक्ता समितिको कोषाध्यक्ष, मोतेश्वर समाज सुधार समितिको सचिवलगायतका जिम्मेवारी निर्वाह गर्दै आएकी ललिता सामुदायिक भवन निर्माण समितिको अध्यक्ष हुन् ।