सुन व्यापारीले काङ्ग्रेसलाई झुक्यायो

सुन व्यापारीले काङ्ग्रेसलाई झुक्यायो


काठमाडौं/ नेपाली काङ्ग्रेसको पार्टी कार्यालय भवन निर्माण गर्ने कुरा त्यसै सेलाएको छ । पार्टीभित्रको विवाद समाप्त नभई भवन बनाउने कुराको टुङ्गो नलाग्ने, तर विवादचाहिँ कहिल्यै समाप्त हुने स्थिति नभएका कारण काङ्ग्रेसको घर कहिल्यै नबन्ने पो हो कि भन्ने आशङ्का पैदा भएको छ । पहिले–पहिलेभन्दा कार्यालय भवन बनाउने कुरामा काङ्ग्रेस यसपालि अलिक गम्भीर देखिएको थियो र रवीन्द्रलाल श्रेष्ठ नामका एकजना सुन व्यापारीलाई कार्यालय भवन बनाइदिने सर्तमा नै राष्ट्रिय सभाको सदस्य बनाइएको थियो ।

तर, सांसद बन्नेबित्तिकै सुन व्यापारीको नियत बदलियो, काङ्ग्रेसको घर बनाउनुपर्ने जरुरी रवीन्द्रलालले देखेनन् । अचेल कार्यालयको कुरा गर्दा उनले पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई देखाएर आफू चोखिने गरिरहेका छन् । कसैले पार्टी कार्यालय भवनको कुरा गर्नेबित्तिकै रवीन्द्र भन्ने गर्छन्, ‘मलाई किशुनजीले अहिले पर्ख भन्नुभएको छ, उहाँले भन्दाभन्दै म जान्ने भएर किन अगाडि बढ्नु ?’ किशुनजीले भन्नुभएकै कारण रवीन्द्रले त्यस किसिमको कुरा गर्ने गरेको भए पनि यसबाट फाइदा रवीन्द्रलाललाई र घाटाचाहिँ काङ्ग्रेस पार्टीलाई भइरहेको छ । रवीन्द्र त ‘पद पनि भेटियो नगद पनि बचाइयो’ भन्ने अवस्थामा छन् ।

किशुनजीले पार्टी कार्यालय भवन बनाउने कार्य रोक्ने काम गर्नुभएको होला भन्ने विश्वास गर्न कोही तत्पर छैनन्, तर कार्यालय भवन बनाउन बल्खुमा खरिद गरिएको सवा करोडभन्दा बढी मूल्यको जमिन पार्टीको नाममा नामसारी गर्न कृष्णप्रसाद भट्टराई अझै आनाकानी गर्दै हुनुहुन्छ भने महाधिवेशन सम्पन्न भएको २ वर्ष बित्न लाग्दा पनि पार्टीको एक करोडभन्दा बढी रकम भट्टराईले पार्टीको नाममा हस्तान्तरण गर्नुभएको छैन, आफ्नै नाममा राख्नुभएको छ, तैपनि भट्टराईले जमिन र नगद झ्वाम पार्न लाग्नुभयो भनी कसैले भनेका छैनन् र भट्टराई त्यस्तो चिजमा लोभ गर्ने मानिस पनि हुनुहुन्न, तर उहाँले जमिन र नगद पार्टीलाई हस्तान्तरण नगर्नाले पार्टीको घरजम गर्ने कुरामा व्यवधान पैदा भएकोतर्फ भने सम्पूर्ण काङ्ग्रेस समर्थक एवम् शुभेच्छुकहरू चिन्तित बनेका छन् ।
भट्टराईले कुनै कारणवश पार्टीको नगद र जमिन हस्तान्तरण गर्ने आवश्यकता महसुस नगर्नुभएको भए पनि कम्तीमा त्यो सांसद बनाइएका रवीन्द्रलालले चाहिँ आफ्नो कबुल पूरा गर्नुपर्ने हो, त्यो पनि गरिरहेका छैनन् । उल्टै पार्टी कार्यालय निर्माण गर्ने वा खरिद गर्ने नाममा पनि पार्टीलाई नै ठगी गर्न खोजेको दृष्टान्तसमेत भेटिएको छ । यस सम्बन्धमा पाठकहरूलाई उचित समयमा जानकारी गराउनेछौँ ।

(घटना र विचार साप्ताहिक, २०५४ फागुन १३ गते बुधबार)