अर्को छुट्टै पृथ्वी देऊ

अर्को छुट्टै पृथ्वी देऊ


– रामेश्वर राउत मातृदास


लत्रिएका उत्सवलाई उठाएर सारा
अर्को छुट्टै पृथ्वी देऊ विश्व जीवन धारा
मेरो पुकार युगको घामलाई
सन्देश पुगोस् सर्वेश्वर रामलाई ।।१।।

आउने हरेक बिघ्नसँग नमानेर पिर
उठेका छन् हिमालचुली सौन्दर्यको शिर
मनको रोधी सुनाइदेऊ राधालाई
कृष्ण सखे जीवनका प्यारालाई ।।२।।

अङ्गअङ्ग दङ्ग पार्दै नदी बग्छन् कुलो
धरती–आकाश भन्दा यहाँ हुन्नन् कोही ठूलो
के भेल आयो दम्भ र घमण्ड
पल–पाइलामा उद्दण्डै–उद्दण्ड ।।३।।

कुन जुनीको पाप हो यो कु जन्मको श्राप
आज संसार तड्पँदो छ बोकी तापैताप
खेलोफड्को शकुनी विषले
सत्य–धर्म डस्तो छ रिसले ।।४।।

सम्हालेर आँधीलाई अनिकालको ढिकी
कहाँ लुकाई राखेकाछौ देखाऊ निष्ठा झिकी
शिर–पाउ खरानी घसेर
को नाच्तै छ अस्तित्व डसेर ?

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती