मोदी झुके कि ओली ?

मोदी झुके कि ओली ?


– बबिता बस्नेत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेश ४ का हाम्रा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जसरी शिर झुकाएर अभिभादन गरे त्यसैगरी नेपालका प्रधानमन्त्रीले भारतको कुनै राज्यका मुख्यमन्त्रीसामु शिर झुकाएका भए कसरी अर्थ लगाइन्थ्यो होला ? हामीले के–के मात्रै लेख्थ्यौँ होला ? हाम्रा सामाजिक सञ्जालहरूमा त्यसप्रकारका तस्बिरहरू कसरी भाइरल हुने थिए होलान् ? व्यक्तिगत रूपमा ‘पसार, लम्पसारवाद’जस्ता शब्दहरूको प्रयोग मात्र होइन ‘देश बुझाएर आए’ भन्नेसम्मकै टीकाटिप्पणी हुने थियो होला । राष्ट्रियता र राष्ट्रवादलाई लिएर भारतसँग हाम्रो गज्जबको सम्बन्ध छ । राष्ट्रवादी हुनलाई हामीकहाँ आफ्नो देशलाई माया गरिरहनुपर्दैन, भारतलाई गाली गरे पुग्छ । यो नयाँ ट्रेन्ड भने होइन ।

मुलुकमा प्रजातन्त्र र गणतन्त्र आएपछि कतिपय पुराना मूल्य–मान्यताहरू मेटिए, तर राष्ट्रवादी देखिनका निम्ति भारतलाई गाली गर्ने पञ्चायतकालदेखिको चलनले भने अहिलेसम्म निरन्तरता पाइरहेको छ । राष्ट्रवाद मुलुकका प्रति व्यक्तिको आफूभित्र पैदा हुने भावना हो । राष्ट्रवाद राजनीतिभन्दा माथिको कुरा हो । राष्ट्रवादी सोचको अर्थ मुलुकलाई सर्वोपरी राखेर तय गरिने दृष्टिकोण हो । राष्ट्रवादी हुनका लागि हामी आफैँभित्रका विभेदलाई मेटे पुग्छ । जाति, भाषा, धर्म, समुदायप्रतिको दृष्टिकोणमा मुलुकसँगको सम्बन्धलाई गहिरिएर बुझ्नु–बुझाउनु, सम्मानित बनाउनु, आत्मसम्मानको रक्षा गर्नु सबै राष्ट्रवाद हो । मेरो देश अन्तर्राष्ट्रिय समुदायमा विभेदमुक्त मुलुक भनेर चिनियोस् भनेर कसैले त्यसका लागि समय र ज्ञानको लगानी गर्छ भने त्यो राष्ट्रवादी सोच हो । मेरो देशमा पानी खान नपाएर मानिस तथा कुनै पनि प्राणीको मृत्यु नहोस् भनेर वन–जङ्गलको संरक्षण गर्नु पनि राष्ट्रवादी हुनु हो । जनता, भूगोल (सीमा) संविधान या नीति–कानुन भएपछि देश बन्छ । यी सबै कुरासँग सम्बन्धित कामलाई राष्ट्रको हितमा भावनात्मक र व्यावहारिक रूपमा जोड्नु राष्ट्रवाद हो ।

राष्ट्रियता र राष्ट्रवादलाई लिएर भारतसँग हाम्रो गज्जबको सम्बन्ध छ । राष्ट्रवादी हुनलाई हामीकहाँ आफ्नो देशलाई माया गरिरहनुपर्दैन, भारतलाई गाली गरे पुग्छ ।

भारत र चीन हाम्रा नजिकका छिमेकी मुलुक हुन् । सबै सार्क राष्ट्रहरूसँग हाम्रो निकट सम्बन्ध छ । युरोप, अमेरिका या भनौँ विश्वभरिका देशसँग समान सम्बन्ध कायम गर्नु छ । देशको नागरिक हुनुको अर्थमा हामी सबैका नागरिक–कर्तव्य छन् । मुलुकलाई फाइदा या घाटा हुने के काम भयो भन्दा पनि हामी कसको शारीरिक हाउभाउ कस्तो थियो, कसले के लायो, कसरी उभियो, कसरी हिँड्योजस्ता कुरामा बढी केन्द्रित हुने गरेका छौँ । हाम्रा छिमेकी मुलुकका प्रतिनिधि र हाम्रो देशका प्रतिनिधिहरूका भ्रमणको बेला हुने गरेका टीका–टिप्पणीहरू हेर्दा भन्न सकिन्छ कि हामी सम्बन्धित विषयको गहिराइमा पुग्नुभन्दा सतहमा बढी रमाउने गर्छौँ ।

हाम्रा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भारतीयहरूले राष्ट्रको स्वार्थमा के–कस्ता कुरा भए भनेर हेरे, हामीले प्रधानमन्त्री केपी ओलीले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाउँदा कत्तिको झुके, झुके कि झुकेनन् भनेर हेऱ्यौं । सोहीअनुरूप सामाजिक सञ्जालमा हाम्रा दृष्टिकोणहरू पोखिए । नरेन्द्र मोदीले राजकीय भ्रमणमा आएका पाहुनाको अगाडि अलिकति निहुरिएर प्रस्तुत गरेको संस्कारलाई हामीले झुकेको अर्थ लगायौँ र झुकाउन सकेकोमा गर्व गर्दै सामाजिक सञ्जालमा स्टाटस ठोक्यौँ ।

भर्खरै सम्पन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भ्रमणका क्रममा हामीले सामाजिक सञ्जालमा गरेका टीका–टिप्पणीहरू हेर्दा आफैँलाई अप्ठ्यारो लाग्ने प्रकारका छन् । उदाहरणका लागि नेपाल आउनुअघि उहाँले आफू नेपाल आउन लागेको, प्रधानमन्त्री केपी ओलीसँग विस्तृत छलफल हुने र नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास लिएको उल्लेख गर्दै लगातार तीनवटा ट्विट गर्नुभयो । ती ट्विटमा गरिएका कतिपय प्रतिक्रियाहरू पढ्न निकै दह्रो मन चाहिन्छ । सम्बन्ध बिग्रिएको छिमेकीले ‘अब हामी मिलौँ’ भन्दा ‘तँ यस्तो उस्तो’ भनेर सत्तोसराप गर्नु ठीक कि ‘भइहाल्यो मिलौँ’ भन्छ भने ‘मिलौँ न त’ भनेर अघिसर्नु राम्रो ? व्यक्तिको आ–आफ्नो सोचमा भरपर्ने कुरा हो ।

नेपालमा नाकाबन्दी लाउनुमा मोदीकै हात थियो कि मोदीलाई भारतमा असफल बनाउनेहरूको हात थियो भनेर बुझ्न नसक्दा यसप्रकारका प्रतिक्रिया आउनु स्वाभाविकै पनि हो । नेतृत्वमा रहेका हुँदा मोदीले त्यसको जिम्मेवारी लिनुपर्छ । तर, अचम्म त के छ भने अहिले अरू त अरू हिजो भारतको आँखाले विश्वले नेपाललाई हेर्नुपर्छ भन्ने कुरामा सहमति जनाउनेहरू मोदीविरोधी भएका छन् । हिजो भारतले जे गऱ्यो त्यही सही भन्नेहरू आज एकाएक मोदीविरोधी किन भए होलान् ? नाकाबन्दीका बेला विरोध नगर्नेहरू पनि अहिले किन विरोध गरिरहेका होलान् ? यो प्रश्नको जवाफ खोज्न थालियो भने साँच्चिकै राष्ट्रवादी नेपालीले सुन्न नचाहेका धेरै कुरा अगाडि आउन सक्छन् ।

हाम्रा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भारतीयहरूले राष्ट्रको स्वार्थमा के–कस्ता कुरा भए भनेर हेरे, हामीले प्रधानमन्त्री केपी ओलीले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाउँदा कत्तिको झुके, झुके कि झुकेनन् भनेर हेऱ्यौं ।

भ्रमणका बेला मोदीले नेपाली भाषामा बोल्दा हामी दङ्ग पऱ्यौं । यदि ओलीले भारतमा गएर हिन्दीमा बोलेका भए के हुन्थ्यो होला ? राष्ट्रियता धरापमा पऱ्यो भन्दै के–के मात्रै भन्ने थियौँ होला । कहीँ गएर कसैको पोसाक लगाइदिँदैमा या कसैको भाषा बोलिदिँदैमा कुनै पनि मुलुकको राष्ट्रियता धरापमा पर्दैन । कसैले केही सोचेको होस् कि नहोस् ‘ए…यिनीहरूले हामीलाई हेप्ने !’ भन्ने एकप्रकारको ‘कम्प्लेक्सिटी’ बोकेका कारण हामी आफैँलाई हीनताबोध भएको हो । जुन हामीजस्तो सधैँ स्वतन्त्र मुलुकका नागरिकले गर्नै पर्दैन । कोलोनियल मुलुकका नागरिकहरूमा ‘हामी कुनै बेला अधीनस्थ थियौँ, कसैले हामीलाई हेपेर हाम्रो देशमा रजाइँ गरेको थियो’ भन्ने हीनताबोध रहन्छ । तर, हामी त विश्वमा जम्मा १५ वटा देश मात्र स्वतन्त्र रहेका बेला पनि स्वतन्त्रै रहेको मुलुकका नागरिक हौँ ।

यस्तो ऐतिहासिक स्वतन्त्र मुलुकका सार्वभौम नागरिकले प्रधानमन्त्री या राष्ट्रपतिले निहुरिएर अभिवादन गरेको कुरालाई ‘ए…यो किन निहुरियो… हाम्रो स्वाभिमान कहाँ गयो… खत्तम भयो… हामी बर्बाद भयौँ’ भनेर सोच्नै पर्दैन । मोदी झुके कि ओली झुके भन्ने कुरा को बढी संस्कारयुक्त भन्ने अर्थमा चर्चामा आउनुपर्ने हो न कि कसको शिर तल र कसको माथि पऱ्यो भन्ने अर्थमा । देश र जनतामाथि खेलबाड गर्नेले ठाडो शिरमै पनि गरेकै छन् । नगर्नेले भुइँ छुने गरी झुके पनि कुनै हालतमा मुलुकलाई धोखा दिन सक्दैनन् । काजी लेण्डुप दोर्जेले इन्दिरा गान्धीसँग भेट्दाको तस्बिर हेर्ने हो भने उनी कहीँ कतै झुकेको देखिँदैन, तर देशै बुझाए । राष्ट्रियताको जगेर्ना ‘बडिल्याङ्ग्वेज’ले होइन देशप्रतिको प्रतिबद्धताले गर्ने हो ।