‘संघीय संरचनाअनुकूलको सन्तुलित बजेट आउँछ’ :अर्थमन्त्री

‘संघीय संरचनाअनुकूलको सन्तुलित बजेट आउँछ’ :अर्थमन्त्री


अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने उद्घोष गरेका छन् ।

आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले अबको प्राथमिकता संविधानको मर्मअनुसार समावेशी र समृद्ध नेपाल भएकाले क्षेत्रगत कार्यक्रमलाई धेरै जोड नदिइने स्पष्ट पारे । उनले मौलिक हक र राज्यका निर्देशक सिद्धान्तबारे संविधानले भनेको बाटामा बजेट आउने भएकाले समृद्धिको अभियानमा सहयोगी बन्न सत्तापक्ष र प्रतिपक्षका सांसदलाई आग्रह गरे ।

उनले विधिअनुसार बजेट र कार्यक्रममा सांसद र सम्बद्ध सबैको सहभागिता गराउन आफू तत्पर रहेको स्पष्ट गर्दै भने, ‘संघीय संरचनाअनुकूलको सन्तुलित बजेट आउनेमा म ढुक्क हुन आग्रह गर्छु, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रलाई संयोजन गरेर जाने सरकारको तयारी छ । हामी मुलुकमा लगानीका लागि उत्तम वातावरण सिर्जना गर्न सचेता छौँ ।’