१० करोडको लोभमा फस्दै मुलुकका सांसद

१० करोडको लोभमा फस्दै मुलुकका सांसद


छविलाल बगाले
कानून बनाउने जिम्मेवारीमा रहेका सांसद जनताको विकास आकांक्षा पूरा गर्न आफूहरुलाई बजेट दिनुपर्ने भन्दै सरकारलाई दबाब दिइरहेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत यसअघि दिइएको तीन करोड बढाएर दस करोड पुऱ्याउनु पर्ने उनीहरुको माग छ । तर, नागरिकस्तरबाट चर्को विरोध भएपछि सरकारले भने कार्यक्रम नै खारेज गर्ने संकेत दिएको छ । जसप्रति सांसदहरु असन्तुष्ट छन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत यसअघि निर्वाचित सांसदलाई दिइएको बार्षिक ३ करोड रुपैयाँ तत्कालिन जिल्ला विकास समितिमार्फत खर्च हुन्थ्यो । तर, कार्यकर्ता रिझाउन साना–साना योजनामा छरिने त्यो बजेट उपलब्धीमूलक नभएको गुनासो आइरहेको थियो । कानून बनाउने जिम्मेवारीमा रहेका सांसदले पैसा बाँड्ने प्रचलनको अन्त्यमा नागरिकले निरन्तर जोड दिँदै आएका छन् । तर, सांसदमा ठेकेदार बन्ने प्रबृत्ति मौलाउँदा उनीहरु यसअघिको तीनबाट बढाएर दस करोड पुऱ्याउनु पर्ने पक्षमा छन् । पूर्व बजेट छलफलका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले भने पूराना कुरा नकोट्याउन आग्रहका साथ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्ने संकेत गरेका छन् ।

आफू अनुकूलका योजनामा खर्च गर्न पाइने बजेट काटिने हो कि भन्ने चिन्ताले पिरोल्दा सांसदहरुले अघोषित दबाब समूह नै बनाएका छन् । जसको नेतृत्व सरकार नेतृत्व एमालेका सांसद विशाल भट्टराईले गरिरहेका छन् । प्रायः हरेक विषयमा सत्तारुढसँग दूरी राख्ने विपक्षी दलका सांसद यो विषयमा भने एकै ठाउँमा छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरिए सांसद र जनताबीचको सम्बन्ध बिग्रने उनीहरुको हास्यास्पद तर्क छ ।

सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विकल्पमा प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एउटा ठूला आयोजनाका लागि बजेट छुट्याउने तयारी गरेको छ । जसको अनुगमनको जिम्मा सम्बन्धित क्षेत्रकै सांसदलाई दिने तयारीमा समेत सांसदहरु सन्तुष्ट छैनन् । यसले सांसदहरु निर्वाचन क्षेत्रको समग्र विकासभन्दा आफूखुसी खर्चको पक्षमा छन् भन्ने स्पष्ट हुन्छ । सांसदहरुको दस करोडको माग पूरा गराउँदा राज्यकोषमा बार्षिक १ खर्ब ६५ अर्वको व्ययभार थपिन्छ । तर, यति धेरै खर्चको प्रतिफल भने निश्चित हुँदैन ।